चितवन - कालिका नगरपालिका–६ की किसान कोपिला दाहाल आफूले लगाएको केरा बगानको उत्पादन देख्दा निकै खुसी थिइन्।
१० कट्ठामा लगाएको केराखेती अघिल्लो वर्षको तुलनामा राम्रो भएको थियो । केराखेती सपार्नका लागि उनले मेहनत पनि उत्तिकै गरेकी थिइन् । समयमा नै केरामा राख्ने मल जिल्लामा नपाउँदा उनी हेटांैडासम्म पुगेकी थिइन्।
‘हेरचाह र गोडमेलमा ध्यान दिएकै कारण अघिल्लो वर्षभन्दा यसपालि केराखेती राम्रो भएको थियो,’ उनले भनिन्, ‘आफैंले मेहनत राम्रोसँग गरेकी थिएँ, वरिपरि कसैको केरा नपसाउँदा मेरो बारीका सबै बोटमा घरी लागेका थिए ।’ सप्रिएको केरा बालीबाट राम्रो उत्पादन लिने तयारीमा रहेकी कोपिलाको सपना चकनाचूर भएको छ । अघिल्लो दिन सर्लक्क भएका केराका थाम भोलिपल्ट बिहान बारी भरि फिजाँरिएका थिए । घरी लागेका केराका थाम दुई टुक्रा भएका थिए।
कालिका नगरपालिका–६ भटेनीमा लगाइएको केरा अज्ञात समूहले सोमबार राती काटेर नष्ट गरिएको घटनामा कोपिलाको बगान पनि परेको हो । उनीसँगै १२ किसानले लगाएको तीन हजार ९४ केराका बोट काटेर नष्ट गरिएको छ । कोपिलाले १० कट्ठामा लगाएको केरामध्ये करिब नौ कट्ठाको केरामा क्षति भयो । उनको मात्र एक हजार दुई सय बोटमा क्षति पुगेको छ।
‘चट्ट बेच्ने बेला भएकोमा आएर सर्लक्क ढालिदिए,’ उनी भन्छिन्, ‘बिजोग छ, बारी हेर्दा नि मनै रुन्छ ।’ सिजन अनुसारको खेतीपाती लगाउँदा स्याहार गर्न गाह्रो भएपछि उनले अघिल्लो वर्षबाट केरा लगाउन थालेकी थिइन्।
गत वर्ष केराखेतीबाट पाँच लाख आम्दानी गरेकी उनी यो वर्ष त्योभन्दा धेरै कमाउने सुरमा थिइन् । केराखेती र त्यसको आम्दानीबाट खुसी र सन्तुष्ट रहेकी उनी योे घटनाबाट चिन्तित छिन् । ‘किसानले मेहनत गरेको फल आउने बेलामा क्षति बेहोर्नुप¥यो,’ उनले भनिन््, ‘अहिलेसम्म कसले गरेको हो भन्ने थाहा भएको छैन ।’
शोभा भट्टको केरा बगानमा पनि ६ सय बोट केरा काटेर नष्ट गरिएको छ।
त्यस्तै, झलक सुवेदीको तीन सय बोट, शंकर अम्गाईको दुई सय ५०, गोपी लामिछानेको दुई सय, लिला पंगेनीको एक सय ५०, नवराज धितालको एक सय ५०, पूर्णबहादुर खड्काको ९७, देवीप्रसाद गोतामेको ५०, गोविन्द दाहालको ५०, ध्रुव आचार्यको ३५ र भूमिनन्द दवाडीको १२ बोट केरा नष्ट गरिएको चितवन केरा व्यवसायी संघका अध्यक्ष विष्णुहरी पन्तले जानकारी दिए ।केराको एउटा बोट बिक्रीबाट कम्तिमा पाँच सयसम्म आम्दानी गर्ने भएकाले १५ लाख ४७ हजार रुपैयाँको क्षति भएको अध्यक्ष पन्त बताउँछन्।
प्रदेश ३ का कृषि मन्त्री दावा दोर्जे लामाले नष्ट पारिएको केरा बगानको बुधबार अवलोकन गरेका छन् । अवलोकनपछि मन्त्री लामाले केराखेतीमा क्षति पुर्याउनेलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिए।मानवीय स्वभावभन्दा बाहिर पुगेर किसानको मेहनतमा क्षति गर्ने दोषीलाई नछाडिने उनले बताए । प्रहरीलाई निष्पक्ष अनुसन्धान गरेर दोषी पत्ता लगाउन निर्देशन दिँदै उनले घटनाका दोषीलाई कारबाही गर्न कसैको दबाब मान्य नहुने बताए।
मन्त्री लामाले किसानलाई नआत्तिन आग्रह गरे । ‘उच्च मनोबलका साथ काम गर्नुस्’ उनले भने, ‘प्रदेश सरकार सधैं किसानको साथमा छ ।’ इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले केराखेती नष्ट गर्ने समूहको तीव्र खोजी भइरहेको बताउँछन् । संलग्न भएको आशंकाका आधारमा केही व्यक्ति पक्राउ गरी अनुसन्धान कार्य अघि बढाइएको उनले जानकारी दिए । उनी भन्छन्, ‘समूहमा नै गरेको देखिएको छ, थप अनुसन्धान भइरहेको छ ।’
प्रकाशित: २० वैशाख २०७५ ०३:१४ बिहीबार