८ वैशाख २०८१ शनिबार
समाज

यातायातमा बिचौलियाको बिगबिगी

वीरगन्जस्थित यातायात व्यवस्था कार्यालयको सरकारी अभिलेखमा विवरण लेख्दै गैरकर्मचारी। तस्बिर: रितेश/नागरिक

वीरगन्ज - वीरगन्जस्थित यातायात व्यवस्था कार्यालय बिचौलियाको अखाडा भएको छ। सेवाग्राही आफैं जाँदा कर्मचारीले काम अलमल्याउने तर बिचौलियामार्फत आए सहज सेवा पाउने वातावरण बनाएका छन्। सेवाग्राहीको यस्तो आरोप रहिरहेका बेला बिचौलिया भएको आरोपमा बुधबार यातायात व्यवस्था कार्यालय परिसरबाट तीनजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा विनयकुमार गुप्ता, शिवशम्भु यादव र श्यामसुन्दर साह छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिचौलिया भएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।

सेवाग्राहीका अनुसार यहाँ रहेको ठूलो सञ्जालका अगाडि प्रहरीले तीनजनालाई नियन्त्रणमा लिनुको खासै अर्थ छैन। बिचौलियाले लिने अतिरिक्त पैसाबाट यातायात कार्यालयका प्रत्येक फाँटका लागि निश्चित रकम छुट्याइएको हुन्छ। कार्यालयका अभिलेखमा त्यहाँको कर्मचारीको होइन, बिचौलियाकै हातले लेखिएको सरकारी अभिलेख दैनिक तयार हुन्छ। कार्यालयको अभिलेख किताबमा विवरण लेख्ने काम कर्मचारीबाट यदाकदा मात्र हुने गर्छ।

गैरकर्मचारीबाट लिखित ती अभिलेखहरू सो कार्यालय बिचौलियाको चँगुलमा रहेको कुराको बलियो प्रमाण हो। सेवाग्राहीका अनुसार अतिरिक्त आर्थिक उपार्जजनको लोभमा कार्यालयलाई बिचौलियाको अखाडा बनाइएको छ। यस कार्यालयले पर्सा, बारा र रौतहटसम्मको यातायात व्यवस्थासम्बन्धी काम हेर्ने गरेको छ। साबिकको कार्यक्षेत्र चितवनदेखि रौतहटसम्म पाँच जिल्लाका पुराना सवारीका सेहरू पनि यहाँ आउने गरेका छन्।

‘ऐजेन्ट’ भनिने बिचौलियाको हातबाट गएको फाइल कर्मचारीले सजिलै अगाडि बढाउछन्। सेवाग्राहीले लैजाँदा सुनुवाइ नै हुँदैन। कुनै पनि टेबुलमा वा कुनै कर्मचारीको हातमा पैसाको अतिरिक्त लेनदेन भने हुँदैन। सुरुमै ‘यति रुपैयाँ खर्च लाग्छ,’ भन्दै बिचौलियाले सेवाग्राहीसँग एकमुष्ठ रकम तय गर्छन्। कार्यालय परिसरमा र बाहिर दर्जनौं बिचौलिया छन्।

उनीहरू कार्यालयबाट मान्यताप्राप्त वा अन्य कुनै निकायबाट इजाजतप्राप्त अभिकर्ता भने होइनन्। यातायात व्यवस्था कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख विपिनलाल कर्णले आफूहरूले ‘एजेन्ट’ नराखेको दाबी गरे। यसअघि पनि प्रहरीले छापा मार्दै बिचौलिया समात्ने काम गरेको छ। स्थानीयका अनुसार त्यसरी छापामारी गरेको केही हप्तापछि कार्यालय परिसरमा बिचौलियाको चहलपहल पूर्ववत् हुन्छ।

प्रकाशित: १९ असार २०७६ ०१:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App