८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

नारायणी अस्पतालमा बदमासी, सामान लिलामीका नाममा हिनामिना

वीरगन्ज -नारायणी उपक्षेत्रीय अस्पतालमा रहेका हजारौं थान सामान कबाड घोषित गरेर कौडीको भाउमा बेचेको खुलासा भएको छ । मर्मत गरी प्रयोगमा ल्याउन सकिने अवस्थाका सामान र कतिपय राम्रै अवस्थाका सामान पनि कौडीको मूल्यमा बेचेको भेटिएको हो ।

फलाम, काठ र प्लास्टिकका सामान यसरी बेचिएको हो । अस्पताल प्रशासनले काठमाडौंको एउटा गैरसरकारी संस्थामार्फत २ सय ८२ किसिमका हजारौं थान सामान ८८ हजार ९ सय ७ रुपैयाँमा बिक्री गरेको छ।चारवटा एक्सरे मेसिन पाँच सय रुपैयाँका दरले दुई हजारमा बेचिएको छ । २५ वटा फलामे बेड ३ सय रुपैयाँको दरमा बेचिएको छ । एक सय तीनवटा बेड साइड लकर ५० रुपैयाँको दरमा र अपरेसन टेबुल पाँच सय रुपैयाँमा बेचिएको अस्पतालमा कार्यरत चिकित्सकहरुले बताएका छन्।

बिरामी जाँच्ने फलामे टेबुल १० रुपैयाँमा काठको टेबुल ५ रुपैयाँमा, काठको आलमारी ३० रुपैयाँमा, गोदरेज ट्रली १० रुपैयाँमा र जेनेरेटर एक हजार रुपैयाँमा बेचिएको छ । एयरकन्डिसनर मेसिन एक हजारमा, काठको ¥याक ७५ रुपैयाँमा, माइक्रोस्कोप दुई सयमा, मोटरपम्प पाँच सयमा, एयरकुलर पाँच सयमा, सिलिङ पंखा ५० मा, अल्ट्रासाउन्ड मेसिन एक सयमा, एउटा घर्रासहितको काठको टेबुल ६० रुपैयाँमा र एउटा घर्रा भएको टेबुल २५ रुपैयाँमा बेचिएको प्रमाण भेटिएको छ । पिठ्युँ अड्याउन मिल्ने काठको बेन्च १६ रुपैयाँ, साधारण बेन्च १५ रुपैयाँ र सोफा सेट दुई सयमा बेचिएको छ।

मर्मत सम्भार गरेर प्रयोग गर्न मिल्ने सामान कबाडको मूल्यभन्दा पनि सस्तोमा बेचिएको छ । क्विन्टलसम्म वजन रहेको फलामे बेड ४५ रुपैयाँमा बिक्री गरिएको छ । बजारमा कबाडी फलाम प्रतिकिलो २५ रुपैयाँमा किनबेच हुन्छ । ‘लिलामीको नाममा बेचिएको फलामे सामान कबाडमा बेचेको भए पनि कयौं गुणा बढी मूल्य आउँथ्यो’, अस्पतालका एक कर्मचारीले भने । त्यस्तै काठका सामान दाउराको मूल्यभन्दा पनि सस्तोमा बेचिएको छ ।

दाउराको मूल्य किलोको १५ रुपैयाँ छ । यही भाउमा बेचेको भए पनि सरकारी अस्पतालको खातामा अहिलेको भन्दा चार गुणा बढी मूल्य आउँथ्यो । सखुवाको काठको मूल्य कम्तीमा चार हजार रुपैयाँ घनफिट छ तर अस्पतालले सखुवाबाटै बनेका कुर्सी २० रुपैयाँ र खाट ५० रुपैयाँमा बेचेको छ । ‘ठेकेदारले किनेको कुर्सी ट्रकमा हाल्न लागेका बेला मैले मैले दुई हजारमा मागें, दिएनन्,’ छप्कैयाका एक स्थानीयले भने, ‘गजब छ, ५० रुपैयाँमा मात्र लिएर गए ?’

अस्पताल प्रशासनको आदेशमा सामान लिलाम गरिएको जिन्सी शाखाका प्रमुख वीरेन्द्र चौधरीले बताए । अस्पतालले सूचना प्रकाशित गरी २०७४ कातिक १२ मा २ सय ८२ किसिमका हजारौं थान सामान लिलाम गरेको हो । ‘सूचना सार्वजनिक गरेपछि १३ वटा संस्थाले निवेदन दर्ता गराएका थिए,’ चौधरीले भने, ‘पछि आपसमा मिलेर बढाबढै गरेनन्, न्यूनतम मूल्यमै प्रिमियर इन्टरप्राइजेजले सामान सकार गरेर लग्यो।’

यसरी भयो सेटिङ

नारायणी उपक्षेत्रीय अस्पताल पुरानो भवनमा रहेको जिन्सी शाखामा पुराना सामान भरिएका थिए । यी सामान लिलाम गरेर हटाउने कुरा कयौं पटक उठेको थियो । ‘यसै सिलसिलामा अस्पतालका केहीले प्रयोग गर्न मिल्ने वा सामान्य मर्मत गरेर प्रयोगमा ल्याउन सक्ने सामानसमेत हटाउने मौका छोपे, बढीभन्दा बढी सामान लिलाम गर्ने सूचीमा सामेल गरियो,’ अस्पताल स्रोतले भन्यो, ‘२५ वर्षसम्म चल्न सक्ने सामान १२ वर्षमै बेचेर नयाँ खरिदका लागि वातावरण तयार पारिएको हो, यसमा कमिसनको लोभले समेत काम गरेको छ।’

सामान खरिद गर्न निवेदन दर्ता गराएका अरु १२ संस्थालाई मिलाउने काम गरियो । चाँजोपाजो मिलाउनेमा अस्पताल विकास समितितर्फका कर्मचारी अशोक श्रीवास्तवलगायतले अगुवाइ गरेको स्रोतले बतायो । प्रिमियम इन्टरप्राइजेज वीरगन्ज–६ ले लिलाम बढाबढमा सामान सकार गरेको भनिए पनि बढाबढ हुन नसकी औपचारिकतामात्र पूरा गरी एकदमै न्यून मूल्यमा सामान जिम्मा लगाइयो । यी सामानको मूल्यांकन गर्ने काम काठमाडौंको गैरसरकारी संस्था लाइफलाइन नेपालले गरेको थियो । उक्त संस्थाले खरिदकर्तालाई अधिकभन्दा अधिक लाभ पुग्नेगरी सुरुमै सामानको कम मूल्यांकन गरेको देखिन्छ।

अस्पताल विकास समितितर्फका कर्मचारी श्रीवास्तवले यसबारे आफूलाई खासै जानकारी नभएको बताए । ‘केही महिना पुरानो कुरा हो, मेरो शाखा नभएकाले मेरो सरोकार पनि भएन,’ उनले भने, ‘मैले बुझेअनुसार प्रक्रियाअनुसार नै सबै भएको छ ।’ हाल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रहेका डा. एनामुल हकले आफू आउनुभन्दा अगाडिको कुरा भएकाले थाहा नभएको बताए । ‘तत्कालीन मेसु डा. चित्तरञ्जन साहको समयमा उत्त कार्य भएको रहेछ । सामान लोड गरेर ट्रकमा लैजान लागेको बेला लिलामी गरिएको हो भनी थाहा भयो । यसअघि हामीलाई पनि थाहा थिएन’, अस्पताल विकास समितिका सदस्य सुशील खेतानले भने, ‘कबाडको भन्दा पनि कम मूल्यमा बेचेका रहेछन् ।’

प्रकाशित: ३ जेष्ठ २०७५ ०२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App