२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सांसद छाडेर मेयरमा प्रतिस्पर्धा

प्रदेशसभाका ६ जना सदस्य पदबाट राजीनामा दिएर मेयरको प्रतिस्पर्धामा उत्रिएका छन्। यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ।

मधेस प्रदेशका सांसद सेख अबुल कलाम (फूलबाबु) सांसद पदबाट राजीनामा दिएर मेयर पदका लागि उम्मेदवार बनेका छन् । कलाम २०७४ सालमा प्रदेशसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए । चुनाव जितेपछि उनी जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका थिए । उनी जसपाबाट रौतहटको गढीमाई नगरपालिकामा मेयर पदका लागि उम्मेदवार छन्।

‘उहाँ (कलाम) लाई यस नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिन गढीमाईवासीको धेरै नै माग आयो । उहाँले जनताका लागि राजनीति गर्नुभएको हो। जनताबाटै माग आएपछि कसरी नकार्न सक्नहुन्छ?’ कलामका सहयोगी कौसर खानले भने, ‘त्यसैले मेयरमा उम्मेदवारी उहाँको चाहनाभन्दा पनि जनताको माग हो।’

जनतासँग प्रत्यक्ष जोडिन पाउने मात्र होइन, झन्डै अर्ब रूपैयाँ बराबार बजेट हुने पालिकाको कार्यकारिणी प्रमुखमा नेताहरूको आकर्षण बढेको छ। पालिका प्रमुखमा निर्वाचित भएपछि पाँच वर्षसम्म ढुक्कले काम गर्न पाइन्छ। संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएका सबै अधिकार पालिका प्रमुखले ढुक्कसँग प्रयोग गर्न पाउँछन्। स्थानीय सरकार पाँच वर्षसम्म स्थिर रहने संविधानमै व्यवस्था छ। ‘प्रदेश सरकारका मन्त्रीहरू पाँच वर्षसम्म टिक्ने सम्भावना धेरै नै कम हुन्छ। मन्त्री भए पनि राम्रोसँग बजेट प्रयोग गर्न नपाउँदै मन्त्री पद गुम्ने सम्भावना रहन्छ,’ एक प्रदेश सांसदले भने, ‘बजेट, जनतासँगको सोझो सम्पर्क, काम गर्ने मौका, स्थिरता आदि सबै कारणले प्रदेश सांसदभन्दा पालिका प्रमुख आकर्षक पद बनेको छ।’

एमालेबाट काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका केशव स्थापित पनि वाग्मती प्रदेशका निवर्तमान सांसद हुन्। उनी झन्डै २५ वर्ष पहिले काठमाडौंको मेयरमा निर्वाचित भएका थिए। यसपटक उनी प्रदेश सांसद छाडेर फेरि मेयरमा दोहोरिन चाहेका छन्। उनका लागि प्रदेश सांसद तथा मन्त्रीभन्दा काठमाडौं महानगरपालिकाको मेयर पद आकर्षक भएको छ। 

पोखरा महानगरपालिकामा एमालेबाट उम्मेदवारी दिएका कृष्ण थापा पनि गण्डकी प्रदेशका निवर्तमान सांसद हुन्। प्रदेश सांसदबाट राजीनामा दिएर उनले पोखराको मेयर पदमा उम्मेदवारी दिएका हुन्। उनका लागि पनि प्रदेश सांसदभन्दा मेयर पद नै प्यारो भएको बुझिन्छ।

प्रदेश १ का सांसद गोपालचन्द्र बुढाथोकी पनि सांसद पदबाट राजीनामा गरी मेचीनगर नगरपालिकाको मेयर पदका लागि प्रत्यासी बनेका छन्। उनी एमालेबाट मेयर पदका उम्मेदवार हुन्। प्रदेश १ का अर्का सांसद काजीमान कागतेले पनि सांसदबाट राजीनामा दिएर इलामको सूर्योदय नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन्। उनी पनि एमालेबाट मेयर पदका उम्मेदवार हुन्।

लुम्बिनी प्रदेशका सांसद दीपेश थारू पनि सांसद पदबाट राजीनामा दिएर बर्दियाको राजापुर नगरपालिकामा मेयर पदका लागि भिड्दैछन्। उनी नेकपा माओवादी केन्द्रबाट मेयरको उम्मेदवार बनेका हुन्। नेकपा एकीकृत समाजवादीबाट मधेस प्रदेशका सांसद भएका प्रमोद यादवले सिरहा नगरपालिकाको मेयरमा उम्मेदवारी दिन मनोनयन गर्ने अघिल्लो दिन सांसद पदबाट राजीनामा दिने घोषणा गरेका थिए। पार्टीबाट टिकट नपाएपछि उनी राजीनामा दिने निर्णयबाट पछि हटेका थिए।

रसुवाको कालिका गाउँपालिकाकी अध्यक्ष सीता पौडेल भने पालिकाको अध्यक्ष पदबाट राजीनामा दिई कालिका गाउँपालिका–२ मा वडा सदस्यका लागि उम्मेदवार बनेकी छन्।

आफूलाई रसुवा जिल्ला समन्वय समिति (जिसस) को उपप्रमुख पदमा एमालेले टिकट दिने आश्वासन दिएको उनले बताइन। ‘जिसस रसुवाको उपप्रमुख पदमा जानका लागि अध्यक्षबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी दिएकी हुँ,’ उनले भनिन्, ‘पालिका अध्यक्ष पदबाट मैले राजीनामा दिए पनि त्यस ठाउँमा योग्य व्यक्तिलाई सिफारिस गरेकी छु।’ जिससको प्रमुख र उपप्रमुख बन्न पालिकाको कुनै पदमा निर्वाचित हुनुपर्छ।

प्रकाशित: २४ वैशाख २०७९ ००:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App