रौतहट – राष्ट्रिय वनबाट तस्करी गरी सालका काँचो काठ बोलेरो गाडीमा लैजाँदै गरेको अवस्थामा डिभिजन वन कार्यालयको गस्ती टोलीले बरामद गरेको छ। चन्द्रपुर नगरपालिकाको पौराई जंगलबाट तस्करी गरी ल्याइएका काठसहित ना. ३ च ४१२८ नम्बरको बोलेरो पिकअप भ्यान मंगलबार गस्ती टोलीले नियन्त्रणमा लिएको हो।
लच्का नजिकको जंगलका सालका रूख काटेर काठ ल्याएको अवस्थामा बरामद गरिएको रौतहट डिभिजन वन कार्यालयले जनाएको छ। विषेश सूचना पाएपछि डिभिजन वन कार्यालय (चन्द्रपुर)का सहायक वन अधिकृत महेन्द्रप्रसाद जयसवालको नेतृत्वमा खटिएको टोलीले सालका काठसहित गाडी नियन्त्रणमा लिएको हो। टोलीलाई देख्नेबित्तिकै काठ तस्करहरू भने भागेको बताइएको छ। जिपमा चढेर भाग्न थालेपछि सशस्त्र वन रक्षक टोलीले एक राउन्ड गोलीसमेत चलाएको जिल्ला वन कार्यालयका प्रमुख विनोद सिंहले बताए।
सालका सात थान गोलिया लोड गरिएको बोलेरो जिप नियन्त्रणमा लिइएको उनले बताए। चिसो मौसम एवं बाक्लो हुस्सु लागेको भन्दै वन रक्षक टोलीले रात्रि गस्ती गर्न कम गरेपछि काठ तस्करी बढेको हो।
प्रकाशित: ९ माघ २०७५ ०३:२५ बुधबार