९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

चोभारमा ३३ फिटे मञ्जुश्रीको प्रतिमा

काठमाडौं-नेपालको इतिहासअनुसार पहिले काठमाडौं उपत्यकामा तलाउ थियो । प्राचीन कालमा तिब्बतबाट आएका मञ्जुश्री नामका ऋषिले चोभारको डाँडा काटेर तलाउको पानी बाहिर पठाएपछि काठमाडौं उपत्यका बस्तीका लागि योग्य भयो, अनि यहाँ मानव सभ्यता सुरु भयो ।

त्यही चोभार डाँडामा अहिले मञ्जुश्रीको अग्लो प्रतिमा स्थापना गरिँदै छ । ढुंगा कुँदेर ३३ फिट अग्लो मूर्ति बनाइएको कलाकार चन्द्रश्याम डंगोल बताउँछन् । ‘हालसम्म २१ फिटको बूढानीलकण्ठ मूर्तिलाई सबैभन्दा अग्लो ढुंगाको मूर्तिका रुपमा चिन्दै आएका छौँ, अब नेपालमै सबैभन्दा अग्लो मञ्जुश्रीको ढुंगाको मूर्ति बनेको छ,’ कलाकार डंगोलले भने, ‘यो नेपालको मूर्तिकलाको इतिहासमा महŒवपूर्ण उपलब्धि हो । इतिहास रच्ने अवसर पाएको छु ।’

मञ्जुश्रीको मूर्ति बनाउने टोलीको नेतृत्व डंगोल आफैँले गरेका छन् । उनले मूर्ति बनाउँदा आफूले कुनै पारिश्रमिक नलिएको बताए ।

बुढानिलकण्ठको मूर्ति एउटै ढुंगाबाट बनाइएको हो भने अहिले बन्दै गरेको मञ्जुश्रीको मूर्ति १३ वटा ढुंगा जोडेर बनाइएको छ । नेपालमा ठूला ढुंगा पाउन कठिन भएकाले ढुंगा जोडेर बनाइएको डंगोको भनाइ छ । लामो अध्ययन र छलफलपछि मञ्जुश्रीको मूर्तिको आकृतिको विषयमा निष्कर्षमा पुगेको डंगोल बताउँछन्।

‘अध्ययनका क्रममा नेपाली थांका चित्रमा मञ्जुश्रीको महिला स्वरुप देखेर अलमल पनि परेँ । तर अन्ततः पुरुष स्वरुपमा नै बनाउने निष्कर्षमा पुगेँ,’ उनले भने ।

मूर्तिको मुखाकृतिका विषयमा संस्कृतिविद् र पुरातŒवविद्सँग छलफल गरिएको मूर्ति निर्माण समिति संयोजक सुजिन्द्र महर्जनले बताए ।

मञ्जुश्रीको आकृति

‘अत्यन्त सुन्दर, शान्त अनि ज्ञानले प्रदीप्त बोधिसत्वको रुप मानिन्छ मञ्जुश्रीलाई,’ पुरातŒवविद् शुक्रसागर श्रेष्ठ भन्छन्, ‘मानिसले आँखा चिम्लेर सुन्दर चित्रको कल्पना जस्तो किसिमको गर्छ, त्यस्तै हुन्, मञ्जुश्री । अर्थात् साधकको ‘भिजन’ जे हो, त्यही हो, मञ्जुश्रीको आकृति ।’

कलाकार डंगोल पनि आजसम्म मञ्जुश्रीका जे जति मूर्ति र चित्र बने, सबै साधकको ‘भिजन’ भएको बताउँछन् । ‘मैले बुझेअनुसार मञ्जुश्री त्यो बेलाको अति नै सुन्दर मानिस हुन्,’ उनले भने, ‘अनि अति कोमल र शान्त पनि ।’ सुन्दरताको अभिव्यक्ति स्त्री आवरणमा मात्र सम्भव हुने भएकाले धेरै चित्रमा मञ्जुश्रीलाई महिलाको आकृतिमा उतारिएको हुन सक्ने डंगोलको तर्क छ ।

चोभारमा निर्माण भइरहेको मञ्जुश्रीको मूर्ति पुरुष आकृतिमै पूर्ण कदको बनाइएको छ । मूर्तिको डिजाइन कलाकार डंगोल आफैँले गरेका हुन् ।

