२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

हेलचेक्य्राइँले एलपी ग्याँसबाट दुर्घटना

खाना पकाउने ग्यास चुहावटबाट बुधबार राति नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी गम्भीर घाइते भए। घाइते भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा निधन भयो। बिहीबार दाङमा ग्यास सिलिन्डर पड्किँदा दुईजना घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका–१६ की कुसुम केसी र भरतपुर महानगरपालिका–५ का आशिष खनाल घाइते भएका हुन्।

ग्यास लिकेज भएर, सिलिन्डर पड्केर दुर्घटना भई मानवीय र भौतिक क्षति भएका घटना निरन्तर दोहोरिएका छन्। हरेक नागरिकको भान्सामा ग्यास सिलिन्डर छन्। खाना पकाउने ग्यासको प्रयोगमा सावधानी नअपनाउँदा दुर्घटना भएका हुन् वा मापदण्डविपरीत, म्याद गुज्रेका ग्यास सिलिन्डर भान्सामा प्रयोग भएकाले दुर्घटना भएका हुन् त?

जानकारका अनुसार उपभोक्तामा ग्यास प्रयोगसम्बन्धी चेतना पनि छैन। भान्सामा रहेका सिलिन्डरको मापदण्ड तथा गुणस्तरबारे पनि ध्यान दिइएको छैन। ग्यास उद्योगी, नियामक निकाय र आम उपभोक्ताको हेलचेक्र्याइँले दुर्घटना हुने गरेका छन्।

प्रारम्भिक अनुसन्धानअनुसार भान्साकोठामा बत्ती बाल्दा ‘स्पार्क’ भएर भण्डारीको घरमा दुर्घटना भएको हो। काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले स्विच अन गर्दा उत्पन्न भएको स्पार्क (विद्युत्को झिल्का) का कारण ठुलो आवाजसहित आगो लागेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको बताए।

भण्डारीको भान्साकोठामा रहेको ग्यास सिलिन्डर रेगुलेटर नपड्किएको नेपाल आयल निगम एलपिजी विभागका प्रमुख नेत्र काफ्लेले बताए। ‘ग्यास उद्योगी र प्रहरीले घटनास्थल निरीक्षण गर्दा सिलिन्डर र रेगुलेटरमा क्षति भएको देखिएन,’ काफ्लेले भने, ‘ग्यास लिक भएर बिजुलीको स्विच अन गर्दा दुर्घटना भएको हुन सक्छ।’

भान्छाकोठामा पहिलेदेखि नै ग्यास लिक भएको र कोठाको बत्ती बाल्दा स्पार्क भएर आगलागी भएको अनुमान छ। भण्डारीको भान्सामा प्रयोग भएको ग्याँस ‘राजधानी’ हो।

आम उपभोक्तामा ग्यास लिक भएको अवस्थामा विद्युतीय सामग्री प्रयोग गर्ने विषयमा जानकारी नहुँदा यस्ता दुर्घटना हुने गरेका छन्। ग्यास प्रज्वलनशील वस्तु भएकाले प्रयोगको विधि र सुरक्षाबारे आम प्रयोगकर्तालाई जानकारी हुनु आवश्यक छ। ग्यास बिक्रेता महासंघका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्याल निगम र ग्यास उद्योगीको हेलचेक्र्याइँले दुर्घटना हुने गरेको बताउँछन्।

‘आम उपभोक्तामा उत्पादनको प्रयोगबारे जानकारी गराउने दायित्व ग्यास उद्योगीको हो,’ उनले भने, ‘आयल निगमले पनि प्रभावकारी अनुमगन गर्न सकेन।’ निगम र उद्योगीले आफ्नो दायित्व पूरा नगरेको अर्यालले बताए।

निगम र उद्योगीले उपभोक्तामा चेतना अभिवृद्धि नगरेको उपभोक्ता अधिकारकर्मीको आरोप छ। नियामक निकायको गैरजिम्मेवारीले दुर्घटना हुने गरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए। ‘निगम र ग्यास उद्योगीले आम उपभोक्तामा सचेतना जगाउनुपर्छ,’ तिमल्सिनाले भने, ‘प्रयोगकर्तामा ग्यास प्रयोग गर्दाका सम्भावित दुर्घटनाबारे जानकारी गराउनु आवश्यक छ।’

अन्य दुर्घटना भने ग्यास सिलिन्डर, रेगुलेटरको कमसल गुणस्तरले पनि हुने गरेका छन्। कतिपय ग्यास उद्योगले मापदण्ड पूरा गरेका छैनन्। पुराना सिलिन्डर पनि प्रयोग गर्दै आएका छन्। नेपाल आयल निगमका अनुसार अहिले बजारमा १ करोड ११ लाख ग्यास सिलिन्डर छन्। ती सिलिन्डरको गुणस्तरबारे खासै चासो दिइएको पाइँदैन।

