८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

आफैमाथिको विजय-विजयादशमी

संस्कृति

सौर्य शान्त नभे, बलं हलधरे सत्यं च कुन्तीसुते,

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे।

विजयादशमीका दिन टीका र आशिष् प्रदान गर्दा भनिने मन्त्रले त आफ्ना जन आकाशजस्तो शान्त र पराक्रमी देख्न चाहन्छन्। बलरामका जस्तो बल होस्, कुन्ती–पुत्र युधिष्ठिरका जस्तो सत्यवादिता होस्, विदुरका जस्तो विज्ञान होस् अनि भगवान् नारायणका जस्तो कृति होस्।

यसका लागि लडाइँ र प्रतिस्पर्धा आफन्तसँग हो भने हार्न र आफैसँग हो भने जित्न सक्नुपर्छ। अन्यथा वर्ष दिनभरि एकअर्कालाई दिने गाली, ईर्ष्या, द्वेष र अपेक्षाका बाबजुद दशमीको एक दिनको मन्त्रमार्फतको आशिष्ले मात्रै आफूलाई शान्ति कहाँ मिल्छ र? खोज्नु छ त आफूभित्र आफैलाई खोज, बाँकी सब गुगलमा भेटिन्छ।

सामाजिक सञ्जालमा भेटेको यो उक्ति अहिले सबैको यथार्थ बनेको छ। परम्परादेखि दसैं मनाउने कारण भनेकै देवी दुर्गाले दानव महिषासुरमाथि विजय प्राप्त गरी धर्मको पुनस्र्थापना र रक्षाका लागि विजय प्राप्त गरेको स्मृतिमा र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको खुसियाली भन्ने गरिन्छ।

एकातिर सतानन धर्म र परम्पराको निरन्तरता हो भने अर्को देवी देवताप्रतिको श्रद्धाको प्रतीकका रूपमा लिइन्छ।

त्यसैले पनि प्रष्ट हुन आउँछ कि दानवरूपी स्वभाव र  अहंकारलाई देवतारूपी स्वभावले जित्नु नै विजय प्राप्त गर्नु हो। केवल मन्दिर गएर, उपासना र व्रत गरेर, पशु बलि दिएर यो विजयलाई साक्षात् गर्न सकिन्न।

निरीह पशुलाई बलि दिने होइन, मानवभित्र रहने पशुत्वको बलि दिएर देव स्वभावमा फर्किने सन्देश धर्म र अध्यात्मले संकेत गरेको हुन्छ। आफैलाई केसँग जित्ने त? यो प्रश्न थाहा पाएर मात्र विजयको प्रसङ्ग आउँछ।

अरूसँग हार्न र आफूलाई जित्न संसारका भौतिक वस्तुको प्रतिस्पर्धा होइन कि आफैभित्र छिपेर रहेका काम, क्रोध, लोभ, मोह, ईष्र्या र द्वेषरूपी अहंकार अर्थात् पापलाई जित्नु हो। तब मात्र हाम्रो धर्म, आस्था र संस्कारले सिकौं, खोजेको वास्तविकता आफ्नो जीवनमा उतार्न सहज हुन्छ। के हुन् ती रिपुहरू, जसले हामीलाई जित्न दिएका छैनन्:

काम

जसरी हुन्छ यश, सम्मान र प्रतिष्ठा प्राप्त गरौं भन्ने भाव अर्थात् अपेक्षा नै काम हो। परिणामको ख्याल नगरी तत्कालका लागि पद, प्रतिष्ठा, सम्मान, यश चाहनुको कारण नै व्यक्तिले आफूमाथि विजय प्राप्त गर्न सकेको हुँदैन। बाहिरबाट हेर्दा जति पदवान् देखिन्छ, भित्रको दुःख अव्यक्त भएर बाँचेको हुन्छ।

