९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

बस्तीमै गैंडाको वास

भरतपुर महानगरपालिकाको बाह्रघरे क्षेत्रस्थित बस्तीमा पसेको गैंडा। तस्बिर : नागरिक

चितवन - नारायणी नदीसँग जोडिएको भरतपुर महानगरपालिका क्षेत्रमा सामुदायिक वन छन्। वृक्षरोपण र संरक्षणले वनक्षेत्र मौलाएको छ। यस क्षेत्रमा मझुवा, ज्ञानेश्वर, सेतीदेवी, सिद्धिगणेश र नारायणी सामुदायिक वन छन्। निकुञ्जसँग जोडिएका यी वनक्षेत्र गैंडाको बासस्थान बने अनि वनमा बस्ने गैंडा बस्ती पस्न थाले। बस्ती पसेका गैंडाले अन्नबाली र तरकारी बाली नष्ट गरेर सताउन थालेको दशक नाघिसकेको सामुदायिक वन उपभोक्ता महासंघ चितवनका पूर्वअध्यक्ष सुरवीर पोखरेल बताउँछन्।

सामुदायिक वनका जुनसुकै स्थानबाट पनि गैंडा सजिलै बस्तीमा छिर्थे। रातभरि खेतबारी चहार्ने गैंडा बिहान नहुँदै वन फर्किन्थे। ठूलै परिमाणमा खाद्यान्न बाली नष्ट गर्न थालेपछि गैंडालाई बस्ती छिर्न नदिन विद्युतीय तारबार पनि लगाइयो। ‘निकुञ्जसँग जोडिएका तल्लो भेगका सामुदायिक वनहरु मझुवा, सिद्धिगणेश, सेतीदेवी र ज्ञानेश्वरमा इलेक्ट्रिक फेन्स लगाइएको छ’, पोखरेल भन्छन्, ‘तारमा छोएर झड्का लाग्नेबित्तिकै गैंडा वनतिरै फर्कने गरेका छन्।’

ठूलै परिमाणमा खाद्यान्न बाली नष्ट गर्न थालेपछि गैंडालाई बस्ती छिर्न नदिन विद्युतीय तारबार लगाइयो। तर गैंडा बाठा भएर निस्के, विद्युतीय तारबार लगाइसकेपछि बस्ती छिर्न बाटो परिवर्तन गरे।

गैंडा पनि बाठा भएर निस्के, विद्युतीय तारबार लगाइसकेपछि बस्ती छिर्न बाटो परिवर्तन गरे। पोखरेलका अनुसार केही गैंडा नगर वनमा बस्न थालेका छन्। वनक्षेत्रमा खानेकुरा नपाउँदा गैंडा सहर र गाउँका बस्तीसम्म पुग्ने गरेको उनी बताउँछन्। वनबाट निस्कने गैंडाले महानगरका वडा नम्बर, ३, ४, १५ र १६ का बस्ती डुल्ने गरेका छन्। कहिलेकाहीं ५ नम्बर वडासम्म पनि पुग्छन्। अघिल्ला वर्षहरुमा वनमा घाँस, बुट्यान नहुने हिउँदको समयमा मात्र गैंडा बस्तीमा पस्थे। राति खेतबारीमा पुगेका गैंडा उज्यालो नहुँदै जंगल फर्किसक्थे।

‘यो वर्ष त असार, साउन, भदौलगायत सबै महिनामा गैंडा बस्तीमा निस्किएको छ’, पोखरेलले भने, ‘असोजदेखि त मानव बस्तीलाई नै गैंडाले बासस्थान बनाएको छ।’ राति बारीमा चर्ने र अलिकति बुट्यान भएको क्षेत्र भेट्दा दिउँसो त्यहीं बस्ने गरेको पाइएको उनले बताए। गैंडाले बस्तीमै दिन पनि बिताउन थालेपछि स्थानीय धेरैजना भएर भगाउने र बस्ती छिर्न नदिन कुर्ने गरेका छन्।

वडा नम्बर ३ का अध्यक्ष चन्द्रमित्र पण्डितका अनुसार गैंडा नगर क्षेत्रको ठूलो समस्या बनेको छ। वडा क्षेत्रमा एकैपटक ६/७ वटासम्म गैंडा डुलेको पाइएको उनले बताए। पहिले एकदुई गैंडा निस्कने गरेकोमा पछिल्लो समयमा एकै ठाउँमा चारवटासम्म देखिएको उनले जानकारी दिए। एउटा गैंडाले बस्तीनजिककै झाडीमा बच्चा पनि पायो भन्ने सुनिएको उनले बताए।