मञ्जुश्री चीनको वुताइसानबाट आएको मानिन्छ । कला प्रदर्शनीका क्रममा मञ्जुश्रीको गाउँ चीनको वुताइसान पुगेको उनले बताए । वुताइसानमा मञ्जुश्रीलाई अति सुन्दर, शान्त र सहयोगी भगवानका रुपमा मान्ने गरेको उनी बताउँछन् । ‘विभिन्न भेषमा मानिसको सहयोगी बन्दै हिँड्ने बोधिसत्वको रुपमा पनि चिनियाँले मञ्जुश्रीलाई मान्ने गरेका छन्,’ डंगोलले भने ।

०६८ मंसिरमा कुँद्न सुरु गरिएको मूर्ति निर्माण अन्तिम चरणमा पुगेको छ । ढुंगा कुँद्ने काममा आठ कलाकारले काम गरेका छन् । ढुंगाकै भए पनि मूर्तिको छालाको भागलाई कोमल देखाइनेछ ।

‘सुन्दरता, कोमलता र बोधिसत्व प्रतीकको रुपमा मानिने भएकाले शरीरमा छालाको भागलाई सकेसम्म सफ्ट बनाउने प्रयास गरिनेछ,’ डंगोलले भने, ‘जसले गर्दा टाढैबाट हेर्दा पनि छाला, लुगा र गहनाको भाग छुट्याउन सकिनेछ ।’

यसका लागि बन्दुकले बालुवा हान्ने प्रविधि अपनाइने बताइएको छ । परम्परागत शैलीको भएका कारण मूर्तिमा कुनै अप्राकृतिक रंग भने प्रयोग नगरिने डंगोलले जनाए ।

पूरा मूर्तिको तौल ५५ टन हुने जनाइएको छ । मूर्तिको सबै भाग ढुंगाको भए पनि मूर्ति ठडिने जग भने सिमेन्टको बनाइएको छ । ‘ढुंगाको त आयु असीमित हुन्छ । मलाई शंकाचाहिँ सिमेन्टको जगमा लागेको छ,’ उनले भने, ‘हाम्रो युगको एतिहासिक मूर्ति बन्दै छ । आफ्नो कला सयौँ वर्षसम्म सन्ततिलाई देखाउने जोसुकै कलाकारको सपना हुन्छ ।’

सिमेन्टको जगले कहिलेसम्म धान्ला भन्ने कलाकारले आशंका गरे पनि इन्जिनियरले भने आश्वस्त पारेको जलविनायक वन उपभोक्ता समिति उपाध्यक्ष दीपक महर्जनले बताए । उनका अनुसार आउँदो वैशाखमा मूर्ति ठड्याएर उद्घाटन गर्ने योजना छ ।

पर्यटकीय विकास

हाल बनिरहेको मञ्जुश्रीको मूर्तिलाई कीर्तिपुर नगरपालिका– १४ स्थित चोभारको डाँडामा स्थापित गराइने छ। धार्मिक तथा प्राकृतिक पर्यटन प्रवद्र्धन गर्ने कार्ययोजना अन्तर्गत मञ्जुश्रीको ठूलो मूर्ति स्थापना गर्न लागिएको जलविनायक वन उपभोक्ता समूहका उपाध्यक्ष दीपक महर्जनले बताए ।

मूर्तिलाई जलविनायक वन क्षेत्रको जग्गामा राख्न लागिएको छ । काठमाडौं–हेटौंडा सडक खण्डबाट एक सय ५० फिट पर मूर्ति राखिने उपाध्यक्ष महर्जनले बताए । वनको रुखबिरुवालाई क्षति नपुग्ने गरी भौतिक संरचना निर्माण गरिएको उनी बताउँछन् ।

‘भविष्यमा मञ्जुश्री र सगरमाथा अध्ययन केन्द्र समेत बनाउने योजनाले हामीले अग्लो मूर्ति बनाएका हौँ,’ उनले भने, ‘यसले यहाँको पर्यटनमा ठूलो फड्को मार्ने विश्वास लिएका छौँ ।’

मूर्ति बनाउन व्यक्तिगत दाता, विभिन्न समूहहरु, कीर्तिपुर नगरपालिका, पर्यटन बोर्ड लगायतले सहयोग गरेको मूर्ति निर्माण समितिका संयोजक सुजिन्द्र महर्जनले बताए । सुरुमा एक करोड रुपैयाँ बजेट अनुमान गरे पनि मूर्ति सम्पन्न हुन करिब तीन करोड लाग्ने भएको उपाध्यक्ष महर्जनले बताए। अझै रकम नपुगेकाले दातालाई स्वेच्छिक सहयोगका लागि समेत आह्वान गरिएको उनको भनाइ छ।

 

 

 

 

 

प्रकाशित: १९ माघ २०७३ ०३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App