२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

कालीमार्सी धान फल्ने तिर्खु ज्युलोमा मकै रोप्नु किसानकाे 'रहर होइन, बाध्यता'

पातारासी-४ मा अवस्थित तिर्खु ज्युलाे। तस्बिरः गोल्डेन बुढा/ जुम्ला ।

पातारासी गाउँपालिका–४ तिर्खु ज्युलोमा धान फल्ने फाँटभरी मकै खेती गरिएको छ। कुनै बेला कालीमार्सी धान रोपिने तिर्खु ज्युलोमा अहिले मकै नै मकै खेती गरिएको देखिन्छ। धान खेतीमा मेहनत बढी लाग्ने र सोही अनुसार उत्पादन नहुने भएकाले किसान मकै खेतीमा आकर्षित भएका हुन्। विश्वकै अग्लो स्थानमा कालीमार्सी धान फल्ने छुमचौर ज्युलो जुम्लाको पातारासी गाउँपालिका-३ मै पर्छ। अहिले यहाँ मार्सी धान लोप भइसकेको छ।  स्थानीयहरु बजारको सेतो चामल किने खान्छन्। धान लगाउने खेतमा मकै रोप्छन्। धान रोप्दा लगानी अनुसार उत्पादन नभएपछि मकै बालीमा लागेको किसान बताउँछन्।  

पहिले तिर्खु ज्युलोमा स्थानीय कालीमार्सीका बाला लटरम्म झुलेका देखिन्थे केही वर्ष पहिले देखि जौ, गहुँ र मकै बाली खेती गरिएको छ। तिर्खु गाउँका २ सय सय घरधुरीले रोप्ने उक्त ज्युलो अहिले मकैबारीमा परिणत भएको छ। धानखेतलाई चाहिने सिचाइँ कुलो पुरिएका छन्। स्थानीय हर्कबहादुर बोहोराका अनुसार धान फल्ने ज्युलोमा मकै लगाउनु किसानको रहर होइन, बाध्यता हो। मार्सी धानमा विभिन्न रोगको संक्रमण देखिएपछि किसान धानखेतीमा दिक्क भएको उनले बताए। उनी भन्छन्, 'कुनै बेला धान रोपाइँको दिन बाजागाजासहित सहभागी महिलाले चुट्किला र मागल गाउँदै एकआपसमा हिलो छ्यापाछ्याप गरेर धान रोप्थे। पुरुषले हलो जोत्ने बीउ फाल्ने काम र महिलाले रोप्ने चलन थियो। अहिले मार्सीधानको एक बोट पनि देख्न कठिन छ।'

'घरमा नयाँ दुलही भित्र्याउनेका घरमा चोपाइ गर्ने र सगुन बाँडीचुँडी खाने चलन थियो। अहिले त्यो दिन सम्झनामा मात्र सिमित छ।', अर्का स्थानीय ८४  वर्षका सुक बोहोरा भन्छन्।  

तत्कालीन समयमा राजपरिवारदेखि ठूलाबडाले जुम्लाको कालीमार्सी धानको चामल खाने गरेको बताइन्छ। तिर्खु ज्युलोमा धान खेती जारी राख्न यहाँका बुद्धिजीवी र युवाले चासो देखाएका छन्। पुर्खाको अभ्यास जोगाउन पनि पुरानै धानखेती गर्नु आवश्यक रहेको युवा शिवराज बोहोरा बताउँछन्।  

यहाँका धेरै ज्युला बाँझा देखिन्छन्। केही ज्युलामा धानखेती भइरहेको छ। तर तिर्खु ज्युलोमा भने हुँदैन। सबैले यो ज्युलोबाट ५० देखि ६० बोरासम्म धान पाउने गरेको सुनाउँछन्। पातारासी गाउँपालिकाको छुमचौरलाई कालीमार्सी फल्ने ज्युलाको रुपमा चिनिन्छ। अग्लो स्थानमा धेरै परिश्रम गर्नुपर्ने घेराबारको व्यवस्था नभएको, सिँचाइ सुविधा नभएकोले धान रोप्न छाडेको स्थानीय महिलाको देबकी महताराको भनाइ छ।  

यो ज्युलोको ऐतिहासिक महत्त्वका आधारमा फेरि पनि मार्सीधान खेती गर्नुपर्ने कृषि क्षेत्रका सरोकारवाला बताउँछन्। अहिले मार्सीधान खेती योजना पातारासी गाउँपालिकाले पनि प्राथमिकताका साथ अघि सारेको गाउँपालिका अध्यक्ष पुर्णसिहं बोहोराले बताए। धान लगाउने सिजनमा यहाँका सबैजसो परिवारका सदस्य बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलन गर्न पाटनमा जाने भएकोले धान खेती हुन नसकेको हो। त्यो भन्दा ठूलो समस्या बजारमा आयातित चामलका कारण ज्युलोमा धान उत्पादन गर्न छाडेको कृषिविज्ञ बताउँछन्।  

प्रकाशित: १२ जेष्ठ २०८० ०३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App