२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

प्रदेश एकमा ३१ प्रजातिका गुराँस

तिनजुरे–मिल्के–जलजले क्षेत्रमा फुलेको विभिन्न थरीका गुराँस ।तस्बिर: गिरिराज/नागरिक

पाँचथर - प्रदेश नम्बर १ का पहाडी जिल्लामा ३१ प्रजातिका गुराँस पाइएका छन्। पाँचजना विज्ञले अनुसन्धान गर्दा यो तथ्य पत्ता लागेको हो। देख्दा आकर्षक र औषधीय महत्व राख्ने गुराँसको चर्चा साहित्यमा पनि विभिन्न विम्बका रुपमा गरिएको छ। धार्मिक कार्यसँगै पाहुनाको स्वागतमा पनि गुराँस फूल प्रयोग हुन्छ। चैत–वैशाखमा फुल्ने गुराँस अहिले माघमै ढकमक्क हुन थालेको देखिन्छ। प्रदेश नम्बर १ का ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, पाँचथर, इलामलगायत जिल्ला गुराँसका लागि प्रख्यात पाइन्छ।

नेपालमा पाइने ३३ प्रजातिका गुराँसमध्ये ३१ थरीका १ नम्बर प्रदेशमा पाइएको अनुसन्धानकर्तामध्येका डा. यादव उप्रेतीले जानकारी दिए। ‘स्थलगत भ्रमण, हालसम्म प्रकाशित गुराँससम्बन्धी कृतिको पुनरवलोकन, अध्ययन, अनुसन्धानले यस्तो देखाएको छ। १ नम्बर प्रदेशका पहाडी जिल्लाहरु नेपालमै धेरै प्रजातिका गुराँस पाइने क्षेत्रका रुपमा रहेका छन्’ उप्रेतीले भने, ‘आगामी दिनमा हुन सक्ने अनुसन्धानले थप तथ्य बाहिर आउन सक्छ।’ १ नम्बर प्रदेशमा पाइने गुराँसको अनुसन्धानमा आधारित भएर ‘कञ्चनजंघा क्षेत्र र आसपासका गुराँसहरु’ नामक पुस्तक हालै प्रकाशित भएको छ। डा. उप्रेती, डा. रामचन्द्र पौडेल, हेमराज आचार्य, योगेश ढकाल र राजन केसीले गुराँसबारे अनुसन्धान गरेका थिए। वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र कञ्चजंघा सरक्षण क्षेत्र कार्यालयमार्फत उक्त अध्ययन भएको हो।

वन फँडानी, अतिक्रमण, सडकलगायत भौतिक संरचना निर्माण, डढेलो, वनपैदावरको अत्यधिक दोहोन, खुला चरिचरन गुराँस संरक्षणमा चुनौती

‘केही गुराँस अन्य समयमा पनि फुल्छन्। समान्यतः चैत–वैशाखमा फुल्ने गुराँस अहिले माघतिर नै फुल्न थालेको पाइएको छ। यस विषयमा अध्ययन हुन बाँकी छ’, उप्रेतीले भने, ‘गुराँसलाई यो प्रदेशको पहिचानका रुपमा समेत लिन सकिन्छ।’ पाँचजनाले गरेको अनुसन्धान सागरकुमार रिमाल, डा. केशवराज राजभण्डारी, कमल मादेन, विष्णुप्रसाद श्रेष्ठले पुनरवलोकन गरेका छन्।

अध्ययनले प्रदेश १ का पहाडी जिल्लामा लालीगुराँस (रोडोडेन्ड्रोन अर्बोरियुम), सुनपाति (रोडोडेन्ड्रोन एन्थोपोगोन), रातो चिमाल (रोडोडेन्ड्रोन बारबाटुम), चिया फूले गुराँस (रोडोडेन्ड्रोन क्यामेलिफ्लोरुम), निलो चिमाल (रोडोडेन्ड्रोन क्याम्पानुल्याटुम), पहेंलो चिमाल (रोडोडेन्ड्रोन क्याम्पाइलोकार्पुम), जँुगे चिमाल (रोडोडेन्ड्रोन सिलियाटुम), सानो चिमाल (रोडोडेन्ड्रोन सिनावारिनुम), लहरे चिमाल (रोडोडेन्ड्रोन डालहाउसिए), कोर्लिङ (रोडोडेन्ड्रोन फाल्कोनेरी), चिमाल (रोडोडेन्ड्रोन फाल्कोनेरी), ठेकी झार (रोडोडेन्ड्रोन ग्लाउकोफाइलुम), पात्ले कोर्लिङ (रोडोडेन्ड्रोन ग्रान्डे), सेतो चिमाल (रोडोडेन्ड्रोन ग्रिफिथियानुम), गुलाबी कोर्लिङ (रोडोडेन्ड्रोन होग्सोनी) जस्ता प्रजाति पाइएको देखाएको छ। यस्तै, हुकरको गुराँस (रोडोडेन्ड्रोन हुकरी), पहेंलो सुनपाति (रोडोडेन्ड्रोन हाइपेन्थियुम), भुत्ले गुराँस (रोडोडेन्ड्रोन लानाटम), भाले सुनपाति (रोडोडेन्ड्रोन लेपिडाटुम), सानो लहरे चिमाल (रोडोडेन्ड्रोन लिन्डलेइ), हिउँ गराँस (रोडोडेन्ड्रोन निभाले), झन्डिने चिमाल (रोडोडेन्ड्रोन), पुड्के गुराँस (रोडोडेन्ड्रोन पुमिलुम), बुलु, शाल्लु गुराँस (रोडोडेन्ड्रोन सेटोसुम), थाम्सनको गुराँस (रोडोडेन्ड्रोन थोम्सोनी), रोडोडेन्ड्रोन ट्राइकोक्लाडुम, पहेलो गुराँस (रोडोडेन्ड्रोन ट्राइफ्लोरुम), खियाउने पाते गुराँस (रोडोडेन्ड्रोन भ्याक्सिनी ओइड्स), हाँगिने गुराँस (रोडोडेन्ड्रोन भिरग्याटुम), बालिकको गुराँस (रोडोडेन्ड्रोन बालिची), वाइटको गुराँस (रोडोडेन्ड्रोन बिइटी) प्रजातिका गुराँस यस क्षेत्रमा छन्। यस क्षेत्रमा रोडोडेन्ड्रोन लोओनडेसी र रोडोडेन्ड्रोन कोवानिआनुम प्रजातिका गुराँस भने पाइँदैन। तर यी दुई प्रजातिका गुराँस नेपालको अन्य क्षेत्रमा पाइन्छन्।

गुराँससम्बन्धी ग्रन्थहरुको पुनरवलोकन, स्थलगत भ्रमण, नमुना संकलन, स्थानीय सरोकारवालासँग छलफल, तथ्यांक विश्लेषण गर्दा प्रदेश १ का पहाडी जिल्लामा ३१ प्रजातिका गुराँस पत्ता लागेको जानकारी उप्रेतीले दिए। १० सेन्टिमिटरका बुट्यानदेखि १५ देखि १८ मिटर अग्लासम्म गुराँसका रुख भेटिएको हालै प्रकाशित ‘कञ्चनजंघा क्षेत्र र आसपासका गुराँसहरु’ नामक पुस्तकमा उल्लेख छ। गुराँस १ हजार २ सयदेखि ५ हजार ५ सय मिटर उचाइसम्म पाइन्छ। कञ्चजंघा सरक्षण क्षेत्रको पाथीभरा मन्दिर क्षेत्र, ग्याब्ला, फले, घुन्सा, ओलाङचुङगोला, रामजेर, चेराम, सेलेले, खाम्बाचेन, फलेमा धेरै प्रजातिका गुराँस पाइन्छन्। यस्तै तीनजुरे–मिल्के–जलजले क्षेत्र गुराँसका लागि चर्चित छ। यो क्षेत्र गुराँसको राजनधानी नामले समेत प्रख्यात छ। यस्तै पाँचथरका पौवाभन्याङ, जोरपोखरी, च्याङथापु, इलामका माइपोखरी, माईमझुवा क्षेत्रमा पनि गुराँस पाइन्छ। अध्ययनअनुसार इलाम र पाँचथर सीमा क्षेत्रमा गुराँसका मिश्रित वन देख्न सकिन्छ। यस्तै बरुण राष्ट्रिय निकुञ्जमा पनि थरीथरीका गुराँस पाइन्छन्।

अनुसन्धानपछि प्रकाशित उक्त पुस्तकमा गुराँसका प्रजाति, पाइने स्थान, उचाइ, वनस्पति वर्ग, फूलको विवरण, फुल्ने समय, पातको विवरण र उपयोगितालगायत विषय समेटिएको छ। पर्या–पर्यटन विकासमा गुराँस फूलको महŒव अधिक छ। गुराँस हेर्न पर्यटक पनि लोभिने भएकाले यसको रक्षा, संरक्षण र विस्तार गर्न सके मनग्गे आर्थिक लाभ लिन सकिन्छ। पुस्तकमा गुराँस संरक्षणका चुनौती पनि देखाइएको छ। वनक्षेत्रमा जथाभाबी सडकलगायत भौतिक संरचना निर्माण, वन फँडानी, डढेलो, वनपैदावरको अत्यधिक दोहोन, खुला चरिचरन संरक्षणमा चुनौती बनेको पुस्तकमा उल्लेख छ।

प्रकाशित: २० फाल्गुन २०७५ ०१:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App