२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

‘सेताम्मे हिमाल कालो देखिन थाले’

चाँदीझैं टल्किने यहाँका हिमाल पछिल्लो समय कालो देखिन थालेका छन्। जलवायु परिवर्तनका असरबाट सुन्दर हिमाल प्रभावित हुन थालेको जनाइएको छ। यसबाट पर्यटकीय गन्तव्यको रूपमा परिचित यहाँको हेलम्बु, पाँचपोखरी, जुगल लगायतको पर्यटन क्षेत्र प्रभावित हुन थालेको छ।

ती क्षेत्रको डाडाँकाडा मंसिर सुरु हुनेबित्तिकै हिउँले सेताम्मे हुने गर्दथ्यो। पछिल्ला वर्षहरूमा हिमालमै हिँउ पर्न छाडेपछि हिमाली दृश्यसँगै हिउँमा खेल्न रुचाउने आन्तरिक तथा बाह्य पर्यटक घट्दै गएका जनाइएको छ। यसबाट पर्यटन व्यवसायमा आत्मनिर्भर रहेका स्थानीय विस्थापित हुन थालेका छन्। हेलम्बु क्षेत्रमा निर्माण भएका आकर्षक होटल, गुम्बा, ग्रेटटेल जस्ता पर्यटकीय ठाउँमा हिउँ नपर्दा पर्यटन व्यवसाय प्रभावित भएको  हेलम्बु-२ का कामी लामा बताउँछन्।

उनका अनुसार जिल्लाको पाँचपोखरी, नागिथाम, च्योच्योडाँडा, आमायाङरी, कुटुमसाङ, मेलम्चीघ्याङ, सेर्माथाङ लगायतको माथिल्लो भूभागमा हिउँ पर्न छाडेको धेरै भयो। भौगोलिक विविधताले भरिपूर्ण भएका कारण हेलम्बु, पाचँपोखरी, मुडे लगायतका ठाउँमा विगतमा विदेशी पर्यटकको भीड नै लाग्ने गरेको थियो।

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि हेलम्बु गाउँपालिकाले कृतिम हिउँ उत्पादनको लक्ष्य लिएको छ। गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पा उनले सबै ठाउँमा नभए पनि  कुनै एक ठाँउमा भए पनि काम गर्ने बताए।

पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हँुदा यहाँका हिमाली क्षेत्रमा हिउँ देख्न मुस्किल परेको छ भने परम्परागत बालीनाली समेत संकटमा परेका छन्। माथिल्लो हिमाली भूभागमा देखापरेको असरको रूपमा गत वर्षको भयानक मेलम्ची बाढीलाई लिन सकिन्छ। यो दीर्घकालीन रूपमा मानव समुदायलाई खतराको संकेत भएको वातावरणविद् प्रभु बुढाथोकीको भनाइ छ।

विगतमा चार फिटसम्म हिउँ जम्ने स्थानमा अहिले तुसारो मात्र देख्न सकिन्छ। जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको हेलम्बु, पाँचपोखरी क्षेत्रमा नेपालकै गौरवको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल समेत रहेकाले यसको संरक्षणका लागि सरकारले समयमै उचित कदम चाल्नुपर्ने विज्ञहरूको सुझाव छ। रासस

प्रकाशित: ९ माघ २०७९ ०५:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App