मुगु – जिल्लाकाे पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिका–१ मा पर्ने चिताई कुनामा शनिबार राति आपसमा विवाद भई कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ।
कुटपिटबाट घाइते भएका मुगुम कार्मारोङ्ग गाउँपालिका– ४ खारी घर भई चन्दननाथ नगरपालिका–४ जुम्ला बस्दै आएका ३५ वर्षीया कार्मा तामाङ्गको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते तामाङ्गको आइतबार दिउसो ११ बजे उद्दार गरी उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
गमगढीदेखि मुगु तर्फ जाँदै गरेका चार जना युवा र तामाङ्गबीच मदिरा सेवन गरी बिवाद हुँदा कुटाकुट भएको थियाे। कुटपिटमा संलग्न चार जना कुटपिट गरी मुगु तर्फ हिडेका र घाइते तामाङ्ग गमगढी तर्फ आउँदै गर्दा विच बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
कुटाकुटमा संलग्न एक जनालाई घाइते अवस्थामा प्रहरीले पक्राउ गरेको र अन्य तीन जनाको खोजि भइरहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।
प्रकाशित: ४ असार २०७५ ०५:३७ सोमबार