२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

बुकीबाटै यार्साको अवैध निकासी

म्याग्दीको हिमाली भेगमा बहुमूल्य जडिबुटी यार्सा प्रशस्त पाइने भए पनि वैधानिक रूपमा न्यून मात्रामा निकासी भएको छ। डिभिजन वन कार्यालय म्याग्दीबाट यार्सागुम्बा संकलन र निकासीका लागि राजस्व तिरेर संकलन पुर्जी र छुट पुर्जी लिएर मात्रै यार्सागुम्बा बिक्री र निकासी गर्नुपर्ने भए पनि म्याग्दीमा यस वर्ष जम्मा पाँच सय ग्रामको संकलन पुर्जीबाट १० हजार पाँच सय राजस्व संकलन भएको छ।

म्याग्दीमा हरेक वर्ष करिब १० केजीभन्दा बढी यार्सा संकलन हुने भए पनि सबैजसो अवैध बाटोबाट निकासी हुने गरेको छ। चालु आर्थिक वर्षमा आधा किलो यार्सागुम्बा संकलनका लागि मात्रै पुर्जी लिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी विनयबहादुर अधिकारी खत्रीले बताए। ‘एकजनाले मात्रै संकलन पुर्जी लैजानुभएको छ, संकलनपुर्जी नलगी छुट पुर्जी पाइँदैन,’ सूचना अधिकारी खत्रीले भने। म्याग्दीको गुर्जा, मुदी, लुलाङ, मल्कबाङ, कुइनेमंगले, चिमखोला, दानालगायत हिमाली क्षेत्रमा यार्सा संकलन हुने गरेको छ।

एक दशकअगाडिसम्म म्याग्दीमा सरकारी निकायबाटै अनुमति लिएर संकलन र छुट पुर्जी बनाई २३ किलोसम्म यार्सा निर्यात हुने गरेको थियो। स्थानीय तह र डिभिजन वन कार्यालयलगायत सरकारी संयन्त्रको कमजोरीका कारण संकलन पुर्जी लिनेको संख्या र परिमाणममै भारी गिरावट आएको देखिन्छ। एउटा यार्साको बुटीलाई दुई सयदेखि २५० सम्ममा बिक्री हुन्छ। यार्सा संकलन भएपछि ठेकेदारले गाउँमै पुगेर यार्साको खरिद गर्दै आएका छन् भने सर्वसाधारणसमेत जंगलमै बसेर  संकलन गर्छन्।

विशेष गरी वैशाखको मध्यदेखि जेठको अन्त्यसम्ममा हिमालको फेदीसम्म पुगेर जोखिम मोलेरै स्थानीयले यार्सा संकलन गर्ने गर्छन्। जिल्लामा सबैभन्दा धेरै धवलागिरि गाउँपालिका–१ गुर्जा, चुरेन र पुथा हिमालको बुकी र रघुगंगा गाउँपालिका–७, चिमखोलाको हिमाली क्षेत्रमा यार्सा पाइन्छ। सर्वसाधारणबाट व्यवसायीले प्रतिकिलो पाँचदेखि ६ लाखसम्ममा यार्सा खरिद गर्ने गरेका छन्। हालको बजारमूल्य प्रतिकिलो आठदेखि ११ लाख रूपैयाँसम्म रहेको छ ।

प्रकाशित: २१ असार २०८१ ०६:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App