२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसले बुद्धि बिगार्‍यो, माओवादीले ढाँट्योः डा. भट्टराई

जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह निर्वाचन २०७९ मा गृह जिल्लामा अपेक्षा अनुसार नतिजा आउन नसकेको बताएका छन्।

चुनावी समिक्षा कार्यक्रममा सहभागी हुन शनिबार गोरखा आएका उनले केही संगठनात्मक कमजोरी र गठबन्धन भित्र इमान्दारिता नहुँदा चुनावमा पराजित हुनुपरेको बताए। ‘पार्टी भित्रको अस्वस्थ संघर्षका कारण पालुङटारमा जित्न सकेनौँ’ उनले भने ‘गठबन्धन भित्र पनि इमान्दारिता भएन, एक पटक भएको निर्णय कार्यन्वयन गरेर जानुपथ्र्यो, कांग्रेसले त्यो गरेन।’

माओवादी र कांग्रेस दुवैले जसपासँगको गठबन्धनमा इमान्दारिता नदेखाएको उनले बताए। ‘५,४,२ पालिका बाँड्ने विषयमा कांग्रेसले बुद्धि बिगार्‍यो, अन्य पालिकामा माओवादी केन्द्रसँग गठबन्धन गर्ने भनियो, उनीहरुले त ढाँटछल मात्र गरे’ भट्टराईले भने। जसपाको मतले माओवादी केन्द्रले जितेको तर जसपालाई सघाउने भनिएको ठाउँमा कहीँ पनि मत नदिएको बताए।

‘यो कारण पनि हामीले अपेक्षित नतिजा प्राप्त गर्न सकेनौँ’ उनले भने। नेपालको निर्वाचन प्रणाली अनुसार चुनावी तालमेल र गठबन्धन आवस्यक पर्ने बताउँदै उनले विचार, स्वभाव नमिल्ने दलहरु बिचको गठबन्धन भने ठिक नहुने बताए। ‘पटक्कै विचार नै नमिल्ने, विपरीत दिशामा हिड्ने शक्तिहरु एक ठाउँमा आउँदा गतिहीनता र अस्त व्यस्तता आएको छ यो पुनः विचार गर्नुपर्छ’ उनले भने।

गठबन्धन वा चुनावी तालमेल गर्दा वैचारिक रुपमा सापेक्षा ढंगले एकरुपता, निटक भएका शक्तिबीच भयो भने दिगो हुने उनले बताए। ‘आधारभुत नीति नै नमिल्ने शक्तिबीचको तालमेलले क्षणीक लाभ होला, सरकार त बन्छ तर काम गर्न सक्दैन’ भट्टराईले भने। दिगो लोकतान्त्रीक शक्तिहरु जसले अग्रगामी सोच राख्छन् त्यस्ता शक्तिबीच तालमेल अबको आवश्यकता रहेको उनले बताए।

यो निर्वाचन प्रणाली बदल्ने हो भने गठबन्धन आवश्यक नपर्ने उनले बताए। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक संसदीय प्रणालीमा मुलकलाई लैजानुपर्ने उनले बताए। ‘त्यो नभएसम्म अहिलेको मिश्रीत प्रणालीबाट कसैको बहुमत आउने कुरा छैन’ भट्टराईले भने। गोरखालाई बजेटमा उपेक्षा गरिएको प्रसंग जोड्दै उनले आफूले प्रस्ताव गरेर जिल्लाका गौरबका योजनाहरुमा कहिल्यै बजेट विनियोजन नभएको दुखेसो गरे।

प्रकाशित: २१ जेष्ठ २०७९ ११:४२ शनिबार

जनता समाजवादी पार्टी जसपा अध्यक्ष डा. बाबुराम भट्टराई