८ असार २०८१ शनिबार
image/svg+xml
समाज

लागु औषधको अत्यधिक प्रयोग बढ्यो मधेसमा अपराध

चरेसकाे कारोबार त्यत्तिकै

जनकपुरधाम उपमहानगरपालिका-२४ सोनापाराका २२ वर्षीय रूपेश महरा, २० वर्षीय पवन सहनी र २० वर्षीय हरिचन मण्डल गत कात्तिक ९ गते जटही हुँदै सीमापारि (भारतीय बजार) पुगे। त्यहाँ उनीहरूले लागुऔषध सेवन गरे। फर्किंदा जनकपुर-जटही सडकखण्डमा रोकिए। र, हरिचनले रूपेशसँग मोबाइल मागेर गीत सुन्दै झुम्न थाले। उनी गीतमा मुग्ध थिए।

त्यति नै बेला रूपेशले आफ्नो मोबाइल फिर्ता मागे। हरिचनले मोबाइल फिर्ता दिन इनकार गरे। लागुऔषधको मताइमा मदहोस दुवैबीच विवाद बढ्यो। मुक्का हानाहान भयो। हरिचन र रूपेशबीचको झगडा शान्त पार्नुको साटो पवनले हरिचनलाई साथ दिँदै बाँसको भाटा ल्याइदिए।

पवन र हरिचन मिलेर बाँसको भाटाले रूपेशको टाउकोमा प्रहार गर्दा उनी अचेत भएर ढले। रूपेशलाई धान खेतमा फालेर फरार पवन र हरिचन तीन दिनपछि पक्राउ गरे। उनीहरूले प्रहरीमा दिएको बयानबाट हत्याको तथ्य खुलेको प्रहरीले जनाएको छ।

त्यस्तै गत भदौ २१ गते सप्तरीको कञ्चनरूप नगरपालिका-७ का राहुल चौधरी र वडानम्बर ६ का पशुपति राम सीमापारि गई लागुऔषध सेवन गरे। लागुऔषधको केही मात्रामा लिएर पनि फर्किए। सोही नगरपालिकाको वडा नम्बर ९ स्थित सुन्दरी खोलाको डिलमा बसेर रामले चौधरीलाई पुनः लागुऔषध सेवन गराए।

अत्यधिक डोजका कारण उनी बेहोस भएपछि रामले चौधरीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। हत्या गरेपछि रामले चौधरीसँग रहेको मोबाइल र उनले लगाएको घडी लिएर गएका थिए। प्रहरीले असोज ४ गते रामलाई पक्राउ गरेपछि घटनाको तथ्य खुलेको हो।

उल्लिखित घटनाका मृतक र आरोपित मिल्ने साथी थिए। उनीहरू सँगै लागुऔषध सेवन गर्दै आएका थिए। त्यो दिन लागुऔषध सेवन गरेपछि नसाको झोकको परिणाम हत्या हुन गएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

मधेस प्रदेशमा लागुऔषध सेवन गरेर आफ्नै साथीको हत्या गरिएका यी प्रतिनिधि घटना मात्र हुन्। यी घटनाले प्रदेशका कतिपय युवा लागुऔषधको कुलतमा परी अपराध उन्मुख बन्दै गएको देखाएको प्रहरीको भनाइ छ।

प्रहरी अधिकारीका अनुसार यहाँ घट्ने ८० प्रतिशत आपराधिक घटना लागुऔषधकै कारण भइरहेका छन्। लागुऔषध प्रयोग गरेर हत्या र जबर्जस्ती करणी गर्ने गरेको भए पनि पछि ती मुद्दा कर्तव्य ज्यान र जबर्जस्ती करणीमा परिणत हुने भएकाले लागुऔषधकै कारण हत्या र करणी भएको तथ्यांक प्रहरीमा छुट्टै रहँदैन।

चरेससम्मको कारोबार

गत कात्तिक ९ गते पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरबाट लागुऔषधसहित पोखरा महानगरपालिका–६ का ४० वर्षीय रवीन्द्र केसीलाई पक्राउ गर्‍यो।

वीरगन्जबाट हेटौँडातर्फ जाँदै गरेको ग१ख ९६२६ नम्बरको यात्रुवाहक बसबाट उनलाई लागुऔषधसहित पक्राउ गरिएको हो। केसीले चालक बस्ने सिटमुनि लुकाईछिपाई राखेको फेनारगन ३०० एम्पुल, डाईजापाम ३०० एम्पुल र नुरफिन ३०० एम्पुल गरी जम्मा ९०० एम्पुल बरामद गरिएको पर्सा पहरीले जनाएको छ।

