सिन्धुपाल्चोक – सबै घरको आकार र ढाँचा उस्तै छ । उस्तै रङ पोतेर चिटिक्क पारिएको छ । भवनको बाहिरी भागमा चाइनिज इटा र रातो रङ प्रयोग गरिएको छ । प्रत्येक भवनको अगाडि चर्पी छन्।
बस्तीको मुहार फेरिए जस्तै सिन्धुपालचोक इन्द्रावती गाउँपालिका–१२ भिमटारका भुकम्पपीडित बलवहादुर दनुवारको अनुहार फुरुंग देखिन्थ्यो । खुसीले गदगद थिए उनी । इन्द्रावती नदीको तीरमा रहेको भिमटार माझी र दनुवारको बहुल बस्ती हो।
यहाँका दनुवार र माझी समुदाय माछा मार्छन्, अरुको ज्याला मजदुरी गर्छन्, खोलामा वालुवा चाल्छन् । तैपनि गुजारा चलाउन धौधौ छ । यस्तो आम्दानीले न उनीहरुले भूकम्पमा ढलेको घर उठाउन सकेका थिए । न त पक्की घरमा बस्ने सपना देखेका थिए । यसैले त भुकम्पपछिका तीन वर्ष बर्खे झरी नछेक्ने टहरामा बिताए।
अब भने उनको बास फेरिएको छ । आइतबारदेखि दुईकोठे पक्की भवन पाएका छन् । उनको परिवारमा ११ जना सदस्य छन् । यी सदस्यलाई अबभने भरपर्दो ओत मिलेको छ । ‘एउटा टहरामा ११ जना खादिँएर तीन बर्ष काट्यौं,’ उनले भने, ‘दुईकोठे बनिबनाउ पक्की भवन पाउँदा निकै खुशी लागेको छ।’
आइतबार नयाँ घरमा छिरे पछि उनले तीन बर्ष टहरामा बिताएको पीडा बिर्सन सकेनन् । ‘हुरी बतासको बेला टहरो नै उल्टाएर लगिदिन्थ्यो,’ उनले भने, ‘अर्कोदिन दिनभरी टहरो बनाएर बस्नुपर्ने अवस्था थियो, अब त त्यस्ता दिन गए।’
उनीजस्तै पञ्चबहादुर दनुवारले पनि तीन बर्ष पालमा कष्टपूर्ण रात बिताए । उनले भने, ‘हुरिबतासले दिनहुँ छानो उठादिन्थ्यो, बर्खामा पानी पर्दा चुहिएर भित्र बस्नै मुस्किल हुन्थ्यो, बल्ल आनन्दले रात बिताउन पाइने भइयो ।’ उनले पालमा बस्दा धेरै कष्ट व्यर्होनुपरेको अनुभव साटे । ‘सुत्नेदेखि लगाउने सबै लत्ताकपडा भिज्थे, सरकारमा भएका मान्छेहरू आएर धेरैपल्ट आस देखाएर गए,’ उनले थपे, ‘तर, हामीले सरकारी राहतको ५० हजार पाउनलाई पनि मुस्किल भयो, बरु गैर सरकारी संस्थाहरुको सहयोग पायौं ।’ आइतबार भिमटारमा धेरै परिवारको मुहारमा खुशीको चेहरा देखिन्थ्यो । भिमटार दुनवार र माझीहरुको पकड क्षेत्र हो।
केही माझी समुदाय र केही दनुवार समुदायले भुकम्प गएको तीनबर्षपछि भूकम्प प्रतिरोधात्मक नयाँ भवन पाए । २७ करोड लागतमा यी पक्की घर र विद्यालय बनाइदिएको थियो, एसओएस बालग्राम नामक संस्थाले । अब उनीहरुलाई भुइँचालो आए पनि लडाउन सक्ने छैन । किनकी यी घरहरु भुकम्पप्रतिरोधात्मक छन्।
पक्की घर पाउँदा १ सय ७७ परिवारमा खुशीको सीमा थिएन । अरुबेला दुःखको आँशु बगाउने पीडितले नयाँ घरमा सर्दा खुशी आुशँ खसाएको देखिन्थे । तीनबर्ष टहरामा बिताएका पीडित बस्तीको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । उनले त्यहाँ पुगेर बस्तीको मात्रै उद्घाटन गरेकी थिइनन, एओएसले नै बनाएको श्री भिमेश्वर माध्यमीक विद्यालय भवनको पनि उद्घाटन गरेकी थिइन्।
नयाँ घरमा सर्न पाउँदा खुशी देखिन्थिन, रमा दनुवार । उनको परिवार भुकम्पयता भिमटार नजिकै खेतमा टहरो बनाएर बस्दै आएको थियो । तीन बर्ष घाम पानी नछेक्ने प्लाष्टिकको पाल र जस्ता पाताको छानोमा रात गुजारेको यो परिवार अब यस्तो समस्या खेप्नु पर्दैन । आइतबार राष्ट्रपति भण्डारीले उनलाई हस्तानान्तरण गरिएको पक्की घरको अवलोकन समेत गरेकी थिइन् । ‘धेरै सहेर बसेका थियौं,’ उनले सुनाइन्, ‘बल्ल भरपर्दो ओत पायौं।’
