ताप्लेजुङ - संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले जन्मदिनको अवसरमा गृह जिल्ला ताप्लेजुङको दुर्गम गाउँका दृष्टीविहिन दम्पतिका एक सन्तानलाई पठपाठनका लागि २० हजार रुपैंया सहयोग गरेका छन्।
फक्ताङ्लुङ गाउँपालिकाका दृष्टीविहिन कुबिर राई र दिलकुमारी लिम्बूका ४ वर्षिय छोरा समिरको पढाइका लागि उनले नगद २० हजार सहयोग गरेका हुन्। मन्त्री भट्टराईका प्रमुख स्वकीय सचिव प्रेम गुरागाँईका अनुसार भट्टराईले यो रकम फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ र ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवालाई हस्तान्तरण गरेका हुन्।
एभेङ र साँवामार्फत यो रकम समिर र उनका अभिभावकसम्म आइपुग्ने मन्त्री भट्टराईका प्रमुख स्वकीय सचिव गुरागाँईले जानकारी दिए। शुक्रबार ताप्लेजुङ सरोकार केन्द्र काठमाण्डौको १४ औं स्थापना दिवसको अवसरमा मन्त्री भट्टराईले समिरको पठनपाठनमा सहयोग गर्नेगरी यो रकम एभेङ र साँवालाई हस्तान्तरण गरेका थिए। सरोकार केन्द्रका संस्थापक महासचिव रहेका मन्त्री भट्टराईलाई केन्द्रको १४ औं स्थापना दिवसको अवसर पारेर शुक्रबार अभिनन्दन गर्ने कार्यक्रम थियो।
आफैंपनि न्यून दृष्टीको समस्या खेपीरहेका समिर अहिले सदरमुकाम फुङ्लिङस्थित नवज्योति आवासीय माविमा अध्ययन गरिरहेका छन्। मन्त्री भट्टराईको जन्म २०२३ साल भदौ २१ गते ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ साँघुमा भएको हो।
प्रकाशित: २१ भाद्र २०७६ ०३:१५ शनिबार