४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उदयपुरमा सर्वसम्मत गर्ने प्रयासमा गठबन्धन दल

आसन्न स्थानीय तह चुनावमा सत्तारुढ दलहरुबीच गठबन्धनलाई सर्वसम्मत बनाउने प्रयास भइरहेको छ।

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता जमाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको तालमेल तलसम्म सर्वसम्मत गराउन पहल भइरहेको छ।

त्यसका लागि जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटा स्थानीयतहमा तालमेल गरेरै उम्मेदवार उठाउने विषयमा गठबन्धन दलहरुबीच बाक्लो छलफल भइरहेको छ। दलहरुले धेरैजसो समय आन्तरिक छलफलमा खर्चिदैछन् भने केही समय गठबन्धनबीचमा खर्चने काम भइरहेको छ।

खासगरी कांग्रेस र माओवादीले गठबन्धनलाई वडासम्म पुर्‍याउन आन्तरिक छलफललाई घनिभूत बनाउका छन् भने एकीकृत समाजवादी र जसपाले पनि छलफललाई तीव्रता दिएको नेताहरुले बताएका छन्।

खासगरी प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि प्रमुख पार्टीहरु कांग्रेस, माओवादी र एसबीच नै प्रतिस्पर्धा छ। जसपाको संगठन धेरै बलियो नभएकाले वडातहसम्म मात्र दावी गर्दैछ भने जनमोर्चाको अवस्था नगन्य मात्रामा रहेकाले सहभागितात्मक दाबी मात्र रहेको गठबन्धनका नेताहरुको भनाइ छ।

त्यसकारण प्रमुख र उपप्रमुखमा यीनै ३ दलबीच चर्को प्रतिस्पर्धा भइरहेको नेताहरु बताउँछन्। गठबन्धन दलहरुको अवस्था गत ०७४ को स्थानीयतह चुनावभन्दा सुदृढ देखिएकाले प्रमुख र उपप्रमुखमा उनीहरुबीच नै कडा दावा प्रस्तुत भइरहेको छ।

सुरुवाती चरणदेखि कै छलफलमा कांग्रेसले चौदण्डीगढी र बेलका नगरपालिका तथा रौतामाई गाउँपालिका प्रमुख लिने, माओवादीले लिमचुङबुङ, ताप्ली गाउँपालिका र कटारी नगरपालिका प्रमुख तथा एसले त्रियुगा नगरपालिका र उदयपुरगढी गाउँपालिका प्रमुख लिने विषयमा लगभग सहमति जुटिसकेको थियो।

उपप्रमुख र वडाध्यक्ष/सदस्य/महिला र दलित सदस्यको हकमा तीनदलबीच सहमति खोज्ने र जनाधार र संगठनको अवस्था अनुसार जसपा र जनमोर्चालाई पनि स्थान दिने कुरा भएको छ। तर, अन्तिम टुंगो लगाउन भने अझै छलफल गर्नुपर्ने नेताहरुहरुको भनाइ छ।

‘बजारमा आएको कुरा प्रारम्भिक छलफलमा प्रस्तुत सांगठनिक आँकडाका आधारमा छलफल हुँदा आएको प्रस्ताव हो’ गठबन्धनका एक जिल्ला नेताले भने ‘यसैलाई अन्तिम रुप दिन सकिने नसकिने भन्ने वहस अझै हुन बाँकी छ, त्यसैले यो नै अन्तिम निष्कर्ष होइन।’

यहाँका स्थनीय तहहरुमध्ये ०७४ को चुनावमा चौदण्डीगढी नगरपालिकाका मेयर, उपमेयरसहित बहुमत वडाध्यक्ष र सदस्य कांग्रेसले जितेको छ। माओवादीले १० वडामध्ये २, ५ र ६ नं. मा जितेबाहेक बाँकी सबै वडामा कांग्रेसको एकल बहुमत छ।

लिमचुङब्ङ गाउँपालिकामा अध्यक्ष र वडा नं. १ र २ मा माओवादीले जितेको छ भने उपाध्यक्ष कांग्रेस र बाँकी ३ वटा वडामा एमाले जितेको छ। बाँकी ५ वटा स्थानीयतहमा एमाले जितेको छ।

रौतामाई, उदयपुरगढी र ताप्ली गाउँपालिका तथा त्रियुगा, कटारी र बेलका नगर त्यतिबेला एमालेले जितेको थियो। तर, एमाले फुटेसँगै त्रियुगा नगरप्रमुख बलदेव चौधरी र उदयपुरगढी अध्यक्ष मानबहादुर केप्छाकी मगर माधव नेपाल नेतृत्वको एसमा प्रवेश गरे।

सदरमुकामकै नगरप्रमुख तथा पार्टी प्रदेश १ अध्यक्ष तथा जिल्ला इन्चार्जसमेत रहेका चौधरी तथा धेरै जनसंख्या र भूगोल समेटेको उदयपुरगढीका अध्यक्ष नै गएपछि ती स्थानीयतहमा एसको संगठन मजबूत रहेको दाबी एसको छ।

