३ असार २०८१ सोमबार
image/svg+xml
समाज

बालविवाह न्युनिकरण गर्न : अन्तर पुस्ता संवाद

क्याप्सन: अन्तरपुस्ता संवाद कार्यक्रम तस्बिर गोल्डेन बुढा / नागरिक

जुम्लाको दुर्गम गाउँमा बालविवाह न्युनिकरण गर्न अन्तर पुस्ता संवाद कार्यक्रम थालिएको छ। बालबालिका, ज्येष्ठ नागरिक र युवायुवती  पुस्ताकाबिचमा बालविवाहको बुझाइ, भोगाइ र न्यूनीकरणमा साझा एक्यबद्धता थालिएको हो। 

जुम्लाको हिमा गाउँपालिका–६ पाथरखोला गाउँका ७३ वर्षीय पदम खत्रीले भने, ‘१० वर्षको उमेरमा विवाह भयो। सानै उमेरमा भएको विवाहले घरवार बन्न सकेन। बालविवाह भएकाले दोस्रो विवाह गर्नुपर्ने अवस्था आयो। त्यतिबेला यो बालविवाह कुरै हुने गरेको थिएन। सानै उमेरमा विवाह गर्ने चलन थियो। कुनै महिलालाई पुरुषले मन परायो भने सिधै तानेर लिने चलन थियो। बालविवाहको पश्चताव हुन्छ अहिले। बालविवाहले शिक्षा र स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने रहेछ’, उनले भने। सानै उमेरमा भएको विवाह सफल नभएपछि २५ वर्षको उमेरमा दोस्रो विवाह गर्नुपरेको उनकाे भनाइ छ। खत्रीका अहिले तीन छोरा र तीन छोरी छन्।

यस्तै, हिमा गाउँपालिकाको समन्वय तथा क्याड नेपाल प्लान नेपालको आर्थिक सहयोगमा गाउँमा बालविवाह विरुद्धको अन्तरपुस्ता संवाद कार्यक्रम संचालन गरिँदै आएको छ। हिमा- ६ पाथरखोला गाउँकी ४६ वर्षीय सम्झना शाहीले १५ वर्षको उमेरमा मेलामा घाँस काट्न गएका अवस्थामा त्यहीबाट छोपेर ल्याएर विवाह भएको हो। उनका दुई छोरा, एक छोरी छन्।

सम्झनाले भनिन्, ‘१५ वर्षको उमेरमा बालविवाह भएकै हो। बालविवाह गर्नु नहुने रहेछ। अहिले बालविवाहका स्वास्थ्य असर र प्रभावका विषयमा थाहा पायौँ। छोराछोरीलाई बालविवाह नगर्न भनेर सुझाउने गरेका छौँ।’ हिमा गाउँपालिकामा पर्ने पाथरखोला गाउँस्थित भानु माध्यामिक विद्यालय कक्षा ८ मा अध्ययनरत १२ वर्षीय स्वष्तिका शाहीले बालविवाह गर्न नहुने कुरा बुझेको बताउँछिन्। 

‘बालविवाहले प्रत्यक्ष रुपमा मानिसको स्वास्थ्य र शिक्षामा असर पर्ने भएकोले गर्न नहुने कुरा बुझेका छौँ। पहिलो पुस्ता र दोस्रो पुस्ताले बालविवाह गर्दा उनिहरुले भोग्नु भएको दुःख पीडालाई पनि हामीले बुझेका छौँ। कानुनी रुपमा पनि २० वर्षदेखि माथि पुगेपछि मात्रै विवाह गर्नु पर्दछ भन्ने बुझेका छौँ। बालविवाह गर्न नहुने कुरा सवै गाउँबस्तीमा पुगेर सचेतीकरण गर्नुपर्ने छ’, उनले भनिन्।

अन्तरपुस्तामा ‘बिहेबारी २० वर्षपारि’ भन्ने नारा नेपाल सरकारको नारा छ। यही नारालाई प्राथमिकतामा राखेर नेपाल सरकारले सन् २०३० सम्म बालविवाह मुक्त समाज बनाउने लक्ष्य लिएको छ। यसअघि क्याड नेपाल जुम्लाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार तीन वर्षयता हिमा गाउँपालिकामा मात्रै एक हजार एक सय सात जनाको विवाह भएकोमा सात सय ५५ जनाको बालविवाह भएको देखिन्छ। कुल विवाहको ६८.२० प्रतिशत बालविवाह भएको तथ्याङ्कले देखाउँछ। यस्तै सिँजामा तीन सय एकजनाले विवाह गरेकोमा एक सय ८४ जना ९६१।१२ प्रतिशत० ले बालविवाह गरेका छन्। कनकासुन्दरीमा तीन वर्षमा एक हजार ५३ जनाले विवाह गरेकोमा पाँच सय ७१ जना अर्थात् ५४।२२ प्रतिशतले बालविवाह गरेका छन्।

प्लान नेपालको सहयोगमा जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा बालविवाह न्यूनीकरण गर्नका लागि कार्यक्रम सञ्चालन गर्दै आएको आत्म सम्मानका लागि सहकार्य (क्याड) जुम्लाका सामाजिक परिचालक अधिकृत देवेन्द्र आचार्यले बताए। 

उनले भने, ‘गाउँ गाउँमा बालविवाह विरुद्धको अन्तरपुस्ता संवाद कार्यक्रम समेत गर्दै आएका छौं।’ अन्तरसंवाद सामाजिक अभियान्ता तथा सञ्चारकर्मीहरुबाट सहजीकरण गर्दै आएको आचार्य बताउँछन्। लक्ष्यमा पुग्नका लागि नेपाल सरकारका विभिन्न निकाय, गैरसरकारी संस्था र सामाजिक अभियन्ताले काम गर्दै आएको पनि देखिन्छ। 

यस्तै २० वर्षमुनि विवाह गर्न नपाइने कानुनी व्यवस्था भए पनि समाजमा बालविवाह भइरहेको विभिन्न तथ्यांकले देखाउँछ। स्वास्थ्य संस्थामा २० वर्षमुनिका किशोरी गर्भजाँच तथा प्रसुति हुन आउने गर्ने भएकाले बालविवाह समाजमा हुने गरेको बुझिन्छ।

प्रकाशित: १३ जेष्ठ २०८१ ०९:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App