२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

करेन्ट लागेर नाबालकसहित दुई जनाको मृत्यु

मोरङको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर नाबालकसहित दुई जनाको मृत्यु भएको छ। सुनवर्षी नगरपालिका–९ डाइनियाँका ३५ वर्षीय उमेशप्रसाद साहको करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार साहले आफ्नै घरमा फोटो स्टुडियो सञ्चालन गर्दै आएका थिए। सोमबार राति साढे ९ बजेतिर फोटो स्टुडियोभित्र काम गरिरहेका साहलाई ल्यापटपमा पेनड्राइभ जोड्ने क्रममा अचानक करेन्ट लागेको बताउँदै, डिएसपी बस्नेतले भने, ‘करेन्ट लागेपछि घाइते भएका साहलाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याउनसाथ राति साढे १० बजेतिर चिकित्सकले मृत घोषित गर्‍यो। घटनाको थप अनुसन्धान अघि बढेको छ।’ पोस्टमार्टमका लागि साहको शव रंगेली अस्पतालमा राखिएको छ।

त्यसैगरी, विराटनगर–८ देवकोटा चोकमा रहेको खानेपानी कार्यालयको क्वाटरमा बस्दै आएका कर्मचारी सुरज चौधरीका छोरा ४ वर्षीय टेरेन्स चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

क्वार्टरको कोठाभित्रै खेल्ने क्रममा मल्टिप्लगबाट राति १० बजेतिर करेन्ट लागेर टेरेन्स घाइते भई उपचारका लागि गोल्डेन अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बुढीगंगास्थिति विराट टिचिङ अस्पताल लगिएको थियो।

अस्पताल पुर्‍याउनासाथ चिकित्सकले राति साढे १२ बजेतिर मृत घोषित गरेको डिएसपी बस्नेतले बताए। शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको र घटनाको अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ जेष्ठ २०८१ १०:४९ मंगलबार

#Death #Morang #current