२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

विपदबाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु

फाइल तस्वीर

गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन्। गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरो लगायत मनसुनजन्य विपद्मा परेर ४१ जनाले ज्यान गुमाएका छन्। एकतीस जना बेपत्ता छन्।

ती जिल्लामा विपदबाट ५५ जना घाइते भएका गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख, सहसचिव महादेव पन्थले बताए।

उनका अनुसार विपद्का घटना भएका ५० जिल्लामध्ये २० जिल्लामा भने मानवीय क्षति भएको छ। ती जिल्लामा ४१ जनाले ज्यान गुमाएका हुन्।

यस्तै बेपत्ता हुनेहरू छ जिल्लाका छन्। संखुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरी जिल्लाका ३१ जना बेपत्ता भएका सहसचिव पन्थले बताए। अठ्ठाइस जिल्लाका ५५ जना घाइते भएका छन्।

विपदमा परेर कूल एक सय ३० घर पूर्ण रूपमा क्षति भएका छन् भने एक सय ९३ घरमा आंशिक क्षति पुगेको छ। मनसुन सुरु भएकै बेलामा पूर्वी नेपालको पाँचथर, सङ्खुवासभा ताप्लेजुङ लगायत जिल्लामा भारी वर्षाका कारण ठूलो धनजनको क्षति भएको थियो।

मनसुनका अवधिमा मुलुकभर कम पानी पर्ने आकलनका बीच बेलाबेलामा परेको भारी वर्षाले विभिन्न जिल्लामा बाढी र पहिराका घटना निम्त्याइरहेको छ। यद्यपि कतिपय जिल्लामा अझै वर्षा हुन सकेको छैन।  

प्रकाशित: २५ श्रावण २०८० ०४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App