इलाम – उच्च अदालतको इलाम इजलाशले बितेको आर्थिक वर्ष २०७४–०७५ मा लक्ष्यभन्दा बढी मुद्दा किनारा लगाएको छ। त्यस आवमा नयाँ दर्ता भएका ५ सय ८९ र अघिल्लो वर्षबाट जिम्मेवारी सरेका ४ सय १८ मुद्दामध्ये ७ सय ६७ मुद्दा किनारा लागेका हुन्।
नयाँ दर्ता हुने ८ सय ११ र जिम्मेवारी सरेका पुरानासहित ७० प्रतिशत मुद्दा फछ्र्योट हुने लक्ष्य राखिएकामा ७६.१६ प्रतिशत मुद्दा फछ्र्योट भएको अदालतका शाखा अधिकृत फणीन्द्र भट्टराईले बताए। ‘अदालतमा अब १५ महिनाभन्दा पुराना मुद्दा बाँकी छैनन्,’ भट्टराईले भने, ‘बालबालिका, असक्त र वृद्धवृद्धा पक्ष भएका मुद्दा बाँकी छैनन्।’ उनले २ सय ४० मुद्दा पछिल्लो आर्थिक वर्षलाई सरेको पनि बताए। अदालतमा ९४ सरकारवादी र १ सय ४६ व्यक्तिवादी मुद्दा फैसला हुन बाँकी रहेको अदालतले जनाएको छ।
अदालतमा १ सय १९ निवेदन प्रतिवेदन दर्ता भएकाका १ सय १२ थान फछ्र्योट भएका छन्। अदालतले न्यायाधीशसहितको टोली गाउँमै लगेर जनगुनासो सुन्ने, अदालतले दिने सेवाबारे जानकारी गराउने, आउँदा भदौदेखि लागू हुने नयाँ संहितासम्बन्धी जानकारी दिने कार्यक्रम गरिरहेको उनले बताए। ‘मुद्दाका सरोकारवालाले अदालतमा आएर अदालतले दिने सेवा–सुविधा, कामकारबाहीलगायतबारे न्यायाधीशसँगै कुुराकानी गर्ने कार्यक्रम ३ पटक गर्ने लक्ष्य रहेकामा ८ पटक गरिएको छ,’ उनले भने, ‘१ घण्टाभित्र दिइने सेवा पनि प्रभावकारी ढंगले दिन सफल भएका छौ।’
अदालतले नक्कल दिने, पेसी तोक्ने, गुज्रेको तारिख थाम्ने–थमाउने, वारेसनामा–सकारनामा, मिलापत्र, पुनरावेदन फिर्ता, तामेलीको निवेदन दर्ता गर्नेजस्ता काम १ घण्टाभित्रै हुने गरेको जनाएको छ। यस इजलाशअन्तर्गतका इलाम, झापा, पाँचथर र ताप्लेजुङ जिल्ला अदालतको अनुगमन गरिएको र सेवाग्राहीसँग न्यायिक संवाद, योजना प्रगति समीक्षा, कर्मचारीलाई तालिमजस्ता कार्यक्रम पनि गरिएको भट्टराईले जानकारी दिए।
प्रकाशित: ५ श्रावण २०७५ ०७:५९ शनिबार