२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

‘महिला अधिकारका निम्ती थप गर्नुछ’

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) सदस्य वन्दना राणाले दोस्रो कार्यकालमा नेपाल तथा विश्वभरि पूरा हुन बाँकी रहेका महिला तथा बालबालिकाको अधिकारका मुद्दालाई जोड दिने बताएकी छन्।

सोमबार नागरिकसँग कुरा गर्दै राणाले यस्तो बताएकी हुन्। पछिल्लो समय महिलामाथि प्रविधिमार्फत हिंसा भएकाले यस्तो हिंसाविरुद्धको मुद्दा अब प्राथमिकतामा रहने उनले बताइन्। राणा हालै अमेरिकाको न्युयोर्कमा सम्पन्न मतदानमा १४६ मत पाई निर्वाचित भएकी थिइन्।

सिडमा निर्वाचित भएपछि नेपाल आएकी राणाले आफू लामो समयदेखि महिला तथा बालबालिकाको अधिकारका मुद्दामा काम गर्दै आएकाले दोस्रो कार्यकाल थप दृढताका साथ काम गर्नुपर्ने जिम्मेवारी थपिएको बताइन्।

‘अहिलेसम्म सरकार र नागरिक समाज मिलेर यो क्षेत्रमा जेजति काम गरेका छन्, त्योभन्दा बढी सशक्तीकरण र अधिकारका लागि योगदान दिने हो’, उनले भनिन्। त्यसमा पनि आफू सिडमा हुनु भनेको नेपालका महिला तथा बालबालिकाको हक अधिकारका क्षेत्रमा दृढ भएर अझ अघि बढ्नुपर्छ भन्ने हो’, उनले भनिन्। 

नेपालले सिडको अध्यक्ष तहमा भाग लिनका लागि महिला अधिकारका क्षेत्रमा धेरै काम पूरा गरिसकेको हुनुपर्ने बताइन्। यो पदमा आकांक्षी बन्नुअघि नै नेपालमा महिला र बालबालिका अधिकारले पूर्णता लिइसकेको हुनुपर्ने उनको भनाइ छ। ‘नेपालले अध्यक्ष पदमा भाग लिनका लागि यति धेरै यो क्षेत्रमा काम गरिसकेको हुनुपर्छ कि नेपालमा महिला तथा बालबालिकाको अधिकार हनन नै भएको छैन’,उनले भनिन्।

राणा सिडको सदस्यका रूपमा निर्वाचित भएको अवसरमा सञ्चारिका समुहले सोमबार बधाई ज्ञापन कार्यक्रम आयोजना गरेको थियो। राणा सञ्चारिका समूहकी पूर्व अध्यक्ष हुन्।

प्रकाशित: ५ असार २०८१ ०७:५९ बुधबार

#woman #Bandana-Rana #United-Nations-Committee