१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

बहुचर्चित शिला शालिग्राम

शिला शालिग्राम, एक प्रसिद्ध नाम । नामले नै यसको महत्व र पहिचान झल्काउने सामथ्र्य राख्न सक्दछ । भौतिक रूपमा हेर्दा यो एक ढुंगा मात्र हो, त्यो पनि विश्वकै ठूलो । तर, यो ढुंगो हेर्न प्रत्येक दिन सयौं मान्छे जान्छन् ।
यो ढुंगोलाई हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अवतारको रूपमा पुज्ने गर्दछन् । स्वस्थानी कथामा जालन्धरकी श्रीमती वृन्दाको पतिव्रता छद्म भेषमा भगवान् विष्णुले नष्ट गरेपछि वृन्दाले उनलाई चार श्राप दिएकी थिइन् । ती चार श्रापमध्येको एक पत्थर बन्नुपरोस् भन्ने श्रापका कारण भगवान् विष्णुले शिला शालिग्रामको रूप लिएको किंवदन्ती सुन्न पाइन्छ ।
यो, त शिला शालिग्रामको एक धार्मिक पहिचान मात्र हो । मानवीय संवेदनाका कुनै पनि क्षणमा मानिसहरूले सम्झने आस्थाको केन्द्रको रूपमा पनि शिला शालिग्रामलाई लिने गरिन्छ । मुक्तिनाथ र गलेश्वरपछि कालीगण्डकीले छुने अर्को प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पनि शालिग्राम नै हो ।

शिलालाई दाहिने पारेर बग्ने कालीगण्डकी नदीले पनि शिला शालिग्रामको महत्व अझै बढाएको छ । हिन्दू धर्मावलम्वीहरूको प्राय सबै संस्कारहरूको शिला शालिग्राममा नै पूजाआजा गरी गर्ने गरिएको छ । यो चलनको सुरुवात कहिलेदेखि भयो भन्ने यकिन तथ्य भने छैन ।

शिला शालिग्राममा ठूली एकादशी र वैशाखे संक्रान्तिका कारण वर्षमा दुईपटक दर्शनार्थीको भेला हुने गरेको छ । हरेक वर्षका दुई धार्मिक तिथिमा शालिग्राममा लाग्ने बृहत् मेला तथा दर्शनार्थीहरूले अहिलेसम्म यसको सांस्कृतिक महत्व भने कमजोर हुन दिएका छैनन् ।

धार्मिक कुराले मात्र होइन, शिला शालिग्राम भौगोलिक कारणले पनि उत्तिकै चर्चित छ । संघीयता आउनुपूर्व साविकको नेपालको राजनीतिक विभाजनअनुसार यो पश्चिामाञ्चल विकास क्षेत्रमा पर्दछ र हाल प्रदेश नं. ४ मा रहेको छ । जिल्ला र प्रदेशकै पर्यटकीय गन्तव्यमा दरिएको शालिग्रामलाई पर्वतले मात्र पर्यकटीय सूचीमा राखेर प्रचारप्रसार गर्दै आइरहेको छ ।

शिला शालिग्रामले साबिकका तीन अञ्चल धौलागिरी, गण्डकी र लुम्बिनी तथा पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सिमानाको रूपमा पनि काम गरेको छ । हाल दुई प्रदेशका तीन जिल्लाको सीमाक्षेत्रमा शिला शालिग्राम रहेको छ । प्रदेश ५ कोे गुल्मी तथा प्रदेश ४ का पर्वत र स्याङ्जाले पनि जिल्लाको पर्यटकीय क्षेत्रको रूपमा शिला शालिग्रामलाई उदाहरणको रूपमा लिने गर्दछन्।

यो त भयो जिल्लागत, धार्मिक तथा भौगोलिक वस्तुस्थिति। तीन जिल्ला, दुई प्रदेशले आफ्नो गौरवको रूपमा शिला शालिग्रामलाई देखाएतापनि यी सबै प्रदेश र जिल्लाकै तानातानको कारण शिला शालिग्राम अहिले बेवास्तामा परेको छ ।
आज प्रत्यक्ष सीमानामा जोडिने स्याङ्जाको गल्याङ नगरपालिका र पर्वतको विहादी गाउँपालिका यी दुवैले शिला शालिग्रामलाई आफ्नो भूभागमा पर्ने दाबी गरिरहँदा शिलाको भौतिक अवस्था भने कुरूप बन्दै गइरहेको छ ।
वास्तवमा शिलाको बायाँतर्फबाट बग्ने सेतीखोलाले दशकअघि शिला शालिग्रामलाई बीचमा पारेर बग्ने गर्दथ्यो र त्यतिबेला पनि पर्वत तथा स्याङ्जा दुवैले सीमाक्षेत्रमा परेको हुँदा आफ्नो जिल्लामा परेको दाबी गर्दथे ।सेतीखोलाले नै पर्वत र स्याङ्जाको सिमाना पनि छुट्याएको छ ।

