२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

भागबण्डामा कर्णालीका कुन दलले कति पालिका पाए?

सत्ता गठबन्धनबाट कालिकोटको खाँडाचक्र नगरपालिकामा उम्मेदवार दर्ता गर्न निस्केको जुलुश।

कर्णालीमा सत्तारुढ गठबन्धन ७९ स्थानीय तहमध्ये ६४ स्थानीय तहमा सहमति गरेको छ। सुर्खेतका ९ र रुकुम (पश्चिम) ६ स्थानीय तह बाहेक सबैमा भागबण्डा गरेको हो।

सुर्खेत र रुकुम (पश्चिम) मा गठबन्धनका दलहरुले आफ्नै उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन्। तर, कर्णालीका ८ जिल्लामा गठबन्धनले तालमेल गरेको छ। गठबन्धनभित्रै नेताहरुमा केही असुन्तुष्टी भएपनि दलहरुले सिफारिस गरेका उम्मेदवारहरुले आफ्नो उम्मेदारी दर्ता गराइसकेका छन्।

गठबन्धनको भागबण्डाविपरित कार्य गर्नेहरुलाई कडा कार्वाहीको सत्ता गठबन्धनबाट चेतावनी समेत दिइएको छ। हुम्लाका ७ स्थानीय तहमध्ये माओवादीले चार वटा स्थानीय तहको अध्यक्ष पाएको छ जसमा नाम्खा, सिमकोट, चखेली र ताँजकोट रहेको छ।

उपाध्यक्षमा दुई स्थानीय तहमा पाएको छ जसमा खार्पुनाथ र सर्केघाट रहेको छ। कांग्रेसले तिन गाउँपालिका पाएको छ जसमा खार्पूनाथ, सर्केघाट र अदानचुली रहेको छ। उपाध्यक्षमा नाम्खा, सिमकोट पाएको छ। त्यस्तै समाजवादीले चखेंली, अदानचुली, ताँजकोटमा उपाध्यक्ष पाएको छ। हुम्लामा नगर पालिका छैन्।

जुम्लामा ८ वटा स्थानीय तह रहेकोमा कांग्रेसले ४ वटा, माओवादी केन्द्रले ३ वटा र १ वटा समाजवादीले प्रमुख पाएका छन्। जसमा कांग्रेसले चन्दननाथ नगरपालिका, कनकासुन्दरी गाउँपालिका, सिजाँ गाउँपालिका, पातारासी गाउँपालिका पाएको छ। भने उपाध्यक्ष दुई वटा गाउँपालिकामा पाएको छ।

त्यस्तै माओवादी केन्द्रले तिन वटा पालिकामा प्रमुख पाएको छ। जसमा गुठीचौर, तातोपानी र तिला गाउँपालिका रहेको छ। पाँच वटा पालिकाको उपप्रमुख पाएको छ। त्यस्तै समाजवादीले हिमा गाउँपालिकाको अध्यक्ष पाएको छ भने गुठीचौर गाउँपालिकाको उपाध्यक्ष पाएको छ।

गठबन्धनबाट मुगुमा रहेको चार वटा पालिकामध्ये कांग्रेसले दुई वटा पालिका पाएको छ भने, माओवादी केन्द्र र समाजवादीले एक एक वटा पालिका पाएका छन्। कांग्रेसले मुगुको छाँयानाथ रारा नगरपालिका र मुगुम कार्मारोग गाउँपालिका पाएको छ भने, दुई वटा गाउँपालिकामा उपाध्यक्ष पाएको छ।

माओवादी केन्द्रले खत्याड गाउँपालिका अध्यक्ष सहित एक नगर उपप्रमुख पाएको छ। समाजवादीले सोरु गाउँपालिका अध्यक्षसहित मुगुम कार्मारोग गाउँपालिका उपाध्यक्ष पाएको छ। सोमबार दिउँसो सार्वजनिक भएको भागबण्डा अनुसार कालिकोटमा रहेका नौ स्थानीय तह मध्ये पाँच वटामा माओवादी केन्द्रले प्रमुख पाएको छ भने कांग्रेसले दुई प्रमुख तीन उपप्रमुख र समाजवादीले दुई स्थानीय तहको प्रमुख र दुई उपप्रमुख पाएको छ।

चार उपप्रमुख माओवादीले पाएको छ। डोल्पामा आठ स्थानीय तह रहेकोमा कांग्रेसलाई एक पालिका प्रमुख मात्र दिइएको छ। बाँकी एक नगरपालिकासहित ४ वटा समाजवादी र तीन स्थानीय तहमा प्रमुखमा माओवादीले लिएको छ। कर्णालीमा धेरै स्थानीय तह समाजवादीले डोल्पामा पाएको देखिन्छ। सल्यानमा १० वटा स्थानीय तहमा चार वटा कांग्रेस, चार वटा माओवादी केन्द्र र  दुई वटा समाजवादीले प्रमुख पाएका छन्।

त्यस्तै गठबन्धनले जाजरकोटमा ७ स्थानीय तहमध्ये  तीन कांग्रेस, तीन माओवादी र १ समाजवादीलाई भागबण्डा गरेका छन्। दैलेखमा ११ स्थानीय तह रहेकोमा ६ स्थानीय तह कांग्रेस, माओवादी केन्द्र २ र समाजवादी ३ स्थानीय तह दिने गरी भागबण्डा भएको कर्णाली प्रदेश सत्तारुढ गठबन्धनले प्रकाशित विज्ञप्तीमा उल्लेख गरेका छन्।

सुर्खेत र रुकुम (पश्चिम) मनोनयन गर्ने अन्तिम समयसम्म र उम्मेदवारी फिर्ता लिने समयसम्म सहमति प्रयास गर्ने निर्णय सत्ता गठबन्धनले गरेको छ। तर, सत्ता गठबन्धनबाट सबै दलले आफ्नो तरिकाबाट सबै पालिकामा मनोनयन दर्ता गरेका छन्।

प्रकाशित: १२ वैशाख २०७९ १३:११ सोमबार

स्थानीय तह गठबन्धन उम्मेदवार