राजनीतिक, प्रशासनिक, रोजगारी जुनसुकै क्षेत्रमा होस्, आफ्नो उच्च स्थानको पद हुनैप¥यो। मेहनत र सहजता प्राप्त हुन्जेल धैर्य गर्नै नसक्ने गरी अनेक प्रपञ्च रचेर पाउन चाहने कामनाले मानिस कामको चक्र, अपेक्षाको खेलमा जेलिएको हुन्छ। कामले व्यक्तिलाई जितिरहेको हुन्छ तर व्यक्तिले काममाथि विजय प्राप्त गर्न सकेको हुँदैन।

क्रोध

धैर्य गुम्नु, होस गुम्नु, आफूले भने जस्तो नहुनासाथ अरूमाथि दोष दिनु र क्रोध प्रस्तुत गर्नुजस्ता कारण मानिस अहङ्कारी छ, दुःखी छ। क्रोध मात्र छोड्ने प्रयास गरे उसको जीवनमा सुख र सफलता मात्र बोध हुन्छ। अधैर्य र क्रोधमा आएर लिएको निर्णयले जीवनभर पछुताउनुभन्दा आफ्नो अहङ्कारप्रति जागृत हुन सके मात्र व्यक्ति आफैले आफैलाई जित्छ।

लोभ

अनावश्यक चाहना, जुन आवश्यकता होइन, त्यो लोभ हो। आवश्यक भएर होइन, लालचको धारणा नै लोभ हो। त्यो लालच अरूको धेरै देखेर, अरूको राम्रो देखेर, अरूकै प्रतिस्पर्धाबाट उत्पन्न भइरहेको हुन्छ।

कैयौं अर्ती दिन भ्याउँने भान्छेलाई आफूमा भएको लोभ छोड्न गाह्रो हुन्छ। जहाँ लोभ आयो, त्यहीं छोड्न सके कुनै दुःख आउँदैन मानिसको जीवनमा। लोभ छोड्यो कि बाँकी सबै सुख नै सुख, सन्तोष नै सन्तोष छ तर समस्या यही हो कि ऊ लोभमाथि विजय प्राप्त गर्न सक्दैन।

मोह

जरुरतभन्दा धेरै चाहना। आजलाई छ र पनि मनलाई पुग्दैन। भविष्यका लागि भए पनि जोहो गर्नु छ, बचाउनु छ, मोहकै कारण वर्तमानमा दुःखी हुन्छ मानिस। जति नै व्रत, उपासना गरोस्, अनिश्चित भविष्यको नाममा वर्तमानको सुख गुमाउने आदतरूपी मोहमाथि विजय प्राप्त गर्न सकेन भने रमाइलो र सुखको अनुभूति हुनै पाउँदैन।

ईष्र्या

अरूको प्रगति, उन्नति र सफलताप्रति चित्त बुझ्दैन, डाहा लाग्छ। त्यही ईर्ष्या हो। एक दिन दसैंमा आशिष् दिँदा र लिँदा मात्र यो समाप्त हुँदैन। ईर्ष्याले अरूको केही बिग्रिँदैन तर आफ्नो मानसिक अवस्था बिग्रेर जान्छ, तनावमा पुग्न सक्छ व्यक्ति। अलिकति भएको सुख र सन्तोष पनि ईर्ष्याकै कारण गुमाउँछ मानिस। त्यसैले जित्नु नै छ भने आफ्नो ईष्र्यालाई जितौं।

द्वेष

अरूप्रति प्रतिशोध साँध्ने अहङ्काररूपी स्वभाव हो द्वेष। क्षमाको भावना नभएपछि दया, करुणा र प्रेमको अभावमा व्यक्ति प्रतिशोध साँध्न पुग्छ। यस्तो अहङ्कार लिएर बस्नेले कहिल्यै सुखानुभूति गर्न सक्दैन।

अहङ्कार अन्धकारभन्दा पनि डरलाग्दो अवस्था हो, मानिसको जीवन विकासमा। बाहिरको अन्धकार त बाहिरै दियो बालेर उज्यालो पार्न सकिन्छ तर भित्रको अहङ्कारलाई सदाचार, सकारात्मकता र सत्यताको खोजले मात्र निस्तेज पार्न सकिन्छ। त्यसैले विजयादशमीको सुखद माहोलसँगै आफ्ना रिपुहरूमाथि विजय प्राप्त गर्न ध्यान, साधना र प्रज्ञाको विकास जरुरी छ।

