२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

जुम्लाका ऊर्जाशील दलित वडाध्यक्षहरू

निर्वाचनको बेला घोषणा पत्रमा अघि सारिएका प्रतिबद्धता पूरा गर्ने जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर सुनार कार्यक्षेत्रमा खटिरहेर सेवामा तत्कालीन हुन्छन्। स्वतन्त्रबाट उठेर निर्वाचित सुनारले एकीकृत समाजवादीका कप्तान भण्डारीलाई ८८ मतले पराजित गरेका थिए।

वडामा सुनारसँगै अर्का एक दलित सदस्य पनि प्रत्यक्ष निर्वाचित भएका थिए। उनको निर्वाचन जित्ने मुख्य आधार लामो समयदेखिको सामाजिक काममा सक्रियता थियो। चुनावताका टिकट दिन कुनै पनि पार्टीले पत्याएनन्, तर धनबहादुरलाई मतदाताले मत हालेर पत्याइदिए। अहिले मतदाताको आवश्यकता र मागलाई सम्बोधन गर्न रातदिन लागिपरेको छु,’ सुनारले भने।  

धनबहादुरको हिमा नदीमा पुल बनाउने, कुलो बनाएर मार्सीफाँटहरू हराभरा बनाउने र बिजुलीले उज्यालो वडा बनाउने चुनावी प्रतिबद्धता जनाएका थिए। अहिले उनी तिनै प्रतिबद्धता कार्यान्वयनमा जुटिरहेका छन्। २ करोड ५० लाख बजेटको पुल निर्माणको काम अन्तिम चरणमा छ। स्याउ, आलुजस्ता स्थानीय कृषि उत्पादनलाई लामो समयसम्म भण्डार गर्न कोल्ड स्टोर निर्माण गरिएको छ।  

बिजुलीको व्यवस्था हुने बित्तिकै ६५ लाख रुपैयाँमा बनेको कोल्ड स्टोर सञ्चालनमा ल्याउने तयारी छ। १५ दिनभित्रै यहाँ बिजुली बाल्ने तयारी छ। उनी भन्छन्, ‘चुनावमा धेरै ठूला गफ गरेको थिइनँ। वाचा गरेकै स–साना काम नै सक्ने प्रयासमा छु। १५ दिनभित्र यहाँ बिजुली जोडेर कोल्डस्टोर सुरु गर्ने तयारी छ।’ यस्तै,दलित र गैरदलितबीचको विभेद हटाउन पनि उनले हरेक काममा सन्तुलन कायम गरिरहेका छन्।

५ वटा बस्ती रहेको धनबहादुरको वडामा २ सय ५० घर दलित समुदायका छन्। यहाँ दलित र गैरदलितबीच कुनै मतभेद छैन। ‘स्वतन्त्र प्रतिनिधि भएकाले कुनै दलको दबाब, प्रभाव र  रबाफ पनि आउने कुरै भएन। एक घर एक धाराको काम पनि अघि बढिरहेको छ,’ उनले भने, ‘कुनै दलबाट आएको भए दबाबमा परिन्थ्यो होला। स्वतन्त्र भएकाले निष्पक्ष रूपमा काम गर्न सहज भइरहेको छ।’

स्वतन्त्र वडाध्यक्ष तथा वडाको कामप्रति प्रतिबद्ध भएकाले गाउँपालिकाबाट पनि बजेटदेखि हरेक काममा साथ पाइरहेको उनको भनाइ छ। ‘चुनावअघि जातीयताका आधारमा भेदभाव गरेजस्तो लाग्थ्यो,तर अहिले सबैबाट सम्मान पाएको छु।’ प्रतिस्पर्धी भण्डारी वडाध्यक्ष धनबहादुरका अहिलेसम्मका कामले सन्तोष दिएको बताउँछन्।’

यस्तै,जुम्लाको तिला गाउँपालिका–४ का ५६ वर्षीय वडाध्यक्ष भक्तवीर नेपाली चुनावताका प्रतिपक्षी दलहरूले गरेको विभेद सम्झेर अझै पनि उदेक मान्छन्। त्यसो त त्यही विभेदले अहिले काम गर्न ऊर्जा दिइरहेको उनी बताउँछन्। ‘दलितले काम गर्न सक्दैनन्, वडाध्यक्षको कुर्सीमा ल्याउँदा नमस्कार गर्नुपर्छ भन्दै मतदातालाई विपक्षीले चुनाव हराउन चुनाव भाँड्न अधिकतम प्रयत्न गरे,’ उनले भने, ‘तर मतदातासामु उनीहरूको भ्रम असफल सावित भयो।’

उनका प्रतिद्वन्द्वी माओवादीका दीपबहादुर शाही थिए। तर ५८ मतले पछि पार्दै भद्रवीरले चुनाव जिते।अहिले सबैको साझा बनेर काम गर्दा मतदाता पनि खुसी छन्। उनी सामाजिक विकृतिविरुद्धको अभियान र विकास निर्माणको कामलाई सँगसँगै अघि बढाइहेका छन्।

तीनवटा गाउँ रहेको भक्तवीरