६ वैशाख २०८१ बिहीबार
राजनीति

धुन्चे-गोसाइँकुण्ड केबलकार निर्माणका लागि १० दिनभित्र कार्यविधि आउँछः मन्त्री आले

२६ औं वन्यजन्तु सप्ताहको अवसरमा रसुवामा सञ्चालित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री आले । तस्बिर : हिमनाथ/नागरिक

रसुवाको धुन्चेदेखि गोसाइँकुण्डसम्म केबलकार निर्माणका लागि १० दिनभित्र कार्यविधि आउने भएको छ। गोसाइँकुण्डमा केबलकार निर्माणका लागि प्रक्रिया अघि बढेको र कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले बताए।  

२६ औं वन्यजन्तु सप्ताहको अवसरमा सदरमुकाम धुन्चेमा सञ्चालन भएको गाउँपालिका अध्यक्ष भलिबल तथा फुटबल कप–२०७८ मा बोल्दै मन्त्री आलेले कार्यविधि निर्माणको लागि यसअघि नै निर्देशन दिएको र यही बैशाख १० गते कार्यविधि तयार भइसक्ने बताएका हुन्।

कार्यविधि बनेपछि केबलकार निर्माणको बाँकी प्रक्रिया अघि बढ्ने छ। वार्षिक हजारौं तीर्थयात्री जाने गोसाइँकुण्डमा अझै धेरै विदेशी पर्यटक भित्र्याउनका लागि केबलकार निर्माण प्रक्रिया अघि बढाइएको उनले बताए।  

केबलकार निर्माण गर्दा वातावरणमा कम क्षति हुने र अनुगमन गर्न समेत सहज हुने भएकाले इआइए अध्ययन गर्नका लागि अनुमति दिन उपयुक्त रहेको राय विभागमा पठाएसँगै प्रक्रिया अघि बढेको थियो।  

धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि मोटरबाटो निर्माण गर्दा वन्यजन्तुको वासस्थानमा असर पर्नुका साथै वातावरणमा अधिकतम असर गर्ने भएपनि केबलकार निर्माण गर्दा कम असर देखिने लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ।

केबलकार निर्माण गर्दा वन तथा वातावरणमा केही नकारात्मक प्रभाव पर्ने भएपनि आयोजना निर्माण भएमा निकुञ्ज क्षेत्रमा अनुगमन गर्न र वन्यजन्तुको चोरी सिकार एंवम् वन पैदावरको चोरी निकासी नियन्त्रण गर्न सहज हुने कार्यालयले जनाएको छ।

धुन्चेदेखि गोसाइँकुण्डसम्म केबलकारको दूरी ११ किलोमिटर रहनेछ। दुई वटा स्टेशन रहनुका साथै २८ वटा टावर राख्ने प्रस्ताव गरिएको छ। ५० वटा प्यासेन्जर क्याविन राख्न प्रस्ताव गरिएको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ।  

गोसाइँकुण्डमा केबलकार निर्माणका लागि प्रस्ताव गरिएको अन्य क्षेत्रमध्ये धुन्चे गोसाइँकुण्ड केबलकार छोटोे रहेको र सस्तोमा निर्माण हुने गाउँपालिकाले जनाएको छ। केबलकार निर्माण गर्न एक अर्ब ८५ करोड लाग्ने अनुमान गरिएको छ।

आयोजना निर्माण भएमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई धार्मिकस्थल गोसाईकुण्डको भ्रमण गर्न सहज हुने छ। केबलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि प्रदेश तथा स्थानीय सरकारले बजेट विनियोजन गरिसकेका छन्। आयोजनाको सुरुको स्थान गोसाइँकुण्ड–६ र अन्तिम स्थान गोसाइँकुण्ड–५ मा पर्दछ।  

धार्मिकस्थल ‘गोसाइँकुण्ड’ गोसाइँकुण्ड गाउँपालिका–५ मा पर्दछ। विगत लामो समयदेखि केवलकार निर्माण गर्ने भनिए तापनि प्रक्रिया अघि बढेको थिएन। चालु आर्थिक वर्ष २०७५/०७६ का लागि केबलकारको अध्ययन गर्न प्रदेश नम्बर ३, गोसाइँकुण्ड र नौकुण्ड गाउँपालिकाले ५५ लाख बजेट विनियोजन गरेका थिए।

प्रकाशित: १ वैशाख २०७८ १०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App