३ असार २०८१ सोमबार
image/svg+xml
समाज

आँखा पाक्ने रोगको प्रकोप बढेपछि पोखराका स्कुल तीनदिन बन्द

पोखरा–५, र्पस्याङस्थित समता शिक्षा निकेतनमा विहानी प्रार्थना गर्दै विद्यार्थी। तस्बिरः नागरिक

आँखा पाक्ने रोगको प्रकोप बढेपछि पोखराका विद्यालय तीनदिन बन्द हुने भएका छन्। आँखा पाक्ने रोगको प्रकोपले विद्यार्थीलाई सताएपछि पोखरा महानगरपालिकाले महानगर भित्रका सबै विद्यालय तीनदिन बन्द गर्ने निर्णय गरेको हो।

पोखरामा आँखा पाक्ने रोगको संक्रमण ह्वात्तै बढेपछि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको आह्वानमा सोमबार सरोकारवालाको बैठक बसेको थियो। सो बैठकले आँखा पाक्ने रोगको संक्रमणको चक्रलाई रोक्नका लागि बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले जारी गरेको सूचनामा उल्लेख छ। विज्ञप्तीमा आगामी तीनदिन सामुदायिक विद्यालय, संस्थागत विद्यालय र मन्टेश्वरी सबै बन्द गर्न आह्वान गरिएको छ।

अहिले दिइएको बिदा वर्षे तथा हिउँदे बिदाबाट कट्टी गर्नेगरी विद्यालय बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए। महानगरको निर्णयसँगै विद्यालयहरुले बुधबारदेखि विद्यालय बन्द हुने सूचना विद्यार्थी तथा अभिभावकहरुलाई गराएका छन्। आँखा पाक्ने रोगको संक्रमण रोक्न महानगरले गरेको निर्णय अनुसार विद्यालय बन्द गर्ने निर्णय गरिएको विद्यालयहरुले जारी गरेको सूचनामा उल्लेख छ। पोखरामा सामुदायिक विद्यालय १ सय ७५, संस्थागत विद्यालय १ सय ५३ र ६५ वटा मन्टेश्वरी रहेको महाशाखा प्रमुख आचार्यले जानकारी दिए।

यसअघि हिमालय आँखा अस्पतालले सोमबार पत्रकार सम्मेलन गरेर पोखरामा पछिल्लो हप्ता आँखा पाक्ने रोगको संक्रमण ह्वात्तै बढेको भन्दै विद्यालय बन्द गर्न सुझाव दिएको थियो। अस्पतालका अनुसार पछिल्लो एक हप्तामा आँखा पाक्ने रोगको उपचारका लागि अस्पतालमा १ हजार ५ सय ७३ जना आएका छन्। यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट ईलीया श्रेष्ठले बताईन्। उनका अनुसार आँखा पाक्ने रोग लाग्दा आँखा रातो हुने, चिलाउने, पाक्ने, पानी बग्ने, पोल्ने लगायतका लक्षण देखिन्छन्।  

प्रकाशित: २३ श्रावण २०८० ०९:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App