जिल्लाको कटारीका व्यापारीले तिहारमा खेलेको देउसी भैलीको पैसा स्थानीय सुकुम्बासीको हितमा प्रयोग गर्ने भएका छन्। कटारी चेम्बर अफ कमर्समा आबद्ध व्यापारी व्यवसायीको समूहले तिहारमा खेलेको देउसी भैलीबाट सङ्कलित रकम सुकुम्बासी बस्तीमा लगानी गर्ने निर्णय गरेका हुन्।
चेम्बर अफ कमर्सका अध्यक्ष पवन श्रेष्ठले तिहारको अवसर पारेर ४ दिन खेलेको देउसी भैलीको रकम कटारी नगरपालिका ५ स्थित सुकुम्बासी बस्तीमा सहयोग गर्ने निर्णय गरेको बताए। उनले सुकुम्बासी बस्तीमा अहिले पनि शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइ नभएको हुनाले त्यसमै लगानी गर्ने उद्देश्यले देउसी भैली खेलेको बताए।
चेम्बरको टोलीले देउसी भैलीको सुरुआत पनि सुकुम्बासी बस्तीबाटै गरेको थियो। गाई तिहारका दिन कटारी ५ सुकुम्बासी टोलको मलाहा बस्तीबाट सुरु गरेको देउसी भैली कार्यक्रम भाईतिहारको भोलिपल्ट कटारी ३ र ४ को बजार क्षेत्रपछि पुनः सुकुम्बासी बस्तीमै पुगेर समापन गरिएको थियो।
अध्यक्ष श्रेष्ठले सधैँ बजार र गाउँमा मात्र खेलिने देउसी भैलीको परम्परा तोड्दै यो तिहारमा सुकुम्बासी बस्तीबाट सुरु गरेको पनि बताए। गरिब, दलित र पिछडा वर्गको बसोबास रहेको सुकुम्बासी बस्तीमा पनि देउसी भैलीको रौनक छाओस् भनेर त्यहीबाट सुरु गरेको उनको भनाई छ।
देउसीभैलीबाट ५० हजार हाराहारी मात्र रकम सङ्लन भएको छ। त्यसमा अन्य सहयोगी खोजी गरेर सुकुम्बासी बस्तीका दलित र गरिवका छोराछोरीलाई पढाउन शैक्षिक सामग्री उपलब्ध गराउने, टोलमा खानेपानी र सरसफाइ गर्न खर्च गर्ने चेम्बरको योजना छ। त्यसका लागि नगरपालिकासँग पनि सहयोग माग्ने श्रेष्ठले बताए।
कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले चेम्बरले सङ्कलन गरेको देउसी भैलीको रकममा नगरपालिकाले थपेर सुकुम्बासी बस्तीको हितमा खर्च गर्ने बताए।
प्रकाशित: ४ मंसिर २०८१ १३:१३ मंगलबार