२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

आफन्तबाटै सुरक्षित छैनन् महिला, ६ देखि ८८ वर्षीयासम्म बलात्कृत

गुल्मी – मालिका गाउँपालिका ७ का ७० वर्षीयले १३ वर्षीया नातिनीलाई २६ पुसमा बलात्कार गरी फरार भए। आरोपितले बालिकालाई धम्की दिँदै पटक–पटक बलात्कार गर्दै आएका प्रहरीले खुलायो। 

बालिकाले बुवालाई घटनाबारे बताएपछि बल्ल प्रहरीकोमा १३ माघमा उजुरी प-यो। बलात्कारपछि भागेर भारतको आसाममा बस्दै आएका उनलाई आफन्तकै सुराकीपछि घर फर्कंदै गर्दा प्रहरीले २४ माघमा तम्घासबाट समात्यो।

गुल्मीमा एक वर्षमा ११ महिला तथा बालिका बलात्कृत भए। यो तथ्यांक ०७४ फागुनदेखिको हो। तिनमा ६ बालिका र पाँच महिला छन्। ६ बालिकामध्ये एक जना बाबुबाट, एक जना हजुरबुवा, एक जना दाजु र तीन जना अन्य व्यक्तिबाट बलात्कृत भएक जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। त्यस्तै पाँच महिलामध्ये दुई जना आफन्तबाटै शोषण परे । पाँचमध्ये दुई जना सुस्त मनस्थितिका छन्। 

जिल्लाको पछिल्लो तथ्यांक भन्छ– बालिका, वृद्धा र अपांग बढी मात्रामा बलात्कारको चपेटामा परेका छन्। यो एक वर्षको अवधिमा जिल्लामा ६ वर्षीया नाबालिकादेखि ८८ वर्षीया वृद्धासम्म बलात्कृत भए। 

इस्मा दर्लामचौरका एक युवकबाट गत ०७४ फागुनमा ६ वर्षीया बालिका बलात्कृत भइन्। त्यस्तै मालिका गाउँपालिका ५ छापहिलेकी ८८ वर्षीयालाई गत पुसमा १६ बर्से किशोरले बलात्कार गरे। त्यो सँगै इस्मा गाउँपालिका ५ का ५६ बर्से धनबहादुर चुँदाराले भदौमा असामान्य ३५ वर्षीया युवतीलाई बलात्कार गरे। सोही गाउँपालिकामै एक महिनापछि अर्को अपांगता भएकी महिला बलात्कारको सिकार भइन्।

इस्माक ३ दर्लामचौरका ३६ बर्से देवबहादुर सार्कीलाई गत असोजमा २० वर्षीया अपांगता भएकी युवतीमाथि बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले समात्यो। बलात्कारका घटनामा परिवारबाटै तथा आफन्तहरूबाटै बढी हुने गरेको अवस्था पछिल्लो समय छ।

गुल्मी इश्मा ५ रजस्थलका ३७ बर्सेले १० वर्षीया छोरीलाई २ असोजमा यौन दुव्र्यवहार (अप्राकृतिक मैथुन) गरे। धुर्कोट गाउँपालिका ६ रजस्थलका ३५ वर्षीया एक व्यक्तिले ५२ वर्षीया काकीलाई ९ मंसिरमा बलात्कार गरे। त्यस्तै धुर्कोट गाउँपालिका ५ मा २६ बर्सेले १६ वर्षीया बहिनी बलात्कार गरेका जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी इन्स्पेक्टर रवीन्द्र खड्काले बताए। बलात्कार गर्ने सबै पुर्पक्षका लागि जेल चलान भएका छन्।

बलात्कारका घटनाले सिंगो परिवार र समाज नै असुरिक्षत बन्दै गएको महिला अधिकारकर्मी हीरा कुँवर बताउँछिन्। भन्छिन्, ‘बाबुबाट छोरी र दाजुबाट बहिनी बलात्कृत हुने घटनाले महिला र बालिका आक्रान्त बनेका छन्,’ उनले भनिन्, ‘ अब परिवारमा कसको विश्वास गर्ने ?’

हत्या र बलात्कारमा मदिरा प्रमुख
बलात्कार, हत्या र घरेलु हिंसाको प्रमुख कारण मदिरा बन्ने गरेको छ। अत्यधिक मदिरा सेवनका कारण मदाने गाउँपालिका ७ का दुर्गा नेपाली र मुसिकोट नगरपालिका ४ का पंकज कुमालले पत्नीकोे बीभत्स हत्या गरे। गुल्मीमा बलात्कार र अपराधको प्रमुख कारण मदिरा बनिरहेको छ। आफ्नै छोरी बलात्कार, काकी र नातिनी बलात्कार पनि मदिराकै झोकमा भएको प्रहरीको अनुसन्धानमा खुलेको छ। एक वर्षमा भएका दुई हत्या र ११ बलात्कारका कारण मदिरा नै थियो। 

सेवनपछिको आवेकनै प्रमुख भएको जिल्ला प्रहरी प्रमुख एसपी दिपक कुमार बस्नेतले बताए। मदिराका कारण आफ्नै छोरी बलात्कार गर्नेदेखि पत्नी हत्यासम्मका घटना भएका छन्। ‘धेरै घटनामा अनुसन्धान गर्दा बलात्कार अपराधको कारण मदिरा देखिन्छ,’ बस्नेतले भने, ‘यसको नियन्त्रण र सचेतना आवश्यक छ।’

प्रकाशित: १५ फाल्गुन २०७५ १२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App