‘दिउँसै गैंडा बस्ती हिँडेको छ, बालीनाली ध्वस्त बनाएको छ’, उनले भने, ‘गैंडा साथीजस्ता भइसक्यो, मर्निङ वाक हिँड्ने धेरैले दिनहुँ भेट्ने गरेका छन्।’ सानो नगर वन र ठूलो नगर वनको बीचमा रहेको भंगालोमा बस्ने गैंडा बस्तीमा पस्ने गरेको उनले बताए। गैडा नारायणगढ बजारको व्यस्त क्षेत्र सहिद चोक, पुल्चोकसम्म पनि आएको पाइएको उनले जानकारी दिए।

बेलुकी चार बजेपछि गैंडा बस्तीतिर निस्कने गरेको उनले बताए। ‘प्रत्येक वर्ष आउनेजाने गर्थे’, उनले भने, ‘यसपटक रैथानेजस्तो भएर बसेको देखिन्छ।’ बस्तीमा गैंडा आउने गरे पनि यस वर्ष अहिलेसम्म मानिसलाई आक्रमण गरेको छैन। गैंडासँग जम्काभेट हुँदा ठूला दुर्घटना हुने जोखिम भने उच्च रहेको उनले बताए। गैंडाका कारण मानिस त्रसित र आक्रोशित छन्। पोखरेलले पहिले बस्ती पस्ने र अहिले आउने गरेको गैंडाको बानी, व्यवहार नै परिवर्तन भएको पाइएको बताए। पछिल्लो समय धपाउँदा पनि कसैलाई नटेर्ने र भलादमी पारामा हिँड्ने गरेको उनले सुनाए।

दुर्लभ बन्यजन्तु गैंडा निकुञ्जबाहेकका स्थानमा पनि देखिनु खुसीको कुरा भए पनि बस्तीमा पस्दा जोखिम बढेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल बताउँछन्। ठूलो क्षेत्रबाट नजिकका अर्को बासस्थानमा जाने वन्यजन्तुको संख्यालाई ‘स्याटेलाइट पपुलेसन’ भनिने उनले जानकारी दिए। गैंडाको पनि स्याटेलाइट पपुलेसन निकुञ्जबाहिरका वन क्षेत्रमा गएको उनको भनाइ छ।

नयाँ बासस्थानको खोजीमा गैंडा अन्यन्त्र जान्छन्। बच्चा जन्माउने बेलामा बाघ नभएको छेउतिरको जंगलमा जाने गरेको पाइने ढकालले बताए। निकुञ्जभित्र संख्या बढ्नु, मुख्य बासस्थानमा पानीका स्रोतहरु घट्दा, घाँसे मैदान प्रशस्त नहुँदा पनि नयाँ बन्यजन्तु बासस्थान सर्ने उनले जानकारी दिए। संख्या बढ्नु, धेरै स्थानमा गैंडा देखिनुले अवसर र चुनौती दुवै थपिएको उनको भनाइ छ।

पहिले मध्यवर्ती क्षेत्र र निकुञ्जको छेउछाउमा बस्नेहरु बन्यजन्तुबाट पीडित हुन्थ्ये। गैंडालगायतका बन्यजन्तुबाट कसरी बच्ने भन्ने सिकिसकेका थिए। अहिले सामुदायिक वनक्षेत्रका बस्तीमा पस्न थालेको बन्यजन्तुको आनिबानी थाहा नपाउँदा दुर्घटना हुने जोखिम धेरै भएको ढकालले बताए। बच्चासँगको गैंडा आक्रामक पनि हुने भएकाले बस्तीमा गैडा पस्नुलाई रमाइलोका रुपमा लिन नहुने उनको भनाइ छ।

‘तुवालो तथा हुस्सु लाग्दा अचानक जम्काभेट हुँदा दुर्घटना हुन सक्छ’, ढकालले भने, ‘बन्यजन्तुले पनि आफ्नो सुरक्षाका लागि आक्रमण गर्ने हुन्, मानिस देखेर बन्यजन्तु पनि डराउँछन्।’ निश्चित दूरीमा हुँदा भन्ने बन्यजन्तु आफ्नै बाटो लाग्ने उनले बताए। बन्यजन्तु बस्तीमा आउन नदिन वनको सीमाक्षेत्रमा स्थायी खालका छेकबार र पूर्वाधार बनाउनुपर्ने उनको भनाइ छ।

प्रकाशित: १४ मंसिर २०७५ ०१:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App