जीवन नै मन्दिर

नवरथाभरि हामी नौ शक्तिपीठको दर्शन, पूजाआजा र व्रत उपासना गर्छौं। तर सत्जनहरू भन्नुहुन्छ–मन्दिर जाऊ, मन्दिर जानमा बाधा छैन तर तिम्रो जीवन नै मन्दिरजस्तो छ। त्यसप्रति होसपूर्ण बन। जीवन मन्दिरजस्तो छ, आत्मा मन्दिरभित्र प्रज्वलित भइरहेको दीपजस्तो छ। ब्रह्म मन्दिरमा रहेका ढोकासरह छ।

संसार मन्दिर वरिपरिको चहलपहलजस्तो छ। जसरी मन्दिरभित्र बलिरहेको दीपलाई हावाबाट बचाउन ढोकाले मद्दत गरेको हुन्छ, त्यसैगरी ब्रह्मको सुमिरनले हाम्रो चेतनालाई निष्कम्प बनाएर प्रज्वलित गरिरहेको हुन्छ। सृष्टिको स्रोत प्रेम हो। प्रेमभाव कायम राख्न धर्म, संस्कार र परम्पराले मद्दत गरे।

मन्दिर बने, पर्व निरन्तर चलिरहे, बन्धुबान्धव र एकआपसमा सम्बन्ध सुमधुर बनाउन बसुधैव कुटुम्बकमको भाव विकसित हुँदै गयो। तर, बिस्तारै आधुनिकता, शक्ति, राजनीति र प्रतिस्पर्धाको होडबाजीले बन्धुत्व र प्रेमको स्वभाव बिर्सेर मानिसले मानिसलाई नै दबाउन र दुःख दिन थाल्यो।

जसरी मन्दिरमा सबै मानिस समान भएर भगवान् सबैको एक छ भनेर प्रेम भावले जान्छन्, के आफ्नो मन्दिररूपी जीवनमा समत्व र प्रेमत्वको भाव फैलाउन सकिन्न र? मन्दिरमा प्रज्वलित हुने दियो तेल सकिएपछि निभेजस्तै यो जीवनरूपी मन्दिरभित्रको दीप पनि त एकदिन निभ्छ र मृत्यु आउँछ। जीवन रहुन्जेल उमङ्ग, प्रेम, शान्ति, आत्मसम्मान र आत्मविकासलाई केन्द्रमा राख्न सकिन्न र? बदला लिने र बदला दिने, प्रतिस्पर्धा गर्ने नै पनि यो धर्तीमा एक दिन त रहन्न।

जीवन अजर अमर त छैन तर गरेका काम र आफ्नो स्वभाव त अमर रहन सक्छ। हाम्रा बुढापाकाले भनेझैं वरत्र मात्र होइन, परत्रलाई पनि हुने कर्म गर्नु छ। यो भौतिक शरीर रहँदा मात्र होइन, शरीरबाट बिदा हुँदा पनि सम्झनलायक स्वभाव र व्यवहार हुनुपर्छ। त्यसैले त सन्तजनहरू सम्झाउँछन्-बाहिरका सबै कर्मकाण्डपछि जीवनमा केही रूपान्तरण आएको छ कि छैन? छैन भने अब सोच एवम् साधना परिवर्तन गर्ने समय आएको छ।

वाणी रसवती यस्य, यस्य श्रमवती क्रिया

लक्ष्मी: दानवती यस्य, सफलं तस्य जीवितं।

वाणी मिठो होस्, कर्म परिश्रमले भरिएको होस्, धन दान र परोपकारमा काम आओस्, उसैको आर्जन सफल छ, उसकै जीवन धन्य छ। त्यसैले आफूलाई जित्न आफ्नो व्यवहार र स्वभाव प्रेमिल, करुणावान, परोपकारी, दया र संवेदनाले भरिएको हुनु जरुरी छ। यो विजयादशमीले हामीलाई आफैमाथि विजय प्राप्त गर्ने शक्ति प्रदान गरोस्।

प्रकाशित: ४ कार्तिक २०८० ०१:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App