२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

डेंगु न्युनिकरणका लागि काठमाडौं महानगरकाे जनचेतना अभियान

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर २१ ले मंगलबार डेंगु न्युनिकरणका लागि जनचेतना र्यालीको आयोजना गरेको छ। 

महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, संघीय सांसद् कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद् डा. अजयक्रान्ति शाक्य लगायतको अगुवाईमा सो वडाले डेंगु न्युनिकरणका लागि जनचेतना र्यालीको आयोजना गरेको हो। ‘टोल–टोलबाट उठौँ, गल्ली–गल्लीबाट उठौं, डेंगुविरुद्ध सर–सफाईमा जुटौँ, सबै मिलेर लडौँ’, ‘धनी गरिब केही भन्दैन डेंगु हो डेंगु’ लगायतका प्लेकार्ड बोकेर लगनटोलबाट सुरु भएको र्यालीले भोटेवहाल, सुन्धारा, जैसीदेवल लगायतका स्थानको परिक्रमा गरेको थियो। 

र्यालीपछि संक्षिप्त कुराकानी गर्दै मेयर शाक्यले डेंगु न्युनिकरणका लागि यस्ता जनचेतनामुलक अभियान ३२ वटै वडामा सञ्चालन गर्ने जानकारी दिए। ‘डेंगु अहिले भयावह बन्दै गएको अवस्थामा महानगरपालिकाले न्युनिकरणकालागिपहलथालेको छ’, मेयर शाक्यले भने, ‘यस्तो जनचेतानामुलक काम यो वडामा मात्रै सिमित हुनुहुँदैन महानगरभित्रका ३२ वटै वडामा हामीले न्युनिकरणको प्रयास थालेका छौँ।’ 

उनले अहिले यसलाई कसरी रोकथाम गर्ने भन्ने विधि नै नभएकाले न्युनिकरणको प्रयासमा महानगरपालिका लागेको पनि बताए। ‘डेंगुबाट बच्ने उपायकाबारेमा महानगरवासीलाई जानकारी दिनका लागि पनि यो अभियान चलाएका हौँ’, उनले भने, ‘केन्द्र र प्रदेश सरकारसँग पनि छलफल गरेर हामी अझ प्रभावकारी ढंगले अघि बढ्छौँ।’

२१ वडाका वडाध्यक्ष उदय चुडामणि बज्राचार्यले पनि यो अभियानलाई प्रभावकारी रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।  ‘वडानम्बर २१ सफाई मजदुरको बसोबास भएको क्षेत्र पनि हो’, उनले भने, ‘त्यसैले अन्य क्षेत्रमा भन्दा यो क्षेत्रमा बढी जनचेतनामुलुक अभियान चलाउनु पर्ने भएकाले हामीले यो अभियान चलाएका हौं।’ 

उनले अब घर–घरमा वडा स्वास्थ्य स्वयसेवीलाई जनचेतना अभियानसहित पठाउने पनि जानकारी दिए।

प्रकाशित: २४ भाद्र २०७६ १३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App