यही दाबीका आधारमा उदयपुरगढी र त्रियुगाको प्रमुख पद एसले पाउनुपर्ने दावी उनीहरुको हो। पहिले जितेको र संगठन मजबूत भएको आधारमा लिमचुङबुङमा माओवादीले र चौदण्डीगढीमा कांग्रेसको दाबी पनि स्वभाविक छ।

त्यो सँगै कटारी र ताप्लीमा संगठन मजबूत भएको निष्कर्ष निकाल्दै माओवादीले प्रमुख पद आफूले पाउनुपर्ने दाबी गरेको छ। चौदण्डीगढीसहित कांग्रेसलाई रौतामाई र बेलका दिनेबारे छलफल चलिरहेको नेताहरु बताउँछन्। ०७४ मा बेलकामा सानो मतान्तरले एमालेसँग कांग्रेस पराजित भएको थियो भने रौतामाईमा तेस्रो स्थान पाएको थियो।

त्रियुगा र कटारीमा झिनो मतले हारेको कांग्रेसले ताप्ली र लिमचुङबुङमा तेस्रो स्थान पाएको थियो। एक मात्र गाउँपालिका लिमचुङबुङमा अध्यक्ष र २ वडाध्यक्ष जितेको माओवादीले बाँकी ७ वटै स्थानीयतहमा तेस्रो स्थान पाएको थियो। तर, सर्वोच्चले नेकपा फुटाएर साविक माओवादी र एमाले बनाइदिएपछि संगठन विस्तारमा तीव्रगतिमा लागेकाले अवस्था ८ वटै स्थानीय तहमा मजबूत रहेको पार्टीको दाबी छ।

जिल्ला समन्वय कमिटी संयोजक विनोद कटुवालका अनुसार ३ वटा स्थनीय तहमा पार्टींले एकल उम्मेदवारी दिए पनि सहजै जित्ने अवस्था छ भने बाँकीमा गठबन्धन गर्दा सहज हुने अवस्था छ। तर, केन्द्रीय निर्देशन नै गठबन्धन गर्नुपर्ने भएकाले सबैतिर तालमेल गरेरै जाने पार्टी निर्णय कार्यान्वय गर्ने कटुवालले बताए।

कांग्रेस सभापति हिमाल कार्कीले पनि विगतको चुनावभन्दा अहिले पार्टी धेरै मजबूत भएको दाबी गरेका छन्। संगठन उसै पनि मजबूत रहेको कांग्रेसमा नेकपा विघटन पछि नेता कार्यकर्तामा उत्साह जागेकाले सबै पालिकामा अवस्था बलियो भएको भए पनि गठबन्धन गर्ने केन्द्रीय नीति पछ्याउने उनले बताए।

चौदण्डीगढी, बेलका, कटारी तथा लिमचुङबुङ र रौतामाईमा संगठन राम्रो भएको दाबी गर्ने जसपाले सम्मान जनक गठबन्धनको आसा गरेको छ। प्रमुख नपाए पनि केही स्थानीय तहमा उपप्रमुख र बाँकीमा संगठनको अवस्था हेरेर वडाध्यक्ष र सदस्य लिएरै भए पनि गठबन्धन बचाउनुपर्ने जसपा नेताहरु बताउँछन्।

समग्रमा गठबन्धनलाई वडातहसम्म लगेर तालमेल गर्दै स्थानीय चुनावमा विजय हासिल गर्ने नीति केन्द्रीय सत्ता गठबन्धन दलहरुको रहेको माओवादी केन्द्रीय सदस्य तथा संघीय सांसद सुरेशकुमार राई बताउँछन्।

अहिले नेपालमा लागू भइरहेको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक व्यवस्था जस्ता परिवर्तनका उपलब्धी सबै माओवादीको एजेण्डा भएको भन्दै उनले त्यसमाथि खतरा देखिएकाले गठबन्धन अनिवार्य हुनुपर्ने बताए।

गठबन्धन गर्दा जबरजस्ती र अनिवार्य नगरी सहमतिको आधारमा साँगोपाँगो मिलाएर उम्मेदवारीको बाँडफाँड गर्ने नीति केन्द्रमा रहेकाले त्यसलाई सबै जिल्लाले कार्यान्वयन गर्नुपर्ने राईको भनाइ छ। उता प्रमुख प्रतिपक्षी दल एमालेले सबै स्थानीय तहमा संगठन मजबूत रहेको दाबी गर्दै गठबन्धनसँग एक्लै भिड्ने जनाएको छ।

०७४ मा चौदण्डीगढी बाहेक ७ वटा स्थानीय तहमा एकछत्र ‘राज’ गरेको एमाले गठबन्धनदेखि भित्रभित्र धेरै डराएरै सकेसम्म सत्ताधारी दलहरुबीच तालमेल हुन नदिने प्रयासमा लागिरहे पनि बाहिर चाहिँ एमाले मजबूत रहेको र सबै ठाउँ जितेर देखाउने प्रचार गर्दै आएको सत्तारुढ दलहरुको आरोप छ।

प्रकाशित: २८ चैत्र २०७८ ०५:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App