२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

उदयपुरका बजारमा छ्यापछ्याप्ती अखाद्य वस्तु

कटारीमा भेटिएको अखाद्य बस्तु नष्ट गर्दै। तस्विरः महेश्वर नागरिक।

सदरमुकाम गाईघाटलगायत जिल्लाका विभिन्न व्यापारिक केन्द्रहरुमा अखाद्य बस्तु तथा म्याद नाघेका चिसो पेय पदार्थ छ्यापछ्याप्ती भेटिएको छ। नजिकिएको दसैँ, तिहार, छठ र नेपाल संवत्, ल्होसारलगायत चाडपर्वलाई लक्षित गर्दै तीव्र पारिएको अनुगमन क्रममा अखाद्य बस्तु तथा पेय पदार्थ भेटिएको हो।

जिल्ला प्रशासन कार्यालयले खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय गाईघाट र स्थानीयतहसँगको सहकार्यमा चाडबाड लक्षित अनुगमन गर्ने क्रममा बग्रेल्ती अखाद्य सामग्री बेचेर मानव स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको पाइएको हो।

गत १६ देखि २५ गतेसम्म सञ्चालन गरिएको अनुगमन अभियानको क्रममा त्यस्तो कैफियत गर्ने आधादर्जन पसललाई कारबाही र नगद जरिवाना गरिएको छ भने ५ दर्जनबढी व्यवसायीलाई सचेत गराइएको छ।

अनुगमन टोली सदस्य जिल्ला प्रशासन कार्यालयका कर्मचारी उमेशमणि पोखरेलका अनुसार सदरमुकाम त्रियुगामा ६६ वटा, बेलकामा ३४, चौदण्डीगढीमा ३३ र कटारीका २४ गरी १ सय ५७ पसलमा अनुगमन गरिएको थियो।

जसमध्ये त्रियुगामा एउटा पानी उद्योग र एउटा डेरी उद्योग गरी २ वटालाई जरिवाना तिराइएको छ। कैफियत गरेको पाएपछि सदरमुकामस्थित नेपाल स्प्रीङ प्रालिलाई २० हजार जरिवाना तिराउँदै तत्काल नियमानुसार गर्न निर्देशन दिइएको छ।

त्रियुगा नगरपालिका-३ मोतिगडामा रहेको सो वाटर इन्डस्ट्रीजलाई नियमानुसार नगरेको पाइएकाले जरिवाना तिराइएको पोखरेलले बताए। मापदण्ड पुरा नगरेको तथा आवश्यक कागजपत्र नभएको भेटिएको उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ र ३९ अनुसार जरिवाना तिराइएको र कारबाहीप्रति चित्त नबुझे ७ दिनभित्र पुनरावेदन गर्न सुझाइएको छ।

टोलीले त्रिनपा-३ कै डिएमगेटस्थित दूध डेरी उद्योगलाई पनि नियमानुसार नगरेको पाइएपछि ३ हजार तिराइएको छ। मापदण्ड अनुसार सर-सफाई नगरेको हुनाले जरिवाना गराउँदै आगामी दिनमा सच्चिन निर्देशन दिइएको छ।

अनुगमनको क्रममा सबै बजारमा म्याद गुज्रेका खानेकुरा, चिसो पेय पदार्थलगायत विभिन्न खाद्यबस्तुहरु फेला परेको र त्यस्ता सामग्री जफत गरेर नष्ट गरिएको छ। टोलीले होटल, किराना पसल तथा कोल्डस्टोरहरुमा अनुगमन गर्दा बहुराष्ट्रिय कम्पनी कोकाकोला, पेप्सीकोला, ड्यु लगायत कम्पनीबाट उत्पादित चिसो पेय पदार्थहरू बग्रेल्ती मात्रामा म्याद नाघेको पाइने गरेको जनाएको छ।

त्रियुगाका २० वटा पसलहरुलाई नियम मिचेको पाइएपछि सचेत गराइएको छ भने २ वटा पसलमा फेला परेका १ लाख ४० हजार मूल्य बराबरको सामग्री जफत गरेर नष्ट गरिएको छ। त्यसैगरी कटारीका व्यवसायीबाट १० हजार जरिवाना र २ वटा पसलबाट म्याद नाघेका ८० हजार मूल्य बराबरको अखाद्य पदार्थ बरामद गरी नष्ट गरिएको छ भने ८ वटा पसललाई सचेत गराइएको टोलीले जनाएको छ।

उता बेलका नगरपालिका अन्तर्गतका बजारहरुमा गरिएको अनुगमनको क्रममा कैफियत पाइएका पसलेलाई १५ हजार जरिवाना गराइएको छ भने २ वटा पसलबाट १ लाख मूल्य बराबरको सामग्री बरामद गरी नष्ट गरिएको छ। बेलकाका १५ वटा पसललाई चेतावनी दिएर छाडिएको छ। अर्को नगरपालिका चौदण्डीगढीका बेलटार, बसाहालगायत बजारको अनुगमनको क्रममा ३ वटा पसलमा भेटिएका १ लाख ५० हजार मूल्य बराबरका अखाद्य वस्तु फेला पारेर बरामद गरी जफत गरिएको छ। चौदण्डीगढीबाट २८ हजार जरिवाना संकलन भएको टोलीले जनाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय गाईघाटका प्रमुख मेनस श्रेष्ठले सातादिन अवधिको अनुगमनबाट ७६ हजार जरिवाना संकलन भएको र ४ लाख ७० हजार बराबरको अखाद्य बस्तु बरामद गरी नष्ट गर्नुपरेको बताए।

जिल्ला अनुगमन समितिको अगुवाइमा प्रहरी, सशस्त्र, घरेलु उद्योग, त्रियुगा उद्योग वाणिज्य संघ, जिल्ला उद्योग वाणिज्य संघ, उद्योग व्यापार महासंघ र त्रियुगा नगरपालिकाका प्रतिनिधि संलग्न टोली अनुगमनमा संलग्न थियो। सदरमुकामबाहिरका व्यापारिक केन्द्रहरुमा नगरपालिका, स्थानीय प्रहरी, प्रशासन र उद्योग वाणिज्य संघको प्रतिनिधित्वमा अनुगमन गरिएको थियो।

डिभिजन प्रमुख श्रेष्ठका अनुसार अनुगमन गरिएका प्राय सबै बजारमा म्याद गुज्रेका खाद्य तथा पेय पदार्थहरू जताततै पाइएको छ। त्यससँगै स्थानीय तह, राजश्व र सम्बन्धित निकायमा दर्ता नगरिएका, दर्ता भए पनि नवीकरण गरिएका, मापदण्ड अनुसार सर-सफाई नगरिएका, उत्पादनमा लेबल नटाँसेकाजस्ता कैफियतहरु पाइएको श्रेष्ठले बताए।

प्रकाशित: २६ आश्विन २०८० १३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App