जुम्लाको पातारासी गाउँपालिकाले उमेर पुगेपछि विवाह गर्ने एक जोडीलाई बधाई पत्र प्रदान गरेको छ। गाउँपालिकाले २० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई यो बधाई पत्र उपलब्ध गराएको हो। पातारासी गाउँपालिका–७ रिनी गाउँकी २२ वर्षीया युवती लालमाया बुढा र २३ वर्षीय अर्जुन खड्का नवविवाहित जोडी हुन्। जनप्रतिनिधि र कर्मचारीहरूले उनीहरूलाई टीका लगाई बधाई पत्र प्रदान गरेका थिए।
बधाई पत्रमा लेखिएको छ, ‘तपाईंहरूको जोडीले २० वर्ष उमेर पूरा गरी विवाह गरेर बालविवाह न्यूनीकरणमा प्रेरणादायी भूमिका निर्वाह गर्नुभएकोमा हार्दिक बधाई तथा सफल र सुखद दाम्पत्य जीवनको शुभकामना।’ उक्त पत्रमा वडाध्यक्ष वीरबहादुर बुढा, वडा सचिव प्रदीप बुढा र महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले हस्ताक्षर गरेका छन्।
गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीका अनुसार दण्ड र सजायको डर मात्र बालविवाह घटाउन पर्याप्त छैन। यस ऐतिहासिक कदमले बालविवाह रोक्नमा मद्दत पुर्याउने उनको विश्वास छ। उनी भन्छिन्, ‘यो कामको सुरुवात जुम्लाका ८ स्थानीय तहमै पहिलो हो, नयाँ सन्देश प्रवाह हुनेछ। सिकाई पनि हुने देखिन्छ। उमेर पुगेपछि मात्र विवाह गर्नुपर्छ भन्ने सोचको विकास गर्न यो रचनात्मक विधि रचिएको हो ।’
पातारासी गाउँपालिकामा १ देखि ७ वटासम्म वडा छन्। आगामी वर्षहरूमा २० वर्ष पुगेपछि विवाह गर्ने अन्य जोडीलाई पनि सम्मान गर्ने योजना रहेको उनले बताइन्। महिला तथा बालबालिका शाखाले हरेक वर्ष विवाह गर्ने महिनामा सचेतना कार्यक्रम, र्याली, सडक नाटक, बाल क्लब र विद्यालयमा कार्यक्रम सञ्चालन गर्दै आएको छ।
पातारासीको वडा नम्बर ५ लाई जिल्लामै पहिलो बालविवाहमुक्त वडा घोषणा भैसकेको छ। वडा अध्यक्ष बुढा उमेर पुगेपछि मात्र विवाह गर्ने संस्कारलाई समाजमा स्थापित गराउन खोजिएको बताउँछन्।
जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांक अनुसार २०७८/७९ आर्थिक वर्षमा जुम्लामा १९ वर्ष नपुग्दै १७ प्रतिशत किशोरी आमा बनेका छन्। सबैभन्दा धेरै गुठिचौर गाउँपालिकामा ३३ प्रतिशत किशोरी आमा बनेका छन्। त्यसपछि क्रमशस् पातारासीमा २४, तिलामा २२, तातोपानीमा २०, कनकासुन्दरीमा २०, हिमामा १७, सिंजामा १५ र चन्दननाथ नगरपालिकामा १३ प्रतिशत किशोरीहरु आमा बनेका थिए।
यस्तै आर्थिक वर्ष २०७७र०७८ को तथ्यांक हेर्दा जिल्लाका ८ सय ६० जना किशोरीहरु २० वर्ष नपुग्दै आमा बनेका थिए। मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार, २० वर्ष नपुगि गरिएको विवाह स्वतस् बदर हुने साथै ३ वर्षसम्मको कैद र ३० हजार रुपैयाँसम्मको जरिवाना सजायको व्यवस्था गरिएको छ।
प्रकाशित: ९ मंसिर २०८१ १०:३४ आइतबार