२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ओशो वर्ल्ड कन्सल्टेन्सीको ठगी धन्दा: लाखौं कुम्ल्याएर सञ्चालक फरार

माल्टा, साइबेरिया, रोमानिया, पोल्याण्ड, कोरिया लगायतका देशमा रोजगारी दिलाउने भन्दै ओशो वर्ल्ड कन्सल्टेन्सीले ७० जनाभन्दा धेरै व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको खुलेको छ।

बिर्तामोडमा रहेको सो कन्सल्टेन्सीले प्रतिव्यक्ति ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म ठगी गरेको र कन्सल्टेन्सी सञ्चालक फरार रहेको पीडितले बताएका छन्। शिवसताक्षी नगरपाालिकास्थित माइधार घर भएका पदम योङ्हाङसहित लक्ष्मीप्रसाद बराल (अञ्जान), धर्म तिम्सिना र अर्जुनधाराका लक्ष्मण घिमिरेले ७० जनाभन्दा बढी व्यक्तिबाट लाखौं रुपैयाँ ठगी गरेको अर्जुनधारा-६ निवासी चन्दा अधिकारीले बताए।

श्रीमान् दीपक अधिकारीलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै लक्ष्मण घिमिरे र लक्ष्मीप्रसाद बराल (अञ्जान) ले आफूहरूसँग तीन लाख रुपैयाँ ठगी गरेको अधिकारीले बताए।

गत वर्ष भदौ ३० गते आफ्ना श्रीमानलाई माल्टा पठाउने भन्दै घिमिरेले आफूहरूसँग राहदानीसहित एक लाख, चार महिनापछि पुसमा पुनः एक लाख त्यस्तै मेडिकल तथा प्रहरी रिपोर्टका लागि नौ हजार छ सय र चैत ३ गते वर्क पर्मिटका लागि भन्दै पुनः एक लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको अधिकारीले बताए।

रकम लिएको तीन महिनामा माल्टा उडाउँछु भन्ने घिमिरेले पछि आफूले माल्टा पठाउन नसकेको र काठमाडौंमा रहेका सरसँग कुरा गर्नु भन्दै अञ्जानसँग सम्पर्क गराएको पीडित अधिकारीले बताए।

उनले भने, ‘काठमाडौंबाट सर आउनुभएको छ भन्दै घिमिरेले पुस ४ गते अञ्जानसँग भेट गराएको र पुसमा पुनः दोस्रो पटक मेडिकल गराएर  फागुनको अन्तिमतिर ‘एग्रिमेन्ट पेपर’ दिंदै विश्वास दिलाएर पुनः एक लाख रुपैयाँ चैत ३ गते दिएका हौं। योसहित उनीहरूले हामीलाई ठगेको तीन लाख नौ हजार छ सय रुपैयाँ पुगेको हो।

वर्क पर्मिटका लागि तत्काल पैसा चाहिने भन्दै अञ्जानले आफूहरूसँग रकम मागेबमोजिमको एक लाख रुपैयाँ रकम प्रदान गरेको र राहदानीको मिति समेत सकिन लागेकाले नयाँ राहदानी बनाएको अधिकारीको भनाइ छ।

‘सन् २०२४ मा श्रीमानको राहदानीको मिति सकिंदै थियो’, अधिकारीले भने, ‘हतारहतार गर्दै नयाँ राहदानी बनाएर अञ्जानलाई जिम्मा लगायौं। राहदानी लगेसँगै अञ्जान बेपत्ता बने। हामी अहिले ऋणले घरको न घाटको भएका छौं। सयकडा तीन रुपैयाँ ब्याजले पैसा खोजेको थियो। अहिले दिनहुँ साहु घरमै आएर पैसा माग्छन्। न साँवा तिर्न सकियो न ब्याज तिर्न सकियो। हाम्रो त उठिबास नै लाग्यो।’

‘घिमिरे र बरालले आफूहरूलाई ठगी गर्दै उठिबास लगाएसँगै न्यायको खोजीमा पटकपटक जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी धायौं’, अधिकारीले भने, ‘हाम्रो आवाज कसैले सुनेन अनि मिडिया गुहारेका हौं। हामीलाई अन्याय भएको लेखिदिनुपर्‍यो।’

