२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

मन्त्रालयद्वारा निगमसँग विवरण माग

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमले जहाजको इन्जिन मर्मतका लागि विदेश पठाएकोबारेमा छानबिन समिति गठन गरेको छ। मन्त्रालयले निगमसँग ए–३२० जहाजको इन्जिन मर्मत सम्भार गर्न इजरायल पठाएको र ए–३३० जहाजको थ्री सी चेकका लागि इटाली पठाएको सम्बन्धमा छानबिन गरी पन्ध्र दिनभित्र प्रतिवेदन पेश गर्ने गरी मन्त्रीस्तरीय निर्णयबाट नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।

यसै क्रममा मन्त्रालयले पत्र जारी गर्दै निगमसँग आफ्नो ए–३२० जहाजको इन्जिन मर्मत सम्भार गर्न इजराययल पठाएकोमा सो सम्बन्धी सम्पूर्ण कागजात, फाइल तथा पत्राचार (इमेल समेत) उपलब्ध गराउन पत्र काटेको छ।

साथै निगमको ए–३३० जहाज इटालीको एमएस अलिटेक एसपिएमा पठाउँदाको सम्पूर्ण निर्णय प्रक्रिया, निगमको प्रावधान र सोसँग सम्बन्धित निर्णय, पत्राचार र इमेल लगायतका सम्पूर्ण कागजातसमेत खामिएको विवरण मन्त्रालयलाई उपलब्ध गराउन भनेको छ। मन्त्रालयले जहाज पठाउने निर्णयमा संलग्न सबै अधिकारीहरूको विवरण समेत मागेको छ।

गत असार ११ गते प्राधिकरणले वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई काममा रोक लगाएको थियो। वाइडबडी जहाज सी चेकका लागि बिना अनुमति दुबई हुँदै इटाली पुर्‍याइएको भन्दै प्राधिकरणले अध्यक्ष अधिकारीसहित पाँच जनालाई तत्कालका लागि निलम्बन गरेको थियो।

अधिकारीसँगै प्राधिकरणले अपरेसन म्यानेजर तथा क्याप्टेन दिपु ज्वारचन, क्याप्टेन महेशमान डंगोल र रमन घिमिरेलाई समेत प्राधिकरणले ग्राउन्डेड गरेको थियो। त्यस्तै, क्यामो म्यानेजर ज्ञानबहादुर कुँवरलाई पनि काममा रोक लगाइएको थियो। निगम व्यवस्थापनले गत शुक्रबार वाइडबडी जहाज सी चेकका लागि सेड्युल फ्लाइटमार्फत् दुबई हुँदै इटाली पुर्‍याएको थियो।

प्राधिकरणको नियामावली २०५८ को व्यवस्थाअनुसार प्राधिकरणबाट एओसी प्राप्त वायुसेवा कम्पनीले कुनै वायु यानको मेजर चेक, सी–चेक तथा ओभरअल चेक अपको काम गर्दा सबैभन्दा पहिले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको छ। जानकारी नै नगराइ जहाज मर्मतको लागि पठाएकोमा प्राधिकरणले निगमका कार्यकारी अध्यक्षसहित पाँच जनालाई कारबाही गरेको थियो।

प्रकाशित: २१ असार २०८१ ०७:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App