मुलुकमा ५५ ग्यास उद्योग छन्। सरकारले ‘एलपी ग्यास बोटलिङ प्लान्ट मापदण्ड’ बनाएको भए पनि पूर्ण कार्यान्वनयमा ल्याउन सकेको छैन। अहिले पनि अधिकांश उद्योगले पुराना सिलिन्डर प्रयोग गर्दै आएका छन्। ग्यास लिक हुन नदिन सिलिन्डरको हाइड्रोलिक परीक्षण लगायत सुरक्षाका प्रावधान अपनाउनुपर्छ। सिलिन्डर नकुच्चिएको, रङ नखुइलिएको, सिलिन्डरको मार्किङ लेबल स्पष्ट देखिनुपर्ने व्यवस्था भए पनि कार्यान्वयन फितलो छ। ग्यास सिलिन्डर, रेगुलेटर, चुलो मापदण्डअनुसार भए/नभएको पनि प्रभावकारी अनुमगन हुन नसकेको बिक्रेताको गुनासो छ।

उद्योगीले पुराना, थोत्रा सिलिन्डर बिक्री गर्दै आएको ग्यास बिक्रेता महासंघका अर्यालले बताए। हाइड्रोलिक टेस्ट फेल भएका पुराना सिलिन्डरलाई हरेक वर्ष नष्ट गर्दै जानुपर्ने भए पनि उद्योगीले थोत्रा सिलिन्डर पनि प्रयोग गर्दै आएका छन्। दुई वर्षदेखि ग्यास सिलिन्डर नष्ट (डिस्पोज) गरेको जानकारी कुनै ग्यास उद्योगले नेपाल आयल निगमलाई गराएका छैनन्। ‘हाइड्रोलिक टेस्ट फेल भएका (म्याद पुगेका) ग्यास सिलिन्डर नष्ट गर्नुपर्ने प्रावधान छ,’ नेपाल आयल निगम एलपिजी विभागका प्रमुख काफ्लेले भने, ‘निगमले ग्यास खरिदका लागि पिडिओ जारी गर्छ। अनुगमन गर्ने जिम्मेवारी गुणस्तर विभागको हो।’ आयल निगमले नियमनको जिम्मेवारी नेपाल गुणस्तर तथा नापतौल विभागको बताए पनि विभागले पनि प्रभावकारी नियमन गर्न सकेको छैन।

ग्यासको नयाँ सिलिन्डर बजारमा आएको १० वर्षमा पहिलोपटक हाइड्रोलिक परीक्षण गर्नुपर्छ। त्यसपछि दुईपटक ५–५ वर्ष र त्यसपछि हरेक ३–३ वर्षमा परीक्षण गर्नुपर्छ। पुराना सिलिन्डर भर्ने बेलामा हाइड्रोलिक टेस्ट गर्नुपर्ने हुन्छ। तर ग्यास उद्योगीले आफैंले यो परीक्षण गर्दै आएका छन्। ‘ग्यास सिलिन्डरमा तेस्रो पक्षले हाइड्रोलिक टेस्ट गर्नुपर्छ,’ बिक्रेता महासंघका निवर्तमान अध्यक्ष अर्यालले भने, ‘यहाँ आफ्नो उत्पादनको आफैं परीक्षण गरिरहेका छन्।’

आम उपभोक्तालाई चेतना जगाउन आफूहरू चुकेको ग्यास उद्योगीहरू पनि स्वीकार गर्छन्। नेपाल आयल निगम र उद्योगी मिलेर सचेतना जगाउनुपर्ने भए पनि त्यसो हुन नसकेको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्लीले स्वीकार गरे। निगमले ७५ प्रतिशत र उद्योगीले २५ प्रतिशत लगानी गरेर ग्यास प्रयोगसम्बन्धी सचेतना जगाउने सहमति भए पनि कार्यान्वन हुन नसकेको उनले बताए।

‘घाटामा रहेको भन्दै निगमले पनि सचेतना कार्यक्रममा साथ दिएन,’ उनले भने, ‘जनचेतना जगाउनुपर्ने आवश्यकता छ।’

सिलिन्डर मात्र नभएर रेगुलेटर, चुलोको गुणस्तरमा पनि ध्यान दिनुपर्ने उनको तर्क छ। पुराना सिलिन्डर प्रयोग भए पनि हाइड्रोलिक टेस्ट गरेर बजारमा पठाउने गरेको उनको दाबी छ। ‘अधिकांश उद्योगले नेपाल गुणस्तर चिह्न लिएकाले मापदण्ड अनुसार नै सञ्चालन भएका छन्,’ अध्यक्ष मल्लीले भने, ‘सबै उद्योग अटोमेसनमा गएकाले हाइड्रोलिक टेस्ट पनि भएको छ।’

प्रकाशित: ५ फाल्गुन २०७९ ००:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App