‘श्रीमानलाई विदेश पठाएसँगै जीविकोपार्जनमा सहज हुने कत्रो सपना थियो’, अधिकारीले गहभरि आँसु पार्दै भने, ‘अहिले ठगले हामीलाई घरको न घाटको बनाए।’

अधिकारीसँगै ठगिनेमध्येका शिवसताक्षी-१० का दीपककुमार कोइरालाको पनि व्यथा उस्तै छ। रोमानिया जाने सुन्दर सपना बोकेर ७० हजार रुपैयाँसहित कोइरालाले पनि राहदानी धर्म तिम्सिनालाई थमाए। तिम्सिनाले पनि कोइरालालाई ‘हेड अफिस’को सर भन्दै उनै अञ्जान बरालसँग जोडाएका थिए।

युरोपको काम हेर्न अञ्जान भएको र आफूले खाडी र मलेसियाको मात्रै काम हेर्ने भए पनि ‘हामी दुवैले सहकार्य गरेर अफिस चलाएकाले तपाईंको रकम फस्दैन’ भन्दै सुरुमा राहदानीसहित ५० हजार रुपैयाँ  लिएको र पछि वर्क पर्मिटका लागि दुई सय यूरो पठाउनुपर्छ भन्दै २० हजार रुपैयाँ लिएको कोइरालाको भनाइ छ।

‘हाम्रो एउटै गाउँ हो डराउनु पर्दैन, पहिला मेरो खगोल मेनपावर थियो अहिले युरोपको पनि काम हेर्न गरी यो मेनपावर चलाएका हौं’ तिम्सिनाको भनाइ उद्धृत गर्दै कोइरालाले भने, ‘तपाईंको वर्क पर्मिट साउन १५ गते आइसक्छ। भदौको पहिलो हप्ता दिल्ली जानुपर्छ तयारी अवस्थामा बस्नू।’

कोइरालाका अनुसार उनी अहिले एकाएक बेपत्ता बने। उनले भनेको वर्क पर्मिट पनि नक्कली परेछ। घरमा जाँदा उनी भेटिंदैनन्। अफिस पनि महिनौंदेखि बन्द गरेर उनी फरार भएका छन्।

यता कनकाई नगरपालिका-३ का अमित काफ्लेको पनि रोमानिया जाने योजना सपनामा परिणत भएको छ। उनलाई पनि सोही गिरोहले ठगी गरेको बताइएको छ। आफूले पनि अञ्जान बराललाई राहदानीसहित ५० हजार रुपैयाँ  बुझाएको तर अहिले उनी एक वर्षदेखि सम्पर्कविहीन भएको काफ्लेको भनाइ छ।

आफ्नै गाउँका भाइ सुसान भट्टराईमार्फत बरालसँग सम्पर्क भएको र बराललाई आफूले एनआइसी एसिया बैंकमार्फत रकम प्रदान गरेको काफ्लेको भनाइ छ।

‘रोमानियाको हम्बोर्ड भन्ने कम्पनीबाट अफर लेटर आएको भन्दै सुरुमा मलाई त्यो लेटर देखाएर अलमल्याइयो। पछि बुझ्दा त्यो नाम गरेको कम्पनी नै रोमानियामा रहेनछ’, उनले भने। रोमानियामा रहेका आफ्ना साथीलाई आफर लेटर पठाएर त्यो कम्पनीको विषयमा बुझ्न लगाउँदा अफर लेटरको लोकेसनमा कम्पनी नै नरहेको काफ्लेको दाबी छ।

‘उनीहरूले दिएको मसँग वर्क पर्मिट पनि छ तर, त्यो वर्क पर्मिट पनि नक्कली छ’, काफ्लेले भने, ‘हम्बोर्ड कम्पनी देखाएर मलाई जीएमडी इन्डस्ट्रीको वर्क पर्मिट दिइएको छ। वर्क पर्मिटमा भएको त्यसको दर्ता नम्बर कोड गुगलले अर्कै कम्पनीको नाम अस्तर भन्ने देखाउँछ। त्यस आधारमा पनि म ठगिएँछु भन्ने लागेर एजेन्ट र मेनपावर कम्पनी पुग्दा उनीहरू मेनपावर बन्द गरेर फरार भइसकेछन्।’

