काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य लेखराज भट्ट पूर्वसहयोद्धा नेत्रविक्रम चन्द ‘विप्लव’लाई सम्झिएर भावुक बनेका छन्। विगतमा विप्लव आफ्नै घरमा बसेको र सुदूरपश्चिममा पार्टीको काम सँगै गरेको स्मरण गर्दै नेता भट्टले विप्लव समूहसँग वार्ता गर्न उच्चस्तरीय समितिको माग पनि गरे।
नेता भट्टले एकातिर वार्ता र अर्काेतिर दमन गरेर दोहोरो चरित्र प्रस्तुत नगर्न सरकारको ध्यानाकर्षण गर्दै वार्तामा मात्रै केन्द्रीत हुन आग्रह गरे। ‘एकातिर वार्तामा ल्याउने भन्ने अर्काेतिर उनीहरुमाथि दमन, धरपकड गर्ने त्यसरी वार्ता हुन सक्दैन। राज्यले स्पष्ट नीति बनाउनुपर्छ, उहाँलाई वार्तामा ल्याउनुपर्छ’, उनले भने।
नागरिक नेटवर्कको फ्रन्टलाइन कार्यक्रममा पत्रकार श्रीराम पौडेलसँग कुराकानीमा भट्टले अहिलेको सरकारी वार्ता टोलीले खासै पहल गर्न नसकेको बताउँदै भने, ‘विप्लवलाई वार्तामा ल्याउन अहिलेको वार्ता समितिले सकेको छैन। विप्लवलाई बुझेको मान्छे राखेर उच्चस्तरीय वार्ता समिति बनाउनुपर्छ।’
नेता भट्टले विगतामा विप्लव आफ्नो घरमा बास बसेको स्मरण गर्दै अहिले पनि उनलाई सम्झिरहेको बताए। ‘हिजो सँगै काम गरेको, शान्ति प्रक्रियामा आइसकेपछि पनि सेती महाकाली कमाण्ड इन्चार्ज भएर पनि जानु भएको थियो। मेरै घरमा बस्नुभएको थियो। उहाँको सबल र दुर्बल पक्ष थाहा छ’, उनले भने, ‘अहिलेको अवस्थामा फौजी रुपमा जाँदा कति सफल हुने हो के हो? सधैं हामी यहीँ बाटोबाट जाँदा क्रान्ति सफल हुन्छ भन्ने कुरा बहसको विषय हो। उहाँहरुले पनि सोचिरहनुभएको होला।’
नेता भट्टले कुमार पौडेलको हत्या हो कि इन्काउन्टर छानविन हुनुपर्ने बताए। ‘त्यो घटना हुनुहुन्थेन। हत्या हो भने गम्भीर कुरा हो छानविन हुनुपर्छ’, उनले भने, ‘हिजोका सहयोद्धाहरुलाई शान्तिको बाटोमा कसरी ल्याउने भनेर सोच्नुपर्छ। छलफल गर्नुपर्छ। वार्तामा जानुपर्छ।’
पूर्वसहयोद्धा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री रहेका बेला नै विप्लव समूह सरकारबाट प्रतिबन्धमा परेको छ। पूर्वएमालेका नेता सोमप्रसाद पाण्डेको नेतृत्वमा सरकारी वार्ता समिति गठन गरे पनि अझै वार्ता हुन सकेको छैन। यस्तो बेला पूर्वमाओवादीका प्रभावशाली नेता भट्टले विप्लव समूहलाई वार्तामा ल्याउन उच्चस्तरीय समितिको माग गर्दै सरकारमाथि दबाब बढाएका छन्।
प्रकाशित: २३ श्रावण २०७६ १४:५४ बिहीबार