२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दोस्रो पटक जिब्रो छेड्दै सुजन

भक्तपुरको मध्यपुर थिमि वोदेको विस्का जात्रा अन्तर्गत हुने जिब्रो छेड्ने जात्रामा यो वर्ष पनि बोदेका २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन्। 

प्रसिद्ध बिस्का जात्रा अन्तर्गत प्रत्येक वर्ष वैशाख २ गते मध्यपुर थिमिको बोदेमा  ‘म्ये प्वा खनेगु जात्रा’ (जिब्रो छ्ड्ने जात्रा) हुने गर्छ।

गत वर्ष पहिलो पटक जिब्रो छेडेका सुजनले यस वर्ष पनि जिब्रो छेडाएर जात्रालाई जीवन्त राख्ने निर्णय गरेका हुन्। बोदेमा हुने यो जात्रा देश विदेशमा प्रख्यात भए पनि जिब्रो छेड्नमा युवाहरू अगाडि नसर्दा लामो समयसम्म एउटै मानिसले जिब्रो छेड्दै जात्रालाई जीवन्तता दिँदै आएका छन्। त्यसकारण यस जात्रामा जिब्रो छेड्न तयार युवालाई नगरभरि जयजयकार गरिन्छ।

यसअघि सुजनका बुबा बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका थिए। गत वर्ष जात्रालाई पुस्तान्तरण गर्दै सुजनले जिब्रो छेड्ने निर्णय गरेका थिए। यसअघि सुजनका बुवा बुद्धकृष्ण बाग श्रेष्ठले ९ पटक जिब्रो छोडेर जात्रालाई निरन्तरता दिएका थिए। सुजनका माइलो बुवा कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडेका थिए।

बुद्धकृष्णले पहिलो पटक २०६१ साल जिब्रो छेडेका थिए। त्यसपछि उनले २०६४ सालसम्म लगातार चार पटक जिब्रो छेडे। २०६५ सालमा बुद्धकृष्णले जिब्रो नछेड्ने बताएपछि जात्रालाई निरन्तरता दिन जुजुभाई बासँ श्रेष्ठले जिब्रो छेडाएका थिए।

जुजुभाईले २०६५ देखि २०७२ सम्म आठ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिए। २०७३ सालमा जुजुभाइले जिब्रो नछेड्ने घोषणा गरे। त्यसयता पुनः बुद्धकृष्णले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका हुन्।

बोदेका स्थानीय समाजसेवी दिलकृष्ण प्रजापति नयाँ नयाँ जिब्रो छेडेनेहरु नआउँदा जात्रालाई दिनका लागि पुरानैले जिब्रो छेड्दै आएको बताए। यही कारण यहाँ जात्रा नजिकिएसँगै जिब्रो छेड्ने घोषणाले नगरभरि नै खुसीयाली छाउने गरेको उनले सुनाए।

‘सुजनले दोस्रो पटक जिब्रो छेड्ने भएका छन्, हेरौँ अब कति पटक उनैले जात्रा धाउने हुन् ?’  उनले भने।

बिस्का जात्रामा वैशाख २ गते बोदेको पाचो गणेश मन्दिर परिसरबाट जिब्रो छेड्ने जात्रा सुरु हुन्छ। करिब एक फिट लामो सुईरोले जिब्रो छेडेपछि जिब्रो छेड्ने व्यक्तिले बाँसले निर्माण गरिएको भ्यय् (बत्तिसहितको बाँसले निर्माण गरिएको अर्धचन्द्रकार महादिप) काँधमा बोकेर बोदे सहर परिक्रमा गर्नुपर्दछ।

प्रकाशित: २१ चैत्र २०८० २०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App