वैदेशिक रोजगारीमा जाने सुन्दर सपना सजाएर रकम बुझाएकामध्ये अधिकारी, कोइराला र काफ्ले प्रतिनिधि मात्रै हुन्। उनीहरू जस्ता धेरैलाई माल्टा, साइबेरिया, रोमानिया, पोल्याण्ड, कोरिया लगायतका देशमा रोजगारी दिलाउने भन्दै ओशो वर्ल्ड कन्सल्टेन्सीका सञ्चालकले ठगी गरेको पीडितले आरोप लगाएका छन्।

ओशो वर्ल्ड कन्सल्टेन्सीका नाममा लक्ष्मीप्रसाद बराल (अञ्जान) पदम योङहाङ, धर्म तिम्सिना र लक्ष्मण घिमिरेको गिरोहले आफूहरूबाट लाखौं रुपैयाँ ठगेको पीडितहरूले बताएका छन्। उनीहरूबाट ठगिनेमा कनकाई नगरपालिका-३ निवासी सविना कोइराला भट्टराई (रोमानिया- एक लाख रुपैयाँ), कनकाई-३ कै सुभद्रा न्यौपाने कोइराला (रोमानिया-५० हजार रुपैयाँ), कनकाई नगरपालिका-३ कै चिरञ्जीवी महत्तो (माल्टा-एक लाख रुपैयाँ), बिर्तामोड नगरपालिका-४ का विनोद उप्रेती (माल्टा-एक लाख रुपैयाँ), बुद्धशान्ति गाउँपालिका-५ का गोविन्द ढुङ्गाना (माल्टा-एक लाख रुपैयाँ), मेची नगरपालिका-९ का ओम प्रकाश भण्डारी (माल्टा-एक लाख,रुपैयाँ), बुद्धशान्ति गाउँपालिका निवाासी योगेश कोइराला (माल्टा-एक लाख रुपैयाँ ), बिर्तामोड नगरपालिका-४ का विकास उप्रेती (रोमानिया-७० हजार रुपैयाँ), शिवसताक्षी नगरपालिका-१० का दीपककुमार कोइराला (रोमानिया-७० हजार रुपैयाँ ) सहित राहदानी लगेको बताइएको छ।

त्यस्तै ठगीमा पर्नेमध्ये अर्जुनधाराका रोमन सापकोटा (रोमानिया-५० हजार रुपैयाँ ), शिवसताक्षी-१० का गङ्गाप्रसाद पराजुली (रोमनिया-७० हजार रुपैयाँ) कनकाई-४ का दुर्गाप्रसाद कोइराला (रोमानिया-७० हजार रुपैयाँ ), बुद्धशान्ति-२ का लक्ष्मीप्रसाद नेपाल (रोमानिया-दुई लाख रुपैयाँ), कनकाई नगरपालिका-३ का किरण कुमाल (रोमानिया-५० हजार रुपैयाँ), कनकाई-३ का अशोक थापा (रोमानिया-३० हजार रुपैयाँ), कनकाई-३ का  डिकबहादुर भुजेल (रोमानिया-५० हजार रुपैयाँ) सहित ७० जनाभन्दा धेरैको राहदानीसहित लाखौँ रुपैयाँ लिएर बेपत्ता बनेको पत्रकार भेटघाटमा जानकारी दिइयो।

ठगी आरोप लागेका चारै जना अहिले सम्पर्कमा नरहेको पीडितकोे भनाइ छ। यो समाचार तयार गर्ने क्रममा उनीहरूले प्रयोग गर्दै आएको मोबाइल नम्बरमा सम्पर्क गर्दा उनीहरूको मोबाइल स्वीच अफ रहेको पाइएको छ।

प्रकाशित: ६ भाद्र २०८० १३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App