भुकम्पयता इन्द्रावती गाउँपालिका –१२ वडाका करिब १२ सय परिवार टहरामा थिए । यसमध्ये १ सय ७७ पक्की घरमा सरे भने अन्य १ हजार २३ परिवार अझै टहरामा छन् । उनीहरुले सरकारले घर बनाउनेको निम्ति दिने पहिलोकिस्ताको राहतबाहेक अन्य सुविधा नपाएको गुनासो गरे । ‘सकारको मुख ताक्दा ताक्दै बर्सौ बितायौं,’ भिमटारमै टहरामा बस्दै आएका उत्तम माझीले भने, ‘कसैले सहयोग गरे हामीले पनि सुरक्षित बास पाउने थियौं ।’ उनले हावाहुँरी चल्ने र बर्खाको बेला सारै दुःख हुने गरेको दुखेसो गरे।
अत्याधुनिक तवरले यी भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जारी गरेको मापदण्ड अनुसार निर्माण भएका छन् । भवनको बाहिर पट्टी चाइनिज इटा र रातो रङ प्रयोग गरिएको छ, जसले पुरै बस्तीलाई नै मौलिक बस्ती भनेर चिन्न सहयोग गर्छ।
बस्ती उद्घाटनको लागि राष्ट्रपति भण्डारीले हेलीकप्टरबाट पाइला टेकेकी थिइन् । ती बस्तीको उद्घाटन गर्दै राष्ट्रपतिले सरकारले अझैपनि टहरामा रहेका धेरै पीडितहरुलाई सक्दो छिटो बासको जोहो गरिदिन सुझाँब दिइन् । ‘केहीको अनुहारमा खुशी देखिएपनि धेरै पीडितहरु कष्टमा जीवन बिताइरहेका छन्,’ उनले भनिन्, ‘उनीहरुलाई ख्याल राखेर सरकारले काम गर्नुपर्छ ।’ पीडित र प्रभावित परिवारलाई सहानुभूति व्यक्त गर्दै उनले नयाँ घर र विद्यालय संरचनाको रक्षा गर्ने जिम्मा स्थानीयकै भएको बताइन।
‘शिक्षा, बास र स्वास्थ्य सबैको नैर्सगीक अधिकार हो,’ उनले थपिन्, ‘त्यसैले राज्यले यी विषयलाई केन्द्रमा राखेर काम गर्न जरुरी छ । नेपालको आर्थिक उन्नतीलाई ध्यानमा राख्दै उनले तातोपानी नाकालाई सहजपूर्ण ढंगले खोल्नुपर्नेमा उनले जोड दिइन । ‘काठमाडौंको समिपमा रहेको सिन्धुपाल्चोक जिल्ला हरके क्षेत्रमा अग्रणी भूमिका खेलेको जिल्ला हो,’ त्यसैले राज्यले यहाँका सम्भावनको खोजी गर्नुपर्छ।’
एसओएस बालग्रामका सल्लाहकार शंकर प्रधानाङ्गले अति प्रभावित क्षेत्रका पीडितहरुको अवस्थालाई ध्यानमा राखेर एसओएसले नयाँ घर बनाइदिएको बताए । उनले यस क्षेत्रमा विद्यालय र बासको अति नै दुर्दशा देखिएपछि संस्थाले त्यसलाई ध्यानमा राखेर काम गरेको सुनाए । ‘यहाँको स्थानीयको दैनिकी हेर्दा हामीलाई ज्यादै दुःख लागेको थियो,’ उनले भने, ‘केही राहत मिलोस् भनेर हामीले यस्तो काम गरेका हौं ।’ उनका अनुसार संस्थाले अहिले दोलखा र सिन्धुपाल्चोकमा गरी २ सय ८४ वटा नयाँ घर बनाएको छ।
विद्यार्थीलाई नयाँ विद्यालय
भिमटारका माझी र दनुवार समुदायका विद्यार्थीले पठनपाठन गर्दै आएको श्री भिमेश्वर माध्यमीक विद्यालय भूकम्पले ध्वस्त पारेको थियो । भूकम्प गएयता पालमुनी पठनपाठन हुँदै आएको थियो । एसओएसकै सहयोगमा विद्यालयले नयाँ भवन पाएको छ।
करिब ८ करोडको लगानीमा विद्यालय भवन निर्माण गरिएको थियो । विद्यालय निर्माणपछि धेरै सहज भएको विद्यालयका प्रध्यानाध्यपक कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए । उनले भने, ‘निकै दुःख पाएर पढाउँदै आएका थियोैं, कक्षाकोठा नहुँदा शिक्षण सिकाई क्रियाकलाप पनि असहज भएको थियो ।’
प्रकाशित: १८ वैशाख २०७५ ०५:२५ मंगलबार