शिला शालिग्रामले साबिकका तीन अञ्चल धौलागिरी, गण्डकी र लुम्बिनी तथा पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सिमानाको रूपमा पनि काम गरेको छ । हाल दुई प्रदेशका तीन जिल्लाको सीमाक्षेत्रमा शिला शालिग्राम रहेको छ ।

शिला शालिग्राममा साबिकको पर्वत जिविसले नै मर्मत तथा संरक्षण गर्दै आइरहेको थियो । हालसम्म पर्वतको जिविस होस् वा तत्कालीन गाविस, शालिग्रामको संरक्षणका लागि पर्वतले नै लगानी गर्दै आइरहेको छ । शिला संरक्षण तथा व्यवस्थापनका लागि पर्वतले नै केही वर्षअघि बृहत् ज्ञानमहायज्ञसमेत आयोजना गरेको थियो।

शालिग्राममा दर्शनार्थी परिक्रमा गर्ने स्थल भत्किएको एकवर्ष बितिसक्दा पनि त्यसको पुनर्निर्माण भने हुन सकेको छैन । स्थानीय तह कार्यान्वयनमा आइसकेपछि भने बिहादी गाउँपालिकाले अघिल्लो बजेटमा पनि यसलाई समावेश गर्न सकेन, स्याङ्जाको गल्याङ नगरपालिकाको नजरमा यो पर्न सकेन । तर, स्थानीय तहको बजेटले यसको संरक्षण गर्न सम्भव भने छैन । विहादी गाउँपालिकाले शालिग्रामको संरक्षणका लागि तटबन्ध तथा संस्कृति जोगाउन पौवाहरू बनाउने योजना बनाएको छ ।तर, ठूलै योजना बनाएर यसको संरक्षण गर्ने उपाय भने स्थानीय तहको वशमा छैन ।
दुई वर्षअघि साउन १२ गते कालीगण्डकी नदीमा पानीको सतह बढ्दा शिलालाई नै कैयौं दिनसम्म डुबाएको थियो । त्यतिबेला नै शिलाको परिक्रमास्थल भत्किएको हो । त्यो अहिलेसम्म पनि बन्न सकेको छैन् । वर्षैंपिच्छे आउने बाढीका कारण त्यहाँका स्थानीयहरू वर्षातको समयमा सधंै त्रासमा रहने गर्दछन् । यसकोदिगो समाधानका लागि पनि स्थानीय तहहरूले योजना बनाउन सकेका छैनन् ।

गतवर्षको स्थानीय तहको चुनावमा लोकप्रिय नारा बनेको शिला शालिग्राम चुनावपछि हराएको छ । त्यहाँ केवल हिन्दू धर्मप्रति आस्थावान् व्यक्तिहरू दर्शन गर्न जाने हुँदा मात्र चहलपहल देखिन्छ । शिला शालिग्राममा ठूलीएकादशी र वैशाखे संक्रान्तिका कारण वर्षमा दुईपटक दर्शनार्थीको भेला हुने गरेको छ । हरेक वर्षका दुई धार्मिक तिथिमा शालिग्राममा लाग्ने बृहत् मेला तथा दर्शनार्थीहरूले अहिलेसम्म यसको सांस्कृतिक महŒव भने कमजोर हुन दिएका छैनन् ।

एक आस्था र धर्मकै कारण हालसम्म समयसमयमा चर्चामा आउने शालिग्रामको भौतिक स्वरूप परिवर्तन हुँदै गर्दा यो सम्बन्धित निकायको बेवास्तामा पर्दै गइरहेको छ ।पछिल्लो समय कालीगण्डकी लोकमार्गको निर्माणकार्यले पनि यसको अस्तित्व संकटमा पर्दै गइरहेको छ । लोकमार्गका लागि सेतीखोलामाथि मोटरेबल पुल निर्माण गर्दै शिला परिसरबाट नै अवैध रूपमा बालुवा र कंक्रिटहरू झिकिएका छन् । शिलालाई घुम्ने सेतीखोलाको बीचमा नै ट्याक्टर र डोजरहरू चलाइँदा यसको भित्री सतहमा असर पुग्ने देखिन्छ । अर्कोतर्फ खोलालाई गहिर्याउँदै जाँदा वर्षात्मा यसले बाढी–पहिरोका कारण मानवीय घटना पनि घटाउन सक्ने जोखिम बढिरहेको छ ।

धर्मको आस्थाको केन्द्र, भूगोलको सिमाना, अनि पर्यटकीय र ऐतिहासिक केन्द्र शिला शालिग्रामको अस्तित्वको संरक्षणको विषयमा अहिले नै दीर्घकालीन समाधानबारे नसोचे भविष्यमा यसको अस्तित्व नै नरहन पनि सक्छ । प्रदेशसभामा नै शालिग्रामलाई विश्वसम्पदा सूचीमा राख्नुपर्ने माग उठिरहँदा यसतर्फ सबैले गम्भीर भएर सोच्न जरुरी छ ।जाउँ एकपटक घुमौं सेतीवेणी, शिलाको दर्शन गरौं, अनि दिगो मर्मतका लागि अभियान सुरु गरौं ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App