२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

कुवेतमा हजार नेपाली अलपत्र

बिदेसिनेको व्यथा

काम नपाएर कुवेतमा अलपत्र परेका नेपाली युवा । तस्बिर सौजन्य ः कुलबहादुर राई

वैदेशिक रोजगारीका लागि कुवेत पुगेका करिब एक हजार नेपाली युवा अलपत्र परेका छन्। ११ महिनाअघि कुवेतस्थित ‘द ब्लु सी ट्रेडिङ को डब्लुएलएल’ कम्पनीमा क्लिनर पदमा काम गर्न गएका युवा अलपत्र परेका हुन्।  

विभिन्न म्यानपावर कम्पनीद्वारा कुवेत पुगेका उनीहरूले अहिले आफूहरू घर न घाटको भएको बताएका छन्। कामविहीन र तलबविहीन भएकाले उनीहरू समस्यामा परेका हुन्। कामविहीन भएर कुवेतमा अलपत्र उनीहरूले आफूलाई स्वदेश फर्काउन पहल गरिदिन सरकार र विभिन्न संघसंस्थासँग माग गरिरहेका छन्।

पीडितहरूले काठमाडौंस्थित वैभव ओभरसिज प्रालि, ओमेगा ओभरसिज, जलजला ओभरसिज, न्यु एस बी ओभरसिज, गुरुङ म्यानेजमेन्ट ओभरसिज प्रालिमार्फत कुवेत पुगेको बताएका छन्।  

वैदेशिक रोजगारीका लागि बिदेसिने नेपाली युवाको दिनहुँ विमानस्थलमा लर्को लाग्छ। कमाउन बिदेसिने सबै सफल हुन्छन् भन्ने छैन। कतिपय म्यानपावर कम्पनीको गैरजिम्मेवारीका कारण विदेश गएका युवा समस्यामा पर्छन्। नागरिकको सम्पर्कमा आएका कुवेतमा अलपत्र एक युवकका अनुसार उनीहरू मासिक ८५ केडी तलब कमाइ हुने भन्दै म्यानपावर कम्पनी र एजेन्टलाई १ लाख ६० हजारदेखि २ लाख रूपैयाँसम्म बुझाएर त्यहाँ गएका हुन्। म्यानपावर कम्पनीहरूले कुवेतको राम्रो कम्पनी भनेर पठाए पनि मासिक १५÷२० हजार कमाउनसमेत हम्मेहम्मे परेको पीडितले बताए। काम पाएको बेलामा मासिक १२ देखि १८ हजार रूपैयाँसम्म मात्र कमाएको तर पछि त्यही काम पनि नपाएको पीडित कुलबहादुर राईले बताए।

उनका अनुसार म्यानपावर कम्पनीले १२ घण्टा काम गरे १ सय २० केडी र १६ घण्टा काम गरे १ सय ५० केडी कमाइ हुने र अतिरिक्त समय (ओभर टाइम) पनि गर्न पाइने प्रलोभनमा कुवेत पठाएका थिए। ओभरटाइम त परको कुरा कामविहीन भएर बस्नुपरेको उनले बताए।  

काम नपाएर अलपत्र परेका उनीहरूलाई सातवटा शिविरमा राखिएको छ । 

‘देशमा रोजगारी छैन। कामको खोजीमा कुवेत आइयो। तर यहाँ आएर फसियो। न घर फर्कन सकिन्छ, न यहाँ काम नै पाइन्छ,’ १ लाख ६० हजार रूपैयाँ म्यानपावर कम्पनीलाई बुझाएर कुवेत पुगेका राईले भने, ‘कमाउन विदेश आएको थिएँ तर घर फर्किन पनि पैसा छैन।’ उनी काठमाडौं तीनकुनेस्थित वैभव म्यानपावर कम्पनीलाई पैसा बुझाएर कुवेत पुगेका हुन्। आफूलाई कुवेत पठाउने कम्पनीमा फोन गर्दा पनि काम नपाएको उनले बताए। उनले भने, ‘वैभव म्यानपावरलाई फोन गर्दा काम पाइन्छ भन्छ तर यहाँ कामविहीन भएको डेढ-दुई महिनाभन्दा बढी भइसक्यो। कम्पनीले खाना खानसमेत पैसा दिँदैन। सक्ने कतिपय घरबाट पैसा मगाएर फर्किए। एक हजारजति हामी यहाँ अलपत्र छौं।’ उनले कुवेतमा कामविहीन भएर समस्यामा परेका करिब एक सयजना नेपाली आफ्नै प्रयासमा घर फर्किसकेको बताए।  

पीडितले जतिसक्दो छिटो उद्धारका लागि नेपाल सरकारसँग अपिल गरेका छन्। ‘यहाँस्थित नेपाली दूतावास जिम्मेवार कुरा गर्दैन। दूतावास पनि रोजगार दिने भनेको कम्पनी र म्यानपावर कम्पनीको पक्षमा छ जस्तो लाग्छ,’ पीडितहरूको गुनासो छ। कुवेतस्थित नेपाली दूतावासमा जानकारी गराउँदा उसले रोजगारदाता कम्पनीको कन्ट्रयाक्ट टुटेर समस्या भएकाले नेपाल फर्किन सुझाव दिएको तर समस्यामा पार्ने कम्पनीसँग वार्ताका लागि कुनै पहल नगरेको गुनासो एक पीडितको छ। काम नपाएर अलपत्र परेका युवाले आफूलाई सातवटा शिविरमा राखिएको बताएका छन्।  

कामविहीन भएर समस्यामा पर्नेमा खोटाङ, सुनसरी, दाङ, सल्यान, रोल्पा, रुकुम, चितवन, काठमाडौं, जाजरकोट, मुगु, कञ्चनपुर, दार्चुला, बैतडी, स्याङ्जा, संखुवासभालगायत जिल्लाका युवा छन्। अलपत्र पर्नेमा क्षेत्रबहादुर भण्डारी, रविन ओली, विनोद सार्की, किसन पुरी, कृष्ण जैसी, मेघेन्द्र परियार, दीपक बोहोरा, सुरेश बोहोरा, प्रेमबहादुर नेपाली, रामहरि थारू, लोकबहादु राना, लक्ष्मण सुनार, रमित खड्का, रूपलाल घर्ती, दिलबहादुर थारु, राजेन्द्र यादवी, एमडी नौसद खान, दिलीपकुमार ओली, गणेश साउद, सरोज अहमद खान, सन्तोषकुमार श्रेष्ठ, धमेन्द्र मल्ल, सागर कुश्वार, विजेन्द्रध्वज पाख्रिन, समिर तामाङ, मनोज ठाकुर, हीराबहादुर महरा, तेजबहादुर डाँगी, रितबहादुर विश्वकर्मालगायत छन्।

प्रकाशित: २२ भाद्र २०८० ००:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App