१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

गौरीशंकर संरक्षण क्षेत्रमा ३ दिन देखि निरन्तर आगलागी

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर १ को गुमदेल भन्ने गौरीशंकर संरक्षण क्षेत्रमा ३ दिन देखि लागेको आगो नियन्त्रण हुन सकेको छैन। 

गौरिशंखर संरक्षण क्षेत्रको जङ्गलमा १५ गते देखि लागेको आगो नियन्त्रण हुन नसकेको हो। आगलागी चामरुकबाट सुरु भएको थियो। 

रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीका अनुसार मान्छेले रमाइलोको लागि संरक्षण क्षेत्रमा आगो लगाएका थिए। 

उनले भने, ‘१५ गते देखि आगलागी भएको हो। हामीले सेना, प्रहरी र स्थानीयहरू मिली आगो नियन्त्रण गरिरहेका छौँ। सक्ने प्रयास गरेका छौँ। भिरमा आगलागी भएको छ। आगो निभाउन गाह्रो छ। स्थानीयले पानी बोकेर मोटर चलाएर र स्याउलाले आगो निभाइ रहेका छन्। ’

रेग्मीले गाउँमा आगो लाग्नबाट जोगाउन निर्देशन दिएको पनि बताए। उनले आगलागी हिजो निणन्त्रणमा आएको तर हावाहुरीले गर्दा फेरी लागेको बताए।    

उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले चामरु बस्तीमा रहेको १४, १५ घर बचाउनका लागि गुमदेल बासी, जनप्रतिनिधि, संरक्षकहरू आगो निभाउन लागि परेको बताइन्। 

उनले भनिन्, ‘आगोले विशाल रूप लिएको छ। रोक्न सक्ने अवस्था छैन। बेलुकामा आगो नियन्त्रण हुन्छ। तर दिउँसोमा भने फेरि आगो लाग्छ। नियन्त्रण गर्न सम्भव छैन। नियन्त्रण हुँदैन। बस्ती जोगाउनलाई मात्र नियन्त्रण कार्य भएको छ। भोलिसम्म नियन्त्रण गर्ने प्रयास हो। ’

सुनुवारले मानवीय तथा भौतिक क्षति नभएको तर जङ्गलमा भने ठुलो क्षति पुगेको बताइन्। 

उनले चामरु बस्तीका बासिन्दाहरू जङ्गलमा आगलागी भएपछि बाम्ती भन्ने ठाउँमा बसाइ सरेको बताइन्। 

उमाकुण्ड गाउँपालिका वडा न १ का वडा अध्यक्ष ङवा तिन्डु शेर्पाका अनुसार अहिले सम्म रामेछापमा पानी परेको छैन।  

उनले भने , के कारणले भन्ने थाहा छैन। बच्चाहरूले लगाए भन्ने शङ्का छ। हाम्रो क्षेत्रमा पानी परेको छैन। पानी परे नियन्त्रणमा आउँ थियो अहिले सम्म पानी परेको छैन। नियन्त्रणमा लिन पनि सकेको छैन।’ 

प्रकाशित: १७ माघ २०७९ १३:५४ मंगलबार

रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका गौरिशंखर संरक्षण क्षेत्र गौरीशंकर संरक्षण क्षेत्र