३ असार २०८१ सोमबार
image/svg+xml
समाज

चलेन दलितको टपरी

फाइल तस्वीर

‘व्यक्तिगत वा सामूहिकरुपमा सार्वजनिक स्थान वा समारोहबाट निष्काशन गर्ने, सामाजिक बहिष्कार वा कुनै प्रकारको भेद्भाव गर्ने वा त्यस्तो कार्यमा प्रतिबन्ध लगाउने वा अन्य कुनै किसिमको असहिष्णु व्यवहार प्रदर्शन गर्नुलाई’ जातीय भेद्भाव छुवाछुतसम्बन्धी कसुर अपराधभित्र परिभाषा गरिएको छ । यससम्बन्धी कसुर गर्नेलाई अपराधको प्रकृतिबमोजिम अधिकतम तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

राज्यले कानुनीरुपमै जातीय भेद्भाव तथा छुवाछुत गर्नेलाई अपराध मानी सजायको कानुनी व्यवस्था गरे पनि गाउँसमाजमा उक्त प्रकृतिका घटना रोकिन सकेका छैनन् । जसको उदाहरणका रुपमा ईलाका प्रहरी कार्यालय कोहलपुरमा परेको जाहेरी दरखास्तलाई लिन सकिन्छ । गैरदलितको घरमा तेह्रौं दिनको सुद्दारीमा टपरी लगाइ सहयोग गर्न गएको बेला दलित महिलामाथि विभेद् गरिएको भन्दै ईलाका प्रहरी कार्यलय कोहलपुरमा मुद्दा दर्ता भएको छ । बैजनाथ गाउँपालिका वडा नम्बर २ पितमारीस्थित दिलबहादुर थापाको घरमा आमाको मृत्यु भइ तेह्रौँ दिनको सुद्दारीमा सहयोग गर्न गएका बेला आफूमाथि विभेद् भएको भन्दै सोही गाउँकी ४२ वर्षीया बिरमा टमाटाले कोहलपुर प्रहरीमा मुद्दा दर्ता गरेकी हुन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीका अनुसार पीडितको जाहेरीका आधारमा मुद्दा दर्ता भएको छ । उनले जातीय विभेद् जस्तो गम्भीर अपराधमा मुद्दा आएकाले प्रहरीले मुद्दा दर्ता गरेको बताए । तिवारीले मुद्दा दर्ता भएको र थप प्रक्रिया सुरु भएको जनाए । कार्यालयको तथ्यांकअनुसार कोहलपुर प्रहरीमा अहिलेसम्म तीनवटा जातीय विभेद्का मुद्दा दर्ता भएका छन् । यसअघि आर्थिक वर्ष २०७८-०७९ र २०७९-०८० मा पनि दुईवटा मुद्दा दर्ता भएका थिए ।

छिमेकी थापाको घरमा टपरी बन्न सहयोग गर्नका लागि टमाटा चैत २४ गते थापाको घरमा गएकी थिइन् । उनी त्यहाँ पुग्दा अरु छिमेकी महिलाहरुले टपरी बुनिरहेका थिए । महिलाहरुमध्येकी नैना थापाले टमाटालाई अपमानजनक रुपमा ‘त यता नआइजा, तैले छोएको टपरी चल्दैन’ भन्दै रोकिन् । त्यसपछि सामान्य कुराकानी हुँदै गर्दा अन्य अन्यायीहरुले समेत एक्कासी ‘के कहाँबाट आइ त डुमिनी कमिनी, ठूला कुरा गर्छेस् । तैले छोएको टपरी चल्दैन’ भन्ने कुरा थाहा पाएकी छैनस् भन्दै आफूमाथि जातीय विभेद् भएको टमाटाको भनाइ छ । उनले सोही अवसरमा आफ्नो सामाजिकरुपमा अपमान हुनेगरी अश्लिल शब्दहरु प्रयोग गरी तथानाम गालीगलौज गरी हातपात गरेको उनले बताइन् ।  

उक्त जाहेरीमा भनिएको छ, ‘मेरो छोरा २५ वर्षीय प्रदीप टमाटाले थाहा पाएपछि उनीहरुलाई मेरो आमालाई किन गाली गर्नुहुन्छ । नगर्नुहोस् न भनी अनुरोध गर्दा छोरालाई समेत डुम कहाँबाट आइ भन्दै कुटपिट गरे । मेरो छोराको दाहिने आँखामा चोट लागेको छ । उनीहरुले कुटपिट गर्दैगर्दा अन्य छिमेकीले बचाए ।’  

दैनिकरुपमा भक्तबहादुर बुढाक्षेत्री र निजकी पत्नी तुलादेवी खड्का बुढाक्षेत्रीले आफूलगायत दलित समुदायलाई अपमान तथा भेद्भाव हुनेगरी जातीय विभेद् गर्दै आएको दाबी गरिएको छ । र हाल आएर आफू र आफ्नो छोरालाई ‘तिमीहरुलाई गाउँबाटै लखेटिदिन्छौँ भन्दै काट्छुमार्छु भन्ने धम्की’ दिइएको उल्लेख गरिएको छ । उनीहरुलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद् १० को दफा १६० र १६६ बमोजिम कसुर अपराध गरेकोले सोही ऐनको दफा १६८ बमोजिम क्षेतिपूर्तिसमेत दिलाई घाइतेको उपचार खर्चसमेत दिलाउन माग गरिएको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले टमाटाको जाहेरीअनुसार शिक्षक दम्पतीसहित पाँचजनाविरुद्ध जातीय विभेद् छुवाछुत कसुरसम्बन्धी अपराध शीर्षकमा मुद्दा दर्ता भएको छ । कसुर गर्ने व्यक्तिहरुमध्ये अन्दाजी ३८ वर्षीय भक्तबहादुर बुढाक्षेत्री वडा नम्बर २ पितमारीमा रहेको दिलरुम प्राविका शिक्षक हुन् । अन्दाजी ३६ वर्षकी तुलादेवी खड्का बुढाक्षेत्री सोही विद्यालयका प्रधानाध्यापक हुन् । यस्तै अन्दाजी ४० वर्षीय प्रेमबहादुर थापा, अन्दाजी ३७ वर्षीय दिलबहादुर थापा र अन्दाजी २७ वर्षकी नैना थापाविरुद्ध मुद्दा दर्ता भएको हो ।

प्रकाशित: १ वैशाख २०८० ०६:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App