२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

विमान दुर्घटना: पोष्टमार्टममा ढिलाई हुँदा आफन्तको पीडाजनक पखाई

पोखरामा विमान दुर्घटनामा परेर मृत्यू भएकाहरुको शव बुझ्न उनीहरुका आफन्तलाई सोमबार बिहान ९ बजे पश्चिमाञ्चल क्षेत्रीय अस्पताल बोलाइएको थियो। जिल्ला प्रशासन कार्यालय कास्कीले नै शव बुझ्नका लागि आउन आह्वान गरेपछि मृतकका आफन्त तोकिएकै समय भन्दापनि अगाडि नै अस्पताल पुगे। तर सोमबार साँझसम्म कसैलेपनि शव बुझ्न पाएनन्। कारण हो पोष्टमार्टममा भएको ढिलाई।

काठमाडौंबाट पोखरा आएको यती एयरलाईन्सको ९एन एएनसी  कलसाईन भएको एटिआर विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यू भएको पुष्टि भइसकेको छ। चालक दलका ४ जनासहित ७२ जना सवार सो जहाजमा रहेका ३ जना अझै बेपत्ता छन्। उनीहरुको खोजी जारी छ।

मृतक ६८ जनाको शव आइतबार नै संकलन भएको थियो। त्यसमध्ये ६२ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको शवगृहमा राखिएको थियो। ती शवमध्ये २६ जनाको शव आफन्तले पहिचान गरेर सनाखत गरिसकेका थिए। त्यहि भएर प्रशासनले सोमबार विहान शव हस्तान्तरण गर्ने भन्दै आफन्तलाई बोलाएको हो।  

तर शवको पोष्टमार्टम अन्र्तराष्ट्रिय स्तरको मापदण्ड अनुसार गर्नुपर्ने र त्यसका लागि विशेषज्ञ टोली आवश्यक पर्ने भयो। जसका लागि संघ सरकारको निर्णयमार्फत दुईजना विशेषज्ञ काठमाडौंबाट पठाइने भनियो। एक त विज्ञ को को पठाउने भनेर निर्णय गर्न नै ढिलो भयो। अर्कोतर्फ सोमबार बिहानको मौसम नखुल्दा विज्ञहरु आउन ढिलाई भयो। झण्डै दुई बजेमात्रै काठमाडौंबाट विज्ञहरु आएपछि पोखरास्थित फरेन्सिक ल्यावका चिकित्सकहरुबीच छलफल भयो। त्यसपछि शवहरुको वर्गिकरण शुरु गरियो । पहिचान खुलेका र नखुलेका। पहिचान खुलेकामध्येपनि अन्र्तराष्ट्रिय मापदण्ड पूरा गर्न सकिने र नसकिने भनेर वर्गिकरण गरियो।

शवहरुको वर्गिकरण सकिएपछि बल्ल पोष्टमार्टम शुरु भयो त्यतिबेला अपराह्नको करीब ३ बजिसकेको थियो। शव बिहान ९ बजेदेखि नै बुझाईने भनेपछि शव बुझ्न पुगेका आफन्तहरु भने दिनभर तनावमा भए। शव बुझ्न बिहानै अस्पताल पुगेका आफन्तहरु बेलुकासम्म पनि शव बुझ्न नपाएपछि आक्रोसित पनि बने। उनीहरुले पोष्टमार्टममा भएको ढिलासुस्तीविरुद्ध सोमबार अपराह्न केहीबेर नाराबाजीसमेत गरे। विमान दुर्घटनामा ज्यान गुमाएका स्याङ्जाका पूर्णबहादुर गुरुङ्की दिदीले शव बुझ्न बिहानै बोलाएपनि दिनभर नदिएर आफूहरुलाई पीडामाथि पीडा दिएको बताइन्। उनले भनिन्,'हामीले शव हिजै पहिचान गरेका थियौं। त्यसमाथि हामीलाई बिहानै शव दिइन्छ भनेर बोलाए। तर दिनभर दिएनन्। प्रक्रिया पूरा नभइसकेको भए हामीलाई किन बोलाएर दिनभर तनाव दिइयो? यसले हामीलाई पीडामाथि पीडामात्र थप्यो।’

