२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

खड्का र आरजुको भरमा राठौर

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काको नाम प्रतिनिधिसभाको निर्वाचनका लागि सुर्खेत क्षेत्र नम्बर १ बाट सर्वसम्वतअर्थात एकल नाम सिफारिस भएको छ। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु देउवाको नाम पनि कैलाली क्षेत्र नम्बर ५ बाट सर्वसम्वत सिफारिस भएको छ। तर, उनी दुवैजनाको नाम बाँके क्षेत्र नम्बर ३ बाट पनि नाम सिफारिस भएको छ। उक्त नाम उनीहरु यहाँबाट चुनाव लड्नलाई होइन, आफ्नै समूहका नेता तथा कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरलाई सघाउन उनीहरुको नाम पनि यहाँको निर्वाचन क्षेत्रबाट सिफारिस भएको चर्चा चुलिएको छ।

बर्दिया क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र भएका राठोरको नाम बाँके क्षेत्र नम्बर ३ बाट सर्वसम्वत नहुने भएपछि यसरी चलखेल गरिएको कांग्रेसभित्रकै केही नेताहरुले बताउने गरेका छन्। टुरिस्टवाला नाम सिफारिस हुँदा यहाँ क्षेत्रका लामो समयदेखि मिहनत गरेका नेताहरु रुष्टसमेत भएको देखिन्छ। सुर्खेत क्षेत्र नम्बर १ बाट खड्का र कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट आरजुको नाम सर्वसम्वत सिफारिस भएपछि उनीहरु सोही ठाउँमा निर्वाचन लड्ने निश्चित छन्। प्रधानमन्त्रीकी श्रीमती आरजु र पार्टी सभापतिसमेत रहेका देउवाका विश्वास पात्र खड्का आआफ्नो निर्वाचन क्षेत्रमा फर्किने र त्यसपछि सहजै आफूले टिकट पाउने आसामा राठोर छन्। सिट सुरक्षितका लागि राठोरले खड्का र आरजुको सहायता लिएको बुझिन्छ। यदी त्यसो होइन भने, खड्का र आरजुको नाम आआफ्नै क्षेत्रबाट सर्वसम्मत किन भएको त ? भन्ने प्रश्न उठ्छ। बाँकेमा गठबन्धन भए क्षेत्र नम्बर ३ नेपाली कांग्रेसले पाउन सम्भावना देखिन्छ। केन्द्रीय नेतानै यही निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भएपछि कांग्रेसले अझ बढी क्षेत्र नम्बर ३ लाई बढी प्राथमिकतामा राखेको छ।

ठाकुरले भने आफूलाई टिकटका लागि कसैको सहायता लिन नलिम्ने बताए। ‘म पदाधिकारी होइन र ?,’ उनले प्रश्न गर्दै भने, ‘मैले पनि टिकट पाउनलाई अरुको सहारा लिनुपर्ने अवस्था होला र ? पार्टी र नेताले चाहेमा जहाँबाट पनि चुनाव लड्न सकिन्छ।’ गठबन्धन हुँदा कुन नेता कहाँबाट लड्नेसमेत टुंगो नलागेको भन्दै बिहीबार दिउँसो उनले भने, ‘पहिलो कुरा गठबन्धनमा सिट बाँडफाँट नै भएको छैन। कसले कहाँ रोज्यो भन्दैमा अहिले नै कहाँ हुन्छ।’ यसका लागि पहिला गठबन्धन दलहरुबीच सिट बाँडफाँट हुनुपर्ने उनी बताउँछन्। आफ्नो नाम बाँकेबाट मात्र नभइ बर्दियाबाट पनि नाम सिफारिस भएको अपुष्ट खबर उनले बताए। ‘बाँकेबाट मात्र होइन, मेरो नाम बर्दियाको निर्वाचन क्षेत्र १ र २ बाट पनि सिफारिस भएको छ की,’ उनले भने, ‘म सहाराका लागि होइन, पार्टीले जहाँ भन्छ त्यहीबाट चुनाव लड्छुँ।’ उनी हाल बर्दियाबाट समानुपातिक सांसद हुन्।

गठबन्धनका शीर्ष नेताहरु सिट मिलानका लागि राठोरलाई बाँके ल्याइएको हुन सक्ने आँकलन गरिएको छ। बर्दिया उनको क्षेत्र नम्बरमा गठबन्धनलाई मिलाउन उनको नाम बाँकेबाट सिफारिस भएको एक नेताले बताए। ‘पहिलो प्राथमिकता उहाँको (राठोर) को आफ्नै निर्वाचन क्षेत्र हो,’ एक नेताले भने, ‘उहाँको निर्वाचन क्षेत्रमा गठबन्धन मिलाउन खोजिए बाँके दोस्रो प्राथमिकता हो।’ यता नेपाली कांग्रेसका छाया सभापति भनिने खड्काको पनि पहिलो प्राथमिकता सुर्खेत हो। दोस्रो बाँके र तेस्रो बर्दिया हो। खड्काका एकजना विश्वास पात्र भन्छन्, ‘उहाँ (खड्का) ले सुर्खेतबाट चुनाव नलड्ने बताउनु भएको थियो। उहाँबाहेक अरु नेताको जित सम्भव नहुँदा उहाँको मात्र नाम यहाँबाट सिफारिस भएको छ।’ उनका अनुसार खड्का सम्भवतः यो निर्वाचन मात्र लड्न चाहान्छन्।

बाँके क्षेत्र नम्बर ३ मा केन्द्रीय नेताहरुको आवश्यकताका आधारमा उहाँहरु (पूर्णबहादुर, किशोरसिंह र आरजु) को नाम सिफारिस गरिएको नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ का सभापति महोम्मद नक्की खाँले बताए। ‘यस निर्वाचन क्षेत्रमा केन्द्रीय नेताको आवश्यकता थियो, हामीले सिफारिस गरेर पठायौं,’ उनले भने, ‘अब केन्द्रीय तहबाट कसको नाममा टिकट आउँछ, उहाँलाई उम्मेदवार बनाएर निर्वाचनमा जान्छौं।’

सिफारिस भएका नामहरु पार्टीका क्षेत्रीय सभापतिले प्रस्ताव गरेका थिए। केन्द्रीय तीन नेतासहित बाँकेका बादशाह कुर्मी, आशा विक, मेघराज ओली, लक्ष्मणनारायण शाह, मोहम्मद नक्की खाँ, देवबहादुर खत्री, उत्तमराज घिमिरे र तेजेन्द्र कँडेलको नाम पनि सिफारिस भएको छ।

प्रकाशित: १८ भाद्र २०७९ ११:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App