२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

मालवाहक ट्रक गाउँ छिर्न रोक

खोटाङको साकेलाबाट काठ लिएर बाहिरिँदै गरेको ट्रक। तस्बिर: महेश्वर

बढी भार बोक्ने मालबाहक सवारी साधनले सडक संरचना बिगार्न थालेपछि खोटाङको साकेला गाउँपालिकाले त्यस्ता गाडी प्रवेशमा रोक लगाएको छ।

 मालबाहक ट्रकले भर्खर खनिएका कच्ची सडक बनाउनै नसक्ने गरी बिगार्ने गरेकाले प्रवेशमा रोक लगाउने निर्णय गाउँकार्यपालिका बैठकले गरेको हो।

अत्यधिक भार बोक्ने मालबाहक गाडीको आवागमनले भर्खर खनिएका गाउँका कच्ची सडक बिगारेको र मर्मत गर्न बजेट अभाव भएकाले गाउँकार्यपालि बैठकले निर्णय गरेरै प्रवेश गर्न रोक लगाएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए।

उनका अनुसार १५ टन र २१ टन क्षमता बोक्ने ६ चक्के र १० चक्के मालबाहक गाडीहरू साकेलाभित्र प्रवेश गर्न रोक लगाउने निर्णय भएको छ। गाउँपालिकाको निर्णय उल्लंघन गरे २० हजार रूपैयाँसम्म जरिवाना गर्ने निर्णयसमेत भएको छ।

‘अत्यधिक भारवहन क्षमताका गाडीहरू गाउँ पस्दा सडक भत्केर कामै नलाग्ने अवस्थामा पुगेका छन्,’ अध्यक्ष राईले भने, ‘त्यसैले ६ चक्के र १० चक्कहक ट्रक गाउँपालिकाभित्र प्रवेश गर्न पूर्णरूपमा प्रतिबन्ध लगाइएको हो।’

गाउँमा उत्पादित उत्तिसका काठ निकासी गर्न यस्ता ‘हेवी ट्रक’ गाउँ भित्रिने गरेका र त्यस्ता गाडीले काठ ओसार्ने क्रममा सडक क्षतविक्षत भएको पाइएको छ। गाउँपालिकाले यसअघि काटेर घाटगद्दीमा राखिएका काठ ओसार्न भने दिनेछ। त्यसका लागि ६ चक्के गाडीहरू सीमित समयका लागि प्रवेश गर्न दिइने छ। तर, त्यसका लागि पनि सम्बन्धित वडाको अनुमतिपत्र अनिवार्य हुनुपर्ने अध्यक्ष राईले बताए।

‘यसअघि काटेर घाटगढीमा राखिसकिएको काठ बाहिर पठाउन सम्बन्धित वडाको अनुमति लिएर १५ टनसम्म बोक्ने ६ चक्के गाडीबाट ढुवानी गर्न दिइनेछ,’ उनले भने, ‘त्यो सकिएपछि ६ चक्केलाई पनि पूर्णतः रोक लगाइनेछ।’ अबदेखि काठ ढुवानी गर्दा भत्किएको सडक, पर्खाल, नालालगायत पूर्वाधार मर्मत गर्न गाउँपालिकाका प्राविधिकले गरेको कार्यायोजनाअनुसार काठ व्यवसायीलाई क्षतिपूर्ति भर्न वा मर्मत गर्न लगाउने निर्णय पनि बैठकले गरेको अध्यक्ष राईले बताए।

गाउँपालिकाका आन्तरिक सडक संरचनाहरू अधिक भार क्षमताका ट्रक आवागमनले पूरै भत्केका कारण गाउँपालिका यसरी निर्मम बन्नुपरेको हो। करोडौं लगानी गरेर निर्माण गरिएका सडक संरचनाहरू सामान्य काठ निकासी गर्ने कामले भत्केर मर्मत गर्न नसक्दा नागरिकलाई आउजाउ गर्न समस्या भएकाले यस्तो निर्णय गर्नुपरेको उपाध्यक्ष बिर्सिका राईले बताइन्।

उनका अनुसार स्थानीयबासीको सुविधाका लागि सरकारले करोडौं लगानीमा गाउँगाउँमा सडक, नाला निर्माण गरेकोमा दुईचार हजार कर उठाउने तथा दुईचार लाखको काठ बेच्नका लागि भएभरको संरचना भत्कनु राम्रो होइन।

मालबाहक ट्रकले बिगारेका सडक मर्मत तथा पुनः निर्माण गर्न राज्यको करोडौं बजेट खर्च हुने भएकाले त्यसो हुन नदिन गाउँपालिकाले यो कदम चालेको उपाध्यक्ष राईको भनाइ छ। साकेला गाउँपालिकाका विभिन्न वडामा उत्पादित उत्तिस, चिलाउने, पात्लेलगायत कुकाठ ढुवानी गर्न मालबाहक ट्रकहरू विभिन्न ठाउँबाट त्यहाँ आउने गरेका थिए। 

प्रकाशित: १४ फाल्गुन २०८० ०९:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App