त्यस्तै, पत्रकार त्रिभूवन पौडेलका एक आफन्तपनि सोमबार दिनभर अस्पताल बस्दापनि शव नदिएकोप्रति आक्रोस व्यक्त गर्छन्। 'शव बुझाउन ढिला हुन्छ भनेको भए त्यहि अनुसारको तयारी हुन्थ्यो। बिहानै शव बुझ्न बोलाएर दिनभर नदिदा तनावमात्र भयो’–उनले भने।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी भने अन्र्तराष्ट्रिय स्तरको मापदण्ड पूरा गरेर पोष्टमार्टम गर्न खोज्दा पोष्टमार्टममा ढिलाई भएको बताउँछन्। मृतकका आफन्तलाई भएको पीडा हामीलेपनि महशुष गरेका छौं,उनले भने,।।।तर अहिले मापदण्ड पूरा नगरी आफन्तलाई शव बुझाउँदा भोलि तिनै आफन्तले थप पीडा भोग्नुपर्ने हुन्छ। त्यसैले भोलि समस्या नहोस् भनेर आज मापदण्ड अनुसार प्रक्रिया पूरा गर्दा ढिलाई भएको हो।’ उनले विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको ईन्सुरेन्स दाबीमा कुनै समस्या नहोस् भन्नका लागि अन्र्तराष्ट्रिय मापदण्ड अनुसारको पोष्टमार्टम गर्दा ढिलाई भएको बताए। त्यस्तै सोमबार बिहानको मौसम बिग्रिदा विज्ञहरु आउन ढिलाई भएकालेपनि पोष्टमार्टममा समस्या आएको उनको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार हालसम्म ६९ जनाको शव संकलन भइसकेको छ । त्यसमध्ये ४२ जनाको शव पहिचान भएको छ । बाँकी २७ जनाको शव पहिचान हुन बाँकी रहेको कास्की प्रहरीले जनाएको छ । । शव पहिचान भएकामध्ये २० जनाको पोखरामै पोष्टमार्टम गर्न शुरु गरिएको कास्कीका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । पहिचान भएका १८ जनाको शव काठमाडौं पठाईने उनले बताए । शव पहिचान भएका र पोखरामा आफन्त भएकाहरुको पोष्टमार्टम पोखरामै गर्न शुरु गरिएको छ,उनले भने,।।।पहिचान खुलेपनि मापदण्ड नपुगेका, काठमाडौं आफन्त भएका तथा विदेशी नागरिकको शव काठमाडौंमै पोष्टमार्टम गर्नेगरी पठाउँछौं ।’

पोखरामा पोष्टमार्टम गर्न तयारी गरिएकाहरुमा पत्रकार त्रिभुवन पौडेल, निशान्त आचार्य, ओममाया गुरुङ, यस्मिन गुरुङ, पुजन राना, अरुण पौडेल, प्रसिद्धी पौडेल, जीवनकला गुरुङ र। त्यस्तै, संगीता शाही, सदाकत अलि मिया, लक्ष्मी पौडेल, गायीका निरा छन्त्याल, विजयकुमार गुरुङ, रक्की गुरुङ, शालिकराम आचार्य, मोहनप्रकाश श्रेष्ठ, सीता गुरुङ, बन्दना सुनार, अनुषा गुरुङ र शिवकुमार गुरुङकोपनि पोखरामै पोष्टमार्टम हुँदैछ ।

सनाखत नभएकाहरुको शवपनि डिएनए टेस्टका लागि काठमाडौं लैजाने तयारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी केसीले बताए।

सोमबार थप एक जनाको शव संकलन

पोखरामा भएको जहाज दुर्घटनामा परेका थप एक जनाको शव आईतबार भेटिएको छ। सोमबार थप एकजनाको शव भेटिएसँगै विमान दुर्घटनामा परेका ६९ जनाको शव संकलन भएको छ। ७२ जना रहेको सो विमानमा सवार थप ३ जना अझै बेपत्ता छन्।

आइतबार दिनभर खोजी गर्दा थप एक जनाको शव भेटिएको कास्कीका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए। सोमबारको दुर्घटना परेर बेपत्ता भएका यात्रुहरुको खोजी गर्न गोताखोर टोलीसमेत परिचालन गरिएको छ।

बाँकी ३ जनाको मंगलबार बिहानैदेखि खोजी शुरु गरिने प्रवक्ता खड्काले जानकारी दिए। 'बेपत्ताहरुको खोजीका लागि गोताखोर टोली परिचालन गरेर खोजी जारी राख्छौं’–उनले भने।

ब्ल्याक बक्स भेटियो

पोखरामा आइतबार दुर्घटना भएको यती एयरलाइन्सको एटिआर ९एन एएनसी कलसाईन भएको विमानको 'ब्ल्याक बक्स’ भेटिएको छ। दुर्घटनाग्रस्त विमानको 'ब्ल्याक बक्स’ आइतबार बिहान भेटिएको कास्की प्रहरीले जनाएको छ।

विमान दुर्घटना स्थल वरपर शव संकलन तथा बेपत्ताहरुको खोजी गर्ने क्रममा 'ब्ल्याक बक्स’ भेटिएको कास्की प्रहरीको भनाइ छ।  विमान दुर्घटनाको कारण पत्ता लगाउन ब्ल्याक बक्स आवश्यक हुन्छ। ब्ल्याक बक्समा 'फ्लाइट राडर रेकर्ड’ र 'ककपिट भ्वाइ रेकर्ड’ हुने भएकाले दुर्घटनाको कारण पत्ता लगाउन यो महत्वपूर्ण हुने विज्ञहरुको भनाइ छ। ब्ल्याक बक्समा तथ्यांकको रेकर्ड बस्छ। इन्जिनको आवाज, तापक्रम, इन्धनको प्रवाह, विमानको गति, उचाइ र झर्ने गतिलगायतका उडानसँग सम्बन्धित तथ्यांकको रेकर्ड रहने भएकाले यसले दुर्घटनापछि अनुसन्धानलाई सहज बनाउन उनीहरु बताउँछन्।

आइतबार भेटिएको 'ब्ल्याक बक्स’ नेपाली सेनालाई बुझाइएको छ भने सो 'ब्ल्याक बक्स’ दुर्घटना जाँच आयोगलाई बुझाइने जनाइएको छ।

प्रकाशित: २ माघ २०७९ १४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App