३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस जिल्ला अधिवेशनः चुनावी सरगर्मीले तात्दै कैलाली

बिहीबार धनगढी सभापति पदको उम्मेदवारी घोषणा गर्दै भीम बडुवाल। तस्बिरः पुष्पराज/नागरिक

पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन आउँदो माघ १६ गतेको मिति पुनः तय भएसँगै चुनावी चहलपहल बढेको छ। कांग्रेस केन्द्रीय कार्यालयले अधिवेशन नभएका १६ जिल्लामा आगामी माघ १६ गतेको मिति तय गरेसँगै सेलाएको कैलालीको चुनावी माहोल पुनः गर्मागर्मी भएको छ।

अधिवेशनको मिति सरे पनि कैलालीमा जिल्ला सभापतिसहित पदाधिकारी र सदस्य पदका आकांक्षीहरूले आ–आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ।  जिल्ला सभापतिका लागि संस्थापन पक्ष निकट जिल्ला उपसभापति प्रकाशबहादुर बम, पूर्व उपसभापति नारायणदत्त भट्ट, भीम बडुवाल, गणेश देउवा, खेमराज चौधरी र नवराज रावलले दावी गरेका छन्। उनीहरू निकट कार्यकर्ताहरूले सभापतिको पोष्टर बनाएर सामाजिक सञ्जालमा प्रचारबाजी गर्न थालेका छन्। संस्थापन बाहेकको पक्षबाट अहिलेसम्म सभापतिमा को उम्मेदवार हुने भन्ने खुलेको नभए पनि संस्थापक इतरका एक नेताले आफूहरूको उम्मेदवार खडा गरिरहेको बताए। उनले भने,‘हाम्रो तर्फबाट पनि एकजना सभापतिको उम्मेदवार हुन्छन्, तर अहिले नै हामीले खुलाएका छैनौ, अन्तिममा हामी बाहिर ल्याउने छौँ।’

सभापतिका आकांक्षी बमले मंसिरको पहिलो साता धनगढीमा पत्रकार सम्मेलनमार्फत् आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। सभापतिका आकांक्षीहरूले अहिले वडा तथा पालिका र क्षेत्र स्तरीय भेला र भेटघाट कार्यक्रममा आफ्नो सहभागिता तीव्र बनाइरहेका छन्।

जिल्ला उप सभापतिमा दुई पदका लागि अर्जुन देउवा, प्रकाश देउवा, लोकराज पाण्ड्ेय आगो, रामप्रसाद चौधरी र तेजशंकर भट्टको चर्चा चलेको छ। त्यस्तै, जिल्ला सचिवको दुई पदमा युवा नेता केशव मिश्र, अहिलेका कार्यसमिति सदस्य नृपबहादुर सुनार, अमृत बिसी, कृष्ण पाण्ड्ेय र थर्क शाहले आ–आफ्नो उम्मेदवारी दावी प्रस्तुत गरेका छन्। जिल्ला अधिवेशन प्रचारप्रसार समिति संयोजकसमेत रहेका सचिव पदका आकांक्षी सुनारले अधिवेशनको तयारी तीव्र भइरहेका बेला पुनः सरे पनि कैलालीमा नेता कार्यकर्ता भने चुनावी सरगर्मी बनाइरहेको बताए।

जिल्ला अधिवेशनका यसअघि नै निवर्तमान जिल्ला सभापति नरनारायण शाहको अध्यक्षतामा एक हजार पाँच सय एक सदस्यीय जिल्ला अधिवेशन मूल व्यवस्थापन समिति गठन गरिएको थियो। एक सय २६ वडा रहेको कैलालीमा जिल्ला अधिवेशनका लागि २५ सय बढी प्रतिनिधिहरू रहेका छन्। कैलालीमा १३ स्थानीय तह छन्। ती मध्ये ६ वटा गाउँपालिका ६ नगरपालिका र एक उपमहानगरपालिका रहेका छन्।

६ गाउँपालिकाका एक पुरुष र एक महिला गरी १२ जना निर्वाचित हुनेछन्। त्यस्तै ६ नगरपालिकाका एक महिला र दुई पुरुष गरी १८ जना निर्वाचित हुनेछन्। उपमहानगरपालिकाबाट दुई महिलासहित तीन पुरुष गरी पाँच जना निर्वाचित हुनेछन्। त्यसको दुई तिहाइ समावेशी सदस्य संख्या निर्वाचित हुने छन्।

प्रकाशित: २२ पुस २०७८ ०८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App