८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

आधा शताब्दी पुग्न लाग्दा पनि अधुरै

पोखरा बसपार्क

झन्डै आधा शताब्दी पुग्न लाग्दा पनि पोखरा बसपार्क बनाउने पोखरेलीको सपना पूरा भएको छैन। आजभन्दा ४८ वर्षअघि (२०३२ साल फागुन) बसपार्क बनाउन भनेर जग्गा अतिक्रमण गरिएको थियो। पूर्वमा सेती नदी, पश्चिममा सिद्धार्थ राजमार्ग, दक्षिणमा एयरपोर्टको तारबार र उत्तरमा पृथ्वी राजमार्गभित्रको जग्गामा बसपार्क बनाउन भनेर अधिग्रहण गरिएको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको थियो।  

यसबिच बसपार्क बनाउन पटक-पटक विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बने। ती सबै प्रतिवेदन कार्यालयको दराजमा थन्कियो तर बसपार्क भने बनेन। बरु बसपार्कको भूमि भने अतिक्रमणको चपेटामा प¥यो। सोही कारण बसपार्क बनाउन भनेर छुट्याइएको २०५ रोपनी क्षेत्रफल घटेर अहिले ८१ रोपनीमा खुम्चिएको छ। यो क्षेत्र पनि हडप्दा बसपार्क बनाउनकै लागि भनेर राखिएको खुला क्षेत्र २५ रोपनीमा सीमित हुन पुगेको छ।

पोखरा बसपार्कको जग्गा पोखरा उपत्यका नगरविकास समितिको स्वामित्वमा छ। फरक अस्तित्वको उपत्यका नगर विकास समिति अहिले पोखरा महानगरपालिकाका मेयरकै नेतृत्वमा छ। बसपार्क बनाउन हरेक वर्ष न्यून भए पनि बजेट विनियोजन हुन्छ। तर छुट्टिएको बजेटले बसपार्क निर्माणका लागि भनेर सिन्को पनि भाँचिएको छैन। बरु चालु वर्षमा बसपार्क हिलाम्मे र धुलाम्मे भयो भन्दै अस्थायी ढलान गरियो। जसले स्थानीयलाई केही राहत त दियो तर त्यसरी अस्थायी ढलान गरेपछि स्थायी बसपार्क बन्ने सम्भावना भने कमजोर बन्दै गएको छ। उसो त गण्डकी प्रदेश सरकारले पनि पोखरामा बसपार्क बनाउने कुरालाई कागजमा भए पनि सधैं जोड दिने गरेको छ। प्रदेशले खास गरेर पोखरा–३२ लामे आहालमा प्रदेशस्तरीय बसपार्क र पोखरा–९ पृथ्वीचोकमा नगर टर्मिनल बसपार्क बनाउने भन्दै बजेट बर्सेनी छुट्याउने गरेको छ। सो बजेट सधैं खर्च नभई फ्रिज हुने गरेको छ।

बसपार्क निर्माण नहुनुमा राजनीतिक दलहरूको पनि धेरथोर भूमिका छ। किनकि बसपार्क बन्दा जग्गा अतिक्रमण गरेर बसेका केही सुकुम्बासी हटाउनुपर्ने हुन्छ। तिनीहरूलाई उठाउँदा वर्षौंदेखिको भोट बैंक भत्किने त्रास दलहरूमा छ। यसमा प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै अघि छन्।

बसपार्क बजेटको अभावमा नबनेको होइन। किनभने बसपार्क बनाउन महानगरले हरेक वर्ष बजेट छुट्याउँछ। उसो त बसपार्क बनाउन दशक अघिदेखि नै ७ करोड बढी रकम छुट्याएर बैंकमा डिपोजिट छ। अहिलेसम्म त्यसको ब्याज बढेर झन्डै १० करोड पुगेको छ। त्यसैले सामान्य चासो र सुझबुझ भएका स्थानीय भन्छन्, ‘बसपार्क पैसो नभएर होइन इच्छाशक्ति नभएर नबनेको हो।’ यसमा राजनीतिक दलहरूको पनि धेरथोर योगदान छ। किनकि बसपार्क बन्दा जग्गा अतिक्रमण गरेर बसेका केही सुकुम्बासी हटाउनुपर्ने हुन्छ। जुन उठाउँदा वर्षौंदेखिको भोट बैंक भत्किने त्रास दलहरूमा छ। यसमा प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै अघि छन्।

यतिबेला भने फेरि बसपार्क बनाउनुपर्ने आवाज उठ्न थालेको छ। यातायात व्यवसायीका नेता भानुभक्त बराल बसपार्क चाँडो बनाउनुपर्ने बताउँछन्। नेतृत्वमा इच्छाशक्ति नहुँदा जग्गा र पैसो भएर पनि बसपार्क नबनेको भन्दै उनले भने, ‘बसपार्कले अभिभावक पाएको छैन।’

पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष बालकृष्ण निउरे कुनै पनि सर्तमा बसपार्क बन्नुपर्ने बताउँछन्। पुरानै क्षेत्रफलमा बनाउन सम्भव नभए अहिले बाँकी रहेको क्षेत्रफलमा मात्रै भए पनि बसपार्क बनाउनुपर्ने बताउँदै उनले भने, ‘बसपार्क कुनै पनि हालतमा बन्नुपर्छ। बरु बहुतले भवन बनाऔं।’ पृथ्वीचोकमा बसपार्क नबन्ने हो भने पर्यटनमा नराम्ररी धक्का लाग्ने उनले चेतावनी बताए। सामुदायिक सेवा तथा प्रहरी सेवा केन्द्र कास्कीका कार्यवाहक अध्यक्ष कमलबहादुर श्रेष्ठ महानगरमा बसपार्क नहुनु विडम्बना भएको बताउँछन्। ‘पोखराको लाइफलाइन हो बसपार्क,’ उनले भने, ‘बसपार्क रहे यहाँको पर्यटन व्यवसाय रहन्छ नत्र व्यवसाय पनि धरापमा पर्ने निश्चित छ।’

पोखरा महानगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानी भने बसपार्क चाँडै बन्ने दाबी गर्छन्। ‘बसपार्क बन्छ र बन्नुपर्छ, उनले थपे, ‘महानगरले बनाउन सुरु गरेन भने आन्दोलन गरौं।’ उनले बसपार्क पोखराको सान भएको बताए। जसरी फेवाताल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराको सान हो त्यस्तै बसपार्क पनि भएको उनको भनाइ छ ।

डिपिआर देखाएर बसपार्क बन्न रोक्न नहुने उनले बताए। ‘कतिवटा डिपिआर बनाउने? प्रश्न गर्दै उनले

भने, ‘अब पनि विभिन्न बहाना बनाउने, बजेट नहाल्ने गरियो भने श्रमदान गरेर भए पनि बनाउँछौं।’वडाध्यक्ष मर्सानीले एयरपोर्ट बनाउन दबाब दिन रिले अनसन र थाल ठटाएजस्तै बसपार्क बनाउन पनि त्यस्तै केही गर्नुपर्नेमा उनले जोड दिए। ‘अबदेखि मेयरलाई जहाँ भेट्यो, त्यहीँ मेयरसाब ! हाम्रो बसपार्क कहिले बन्छ? भनेर प्रश्न गरौं,’ उनले भने।

बसपार्क पोखराको लाइफलाइन भएकाले यसले समृद्धिमा पनि सघाउने उनले बताए। ‘फेवाताल हेर्न पर्यटक जान्छन् भने बसपार्क हेर्न पनि आउँछन् तर हेर्न लायक बसपार्क त बनाउनु प¥यो नि !’ उनले भने।

प्रकाशित: २३ असार २०८० ०१:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App