४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पोखरा बसपार्कः श्रमदान गरेर भएपनि बसपार्क बनाऔं

झण्डै आधा शताब्दी पुग्दा पनि पोखरा बसपार्क बनाउने पोखरेलीको सपना पूरा भएको छैन। १८ फागुन २०३२ सालमा बसपार्क बनाउन भनेर जग्गा अतिक्रमण गरिएको थियो।  

सेती नदी, सिद्धार्थ राजमार्ग, एयरपोर्टको तारबार र पृथ्वी राजमार्ग भित्रको जग्गामा बसपार्क बनाउने भनेर अधिग्रहण गरिएको जग्गा नेपाल राजपत्रमा सूचना प्रकाशित गरिएको थियो। यस बीचमा बसपार्क बनाउन पटक पटक विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) बने। तर, सबै प्रतिवेदन कार्यालयको दराजमा थन्कियो तर बसपार्क भने बनेन।

बरु, बसपार्कको भूमि भने अतिक्रमणको चपेटामा पर्‍यो। सोही कारण बसपार्क बनाउन भनेर छुट्याइएको २०५ रोपनी क्षेत्रफल घटेर अहिले ८१ रोपनीमा खुम्चिएको छ। पोखरा बसपार्कको जग्गा पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा छ। फरक अस्तित्वको उपत्यका नगर विकास समिति अहिले पोखरा महानगरपालिकाका मेयरकै नेतृत्वमा छ।

बसपार्क बनाउन हरेक वर्ष न्यून भए पनि बजेट विनियोजन हुन्छ। तर, छुट्टिएको बजेटले बसपार्क निर्माणका लागि भनेर सिन्को पनि भाँचिएको छैन। बरु चालु वर्षमा बसपार्क हिलाम्मे र धुलाम्मे भयो भन्दै अस्थायी ढलान गरियो। जसले स्थानीयलाई केही राहत त दियो तर त्यसरी अस्थायी ढलान गरेपछि स्थायी बसपार्क बन्ने सम्भावना भने कमजोर बन्दै गएको आभास हुन्छ।

त्यसो त गण्डकी प्रदेश सरकारले पनि पोखरामा बसपार्क बनाउने कुरालाई कागजमा भए पनि सधैँ जोड दिने गरेको छ। प्रदेशले खास गरेर पोखरा–३२ लामेआहालमा प्रदेशस्तरीय बसपार्क र पोखरा–९ पृथ्वी चोकमा नगर टर्मिनल बसपार्क बनाउने भन्दै बजेट वर्षेनी छुट्याउने गरेको छ। तर, सो बजेट सँधै खर्च नभई फ्रिज भएर फर्किन्छ।  

बसपार्क बजेटको अभावमा नबनेको भने होइन। किनकि बसपार्क बनाउन महानगरले हरेक वर्ष बजेट छुट्याउँछ। उसो त बसपार्क बनाउनका लागि दशक अघिदेखि नै झण्डै १० करोड रुपैयाँ छुट्याएर बैंकमा डिपोजिट छ। त्यसैले स्थानीय भन्छन्, ‘बसपार्क ईच्छाशक्ति नभएर नबनेको हो, बजेट नभएर होइन।’ बसपार्क नबन्नुमा राजनीतिक दलहरुको पनि धेरथोर योगदान रहेको पोखरेलीको गुनासो छ। किनकि बसपार्क बन्दा जग्गा अतिक्रमण गरेर बसेका केही सुकुम्वासी हटाउनुपर्ने हुन्छ। जुन उठाउँदा वर्षौंदेखिको भोट बैंक भत्किने दलहरुमा त्रास छ। यसमा प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै अघि छन्।  

तर यति बेला भने फेरी बसपार्क बनाउनुपर्ने आवाज उठ्न थालेको छ। यातायात व्यवसायीका नेता भानुभक्त बराल बसपार्क चाँडो बनाउनुपर्ने बताउँछन्। नेतृत्वमा ईच्छाशक्ति नहुँदा जग्गा र पैसा भएर पनि बसपार्क नबनेको भन्दै उनले भने, ‘बसपार्कले अभिभावक पाएको छैन।’ 

पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष बालकृष्ण निउरे कुनै पनि सर्तमा बसपार्क बन्नुपर्ने बताउँछन्। पुरानै क्षेत्रफलमा बनाउन सम्भव नभए अहिले बाँकी रहेको क्षेत्रफलमा मात्रै भए पनि बसपार्क बनाउनुपर्ने बताउँदै उनले भने, ‘बसपार्क कुनै पनि हालतमा बन्नुपर्छ। बरु बहुतले भवन बनाऔं।’ पृथ्वी चोकमा बसपार्क नबन्ने हो भने पर्यटनमा नराम्ररी धक्का लाग्ने उनले बताए।  

सामुदायिक सेवा तथा प्रहरी सेवा केन्द्र कास्कीका कार्यवाहक अध्यक्ष कमलबहादुर श्रेष्ठ महानगरमा बसपार्क नहुनु विडम्बना भएको बताउँछन्। ‘पोखराको लाइफलाइन हो बसपार्क,’ उनले भने, ‘बसपार्क रहे यहाँका पर्यटन व्यवसाय रहन्छ नत्र व्यवसाय पनि धरापमा पर्ने हो।’  

पोखरा महानगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी भने बसपार्क चाँडै बन्ने दाबी गर्छन्। ‘बसपार्क बन्छ र बन्नुपर्छ,’ उनले भने, ‘महानगरले बनाउन सुरु गरेन भने आन्दोलन गरौँ।’ उनले बसपार्क पोखराको शान भएको बताए। जसरी फेवाताल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराको शान हो त्यस्तै बसपार्क पनि भएको उनको भनाई छ।  

डिपीआरलाई देखाएर बसपार्क बन्न रोक्न नहुने उनले बताए। कति वटा डिपीआर बनाउने ? उनले प्रश्न गर्दै भने, ‘अब पनि विभिन्न बहाना बनाउने, बजेट नहाल्ने गरियो भने श्रमदान गरेर भए पनि बनाउँछौँ।’ वडाध्यक्ष मर्सानीले एयरपोर्ट बनाउनका लागि दबाब दिन रिले अनसन र थाल ठटाएजस्तै बसपार्क बनाउन पनि त्यस्तै गर्नुपर्नेमा उनले जोड दिए। उनले भने, ‘अबदेखि मेयरलाई जहाँ भेट्यो त्यहीँ मेयरसाब! हाम्रो बसपार्क कहिले बन्छ? भनेर प्रश्न गरौँ।’  

बसपार्क पोखराको लाइफलाइन भएकाले यसले समृद्धिमा पनि सघाउने उनले बताए। ‘फेवाताल हेर्न पर्यटक जान्छ भने बसपार्क हेर्न पनि आउँछन्। तर, हेर्न लायक बसपार्क त बनाउनु पर्‍यो नि!’ उनले भने।

प्रकाशित: २० असार २०८० १०:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App