२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

९० प्रतिशत काम सकिएको विद्युत् गृहमा मुसा छिरेपछि...

जुम्ला– मर्मतको अन्तिम चरणमा पुगेको साना जलविद्युत् उपभोक्ता समितिको विद्युत् गृहको प्यानल बोर्डमा मुसा छिरेपछि निर्माण रोकिएको छ। प्यानल बोर्डमा मुसाले तार काटेपछि समस्या आएको हो। एक दुई दिनभित्रै मर्मत कार्य सकिएर बिजुली आपूर्ति हुने अवस्थामा थियो। मुुसाले तार काटेपछि मर्मत कार्यमा ढिलाइ भएको साना जलविद्युत् उपभोक्ता समिति अध्यक्ष विष्णुबहादुर बुढ्थापाले जानकारी दिए। 

उनले भने, ‘निरन्तरको ताकेतापछि ठेकेदार जुम्लामै बसेर रफ्तारमा काम गर्दै थिए, मुसाले प्यानल बोर्डमा रहेको तार नै काटिदियो। प्यानल बोर्डको सबै काम सकेर इन्जिनियर आउने बितिकै विद्युत् आपूर्तिको काम हुने तयारीमा थियो।’ 

विद्युत् गृहमा काम गरिरहेका भारतीय फरम्यान केशवप्रसादले भने, ‘रनिङमा आइसकेको भए मुसाका कारण ठूलो क्षति हन्थ्यो। मेसिन पड्किएर मानवीय क्षति पनि हुन सक्थ्यो। तर, जडान नभइसकेकोले तारबार जडानमा मात्रै समय लाग्यो। मर्मतमा ढिलासुस्ती भयो।’ ३ करोड ९ लाख रुपैयाँमा टेन्डर स्वीकृत भएको विद्युत्गृहको एक करोड ३० लाख रुपैयाँ ठेकेदार कम्पनीले लिइसकेको छ। 

जिल्ला समन्वय समिति उपप्रमुख कार्मा बुढाले मर्मत कार्य छिटो सकाउन ठेकेदार कम्पनीलाई ताकेता गरिरहेको बताउँछन्। उनले भने, ‘ठेकेदारले पछिल्लो समयमा रफ्तारमा काम गरिरहेको छ। यो गति रोकिनुभएन। भुक्तानीका लागि कुनै समस्या हुने छैन। मर्मतको काम सकिने बित्तिकै भुक्तानी प्रक्रिया अघि बढ्छ। त्यसमा कुनै शंका गर्नुपर्ने विषय छैन।’ ढुक्क भएर मर्मतको काम गर्न उनले आग्रह गरे। 

प्रकाशित: १४ फाल्गुन २०७५ १०:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App