४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

असोजभित्र काबेलीको विद्युत राष्ट्रिय प्रसारण लाइनमा

१९ सय मिटर लामो हेडरेस टनेल बनेपछि खुसी साट्दै निर्माण कम्पनी र निर्माणमा संलग्न जनशक्ति । तस्बिर : नागरिक।

जलविद्युतको ‘हव’बन्दै आएको ताप्लेजुङमा एकपछि अर्को आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुने संकेत देखिएको छ।

७३ मेगावाट क्षमताको सानिमा मध्य तमोर जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा समाहित भएको केहीँ महिना पछि काबेली नदीमा निर्माणाधिन झण्डै ४८ मेगावाट क्षमताका तीन जलविद्युत आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जडान हुने भएको छ।

यस्तै,ताप्लेजुङको काबेली बेसिनमा निर्माणाधीन ४७.४३ मेगावाटका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत आउँदा असोज भित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ।

छुट्टै तीन प्रवर्द्धक कम्पनीमार्फत एउटै समूहले काबेली नदीमा तीनवटा जलविद्युत आयोजनाको निर्माण गरिरहेका छन्।

आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार तीनवटै आयोजनाको सिभिल संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। 

बाँकी निर्माणका काममा कुनै व्यवधान सृजना नभए आगामी असोज महिनाभित्रमा तीनवटै जलविद्युत आयोजनाद्धारा उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुने ढुङ्गानाले जानकारी दिए।

काबेली नदीको पानी उपयोग गरी बनाईदैं आएको १३.५ मेगावाटको सुपर काबेली खोला ‘ए’, १२ मेगावाटको सुपर काबेली खोला क्यासकेड र २१.९३ मेगावाटको काबेली–३ आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।

ढुङ्गानाका अनुसार सुपर काबेली खोला आयोजना स्नोरिभर्स लिमिटेड, सुपर काबेली खोला क्यासकेड हिल्टन हाइड्रो इनर्जी र काबेली–३ आयोजना काबेली हाइड्रोपावर कम्पनीमार्फत निर्माण भइरहेका छन्।

अघिल्लो बर्षको बाढी र पहिरोले आयोजनाका केहि संरचना तथा उपकरणहरु बगाएको र क्षतिग्रस्त बनाएको थियो। अघिल्लो सालको असार पहिलो साता काबेली नदीमा उर्लिएको बाढीले आयोजना प्रभावित क्षेत्र याम्फुदिन,खेवाङ,पेदाङ,तेल्लोक र मामाङ्खे सहितका क्षेत्रमा नराम्रो प्रभाव पारेको थियो।

बाढी,पहिरो र अन्य व्यवधान सृजना नभए असोज महिना भित्रमा निर्माण कार्य पूरा भई असोज महिना भित्रै व्यवसायिक उत्पादनमा लैजान सकिने निर्माण कम्पनीहरुको बुझाई रहेको छ।

आयोजना स्थल मुख्य सडकदेखि ५४ किलोमिटरको दुरीमा पर्छ। आयोजनाको ५४ किलामिटर पहुँच सडक मध्ये २५ किलोमिटर प्रवर्द्धक कम्पनीहरूमार्फत निर्माण गरिएको हो। यी तीनवटै जलविद्युत आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने विद्युत १३२ केभी काबेली करिडोर प्रसारण लाइनको पाँचथर अमरपुर सबस्टेसनमा लगेर जोडिनेछ।

यी आयोजनाको विद्युतगृहदेखि सबस्टेसनसम्मको ३१ किलोमिटर प्रसारण लाइनको निर्माण पनि अन्तिम चरणमा पुगेको छ। १३२ केभी प्रसारण लाइनको ९६ वटा टावर निर्माण गरी तार तान्ने काम भइरहेको छ। 

प्रकाशित: ८ जेष्ठ २०८१ ११:५३ मंगलबार

#electricity #National Broadcasting Line #Kabeli Basin