त्यस्तै मंसिर १५ गते वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकस्थित सडकखण्डमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको संयुक्त जाँच टोलीले भारतबाट वीरगन्जतर्फ आउने सवारीसाधन तथा पैदलयात्रीलाई जाँच गर्ने क्रममा ना ३०प ७७४६ नम्बरको स्कुटर खानतलासी गर्दा लागुऔषधसहित दुईजना पक्राउ परे।

पक्राउ पर्नेमा स्कुटरचालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-१ का २४ वर्षीय समीप श्रेष्ठ र स्कुटरको पछाडि बसेका सोही ठाउँका २८ वर्षीय सुवास पौडेल छन्। पौडेलले लगाएको हुडीभित्र बायाँ हातको भागमा लुकाईछिपाई राखिएको लागुऔषध खैरो हेरोइन जस्तो देखिने सेतो पदार्थ शून्य दशमलव ६ सय २० मिलिग्राम फेला परेको थियो।

सोही दिन सोही स्थानबाटै प्रहरीले भारतबाट शंकास्पद रूपमा पैदल हिँडेर वीरगन्जतर्फ आउँदै गरेका मकवानपुर हेटौंडा उमनपा-१४ मयुरधापका २८ वर्षीय साजन पौडेललाई पक्राउ गर्‍यो।

उनले बोकेको प्लास्टिकको झोलाभित्र लागुऔषध नाइट्राजेपाम नाइजा एक्यान प्रतिपत्ता १० ट्याबलेटका दरले ७ पत्तामा ७० ट्याबलेट फेला परेको थियो। पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान तथा कारबाही भइरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।

मधेस प्रदेशका आठ जिल्ला भारतीय सीमासँग जोडिएका छन्। जसकारण लागुऔषध ल्याउन सजिलो छ। लागुऔषधसहित पक्राउ पर्नेहरू भारतबाटै ल्याइरहेको अवस्थामा पक्राउ पर्ने गरेको प्रहरी अधिकारी बताउँछन्।

विभिन्न किसिमका ट्याबलेट र इन्जेक्सनदेखि गाँजा, चरेस र हेरोइनसम्मको प्रयोग यो प्रदेशमा हुने गरेको प्रहरीको भनाइ छ। यी लागुऔषधको कारोबार तथा प्रयोग हुन नदिन प्रहरी आफ्नो स्तरबाट प्रयास गरिरहेको बताउँछ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार चालु आर्थिक वर्षको कात्तिक महिनासम्म दुई हजार चार सय पाँच किलो गाँजा प्रदेशका आठै जिल्लाबाट प्रहरीले नियन्त्रणमा लिएको छ। आठ सय ९३ ग्राम चरेस र ३२ सय ७७ ग्राम हेरोइन नियन्त्रणमा लिएको छ।

त्यस्तै १६ हजार चार सय ५६ ट्याबलेट, एक हजार ७७ बोतल र १४ हजार एक सय ७७ इन्जेक्सन बरामद भएको छ। चालु आर्थिक वर्षमा लागुऔषधसम्बन्धी दुई सय ६३ मुद्दा दर्ता भएका छन्। जसमा तीन सय ७७ जना पक्राउ परेका छन्।

गत आव २०७९ मा लागुऔषधसम्बन्धी नौ सय ३७ मुद्दा दर्ता भएको थियो। जसमा १३ सय चारजना मानिस पक्राउ परेका थिए। सो अवधिमा ५६ सय ८३ किलो गाँजा, ४९ ग्राम ब्राउन सुगर, १५० किलो चरेस, ७१२ ग्राम हिरोइन, ६६ हजार आठ सय ६५ पिस ट्याबलेट, ८२ सय २७ बोतल, ६२ हजार ९०६ पिस इन्जेक्सन बरामद भएको थियो।

यी उदाहरणले मधेस प्रदेशमा लागुऔषधको फैलँदो सञ्जाललाई प्रस्ट्याउँछ। मधेस प्रदेशका आठवटै जिल्लाको सिमानाका सामान्य रूपमा खुला भएको अवस्थामा दैनिक यहाँबाट पारि पुगेर लागुऔषध बोकेर फर्किनेको संख्या बढी छ।

लागुऔषध कारोबारीले सञ्जाल नै स्थापना गरेर मधेस प्रदेशअन्तर्गत सीमावर्ती जिल्लाबाट निस्फिक्री कारोबार चलाइरहेको पाइएको छ। प्रहरीले विभिन्न समयमा पक्राउ गरेका कारोबारीको बयान तथा अनुसन्धानबाट यो तथ्य खुलेको हो। भारतीय सहरका विभिन्न औषधि पसलबाट भित्र्याइने लागुऔषध यहाँबाट विभिन्न ठाउँमा पुग्ने गरेको छ।

भारतसँगको खुला सिमाना, सबैतिर सुरक्षादृष्टि पु¥याउन नसक्ने सुरक्षा निकायको कमजोरी तथा सीमावर्ती भारतीय बजारमा हुने खुलमखुला बेचबिखनलगायत कारणले मधेस प्रदेश लागुऔषध कारोबारीको अखडा बन्दै आएको छ। सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामार्फत पहाडी जिल्ला र राजधानीलगायत धेरै सहरमा लागुऔषध ओसारपसार हुने गरेको प्रहरी स्रोतको भनाइ छ।

मधेस प्रदेशसभा सदस्य राजकुमार गुप्ता(राजु)ले लागुऔषधले मधेसी समाज दलदलमा भासिँदै गएको बताउँछन्। प्रयोगकर्ता पहिलेभन्दा धेरै बढेको छ। कारोबारी पनि बढ्दै गएको छ।

उनले भने, ‘यस प्रदेशका गाउँ सहर लागुऔषधको ट्रान्जिटका रूपमा बढी प्रयोग भइरहेको पाइन्छ।’ यसलाई तत्कालै नियन्त्रण गर्न नसकिए यहाँको सामाज लागुऔषधको दलदलमा भासिने उनको चिन्ता छ।

ज्यादै ठूलो र व्यवस्थित सञ्जालमार्फत भइरहेको यस्तो कारोबार दुई–चारजना कारोबारी समातेको भरमा तोड्न कठिन रहेको सामाजिक अभियन्ताहरू बताउँछन्। लागुऔषध सहजै उपलब्ध हुने भारतीय बजार र ती सामग्री पुग्ने नेपाली बजारबीचको मुख्य ट्रान्जिट मधेस प्रदेशका सीमावर्ती सहर हुने गरेका छन्।

प्रहरीले केही समयको फरकमा लागुऔषधसहित मानिसहरू समात्न थालेको लामो समय भइसकेको छ। तर कारोबारीहरूको सक्रियता पटक्कै घटेको छैन, झन् बढ्दो छ। यो संगठित गिरोहकै कारण सम्भव भएको प्रहरी अधिकारी बताउँछन्। खुला सिमानाका कारण नियन्त्रण चुनौतीपूर्ण बनेको प्रहरी अधिकारीको तर्क छ।

नियन्त्रण अभियान

बढ्दो लागुऔषधको प्रयोग र कारोबारको फैलँदो सञ्जालको चुनौती छल्न मधेस प्रदेश प्रहरी कार्यालयले मधेस प्रदेशका आठवटै जिल्लामा लागुऔषधबारे चेतना फैलाउने उद्देश्यले ‘लागुऔषधविरुद्धको अभियान’ सुरु गरेको छ।

अभियानको शुभारम्भ आइतबार महोत्तरीको बर्दिबासमा गरिएको थियो। अभियानको शुभारम्भ गर्दै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा बढ्दै गएको लागुऔषधको गैरकानुनी प्रयोग र त्यसबारे समुदाय स्तरमा जागरण ल्याउने अभियान महत्वपूर्ण हुने बताए। अभिभावकले आफ्ना सन्तानमाथि निगरानी बढाउने र दुव्र्यसनबारे समयमै सचेत गराउन सके धेरै समस्या समाधान हुने उनको कथन थियो।

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समीमले लागुऔषधले युवाको भविष्य अन्धकारमय बनाइरहेको तर्फ सचेत गराउँदै त्यसविरुद्ध सबै पक्ष एकजुट हुनुपर्ने बताए।

 मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख(डिआइजी) जनक भट्टराईले प्रदेशका आठवटै जिल्लामा लागुऔषधको कुलतमा लागेका युवालाई मनोपरामर्श दिने, दुव्र्यसनका सम्भावित कारण र परिणामबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सुरु गरिएको बताए।

प्रकाशित: २२ मंसिर २०८० ०२:०० शुक्रबार

लागुऔषधको कुलत सोनापारा चरेससम्मको कारोबार नियन्त्रण अभियान