६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गाउँपालिकाको उत्कृष्ट लोगो बनाउनेलाई ७० हजार पुरस्कार

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाको विशिष्ट मौलिक पहिचान झल्कने गरी आफ्नै लोगो निर्माण गर्ने भएको छ।

पालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक र सांस्कृतिक महत्त्व झल्कने लोगो निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए।

उनका अनुसार इच्छुकहरुलाई ४ वटा सर्त सहित लोगो निर्माणको विद्युतीय प्रति बुझाउन २०८० साल वैशाख ९ गते सम्मको समय सीमा दिइएको छ। छनौट समितिले उत्कृष्ट ठहराएको लोगोको निर्माणकर्तालाई प्रोत्साहन स्वरूप ७० हजार रुपैयाँ (कर सहित) उपलब्ध गराउने समेत गाउँपालिकाले जनाएको छ।

लोगोमा नेपालको झन्डा र गाउँपालिकाको नाम उल्लेख हुनुपर्ने, मैवाखोला गाउँपालिकाको विशेषता झल्कने गरी पालिकाको नक्सा, लालीगुराँस, सिन्धोलुङ झरना, वन क्षेत्र, अलैंची, फागो माङ्गेना यक र रेडपाण्डाको नक्सा समावेश हुनुपर्ने सर्त राखिएको छ। यस्तै धार्मिक तथा जातीय साम्प्रदायिक विभेद झल्कने तथा नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डतामा प्रतिकुल असर पर्ने कुनै पनि संकेत तथा भाव झल्कन नहुने समेत सर्त राखिएको छ।

पालिकाले लोगो निर्माणकर्ताले प्रयोग गरेका संकेतहरुको संक्षिप्त व्याख्या सहित डिजाइन भएको लोगोको विद्युतीय प्रति बुझाउनुपर्ने सर्त राखेको छ। ताप्लेजुङका केही स्थानीय तहले यसअघि नै आफ्नो पालिकाको गरिमा र महत्त्व झल्कने गरी लोगो निर्माणपछि प्रयोगमा ल्याइसकेका छन्।

प्रकाशित: २९ चैत्र २०७९ ०९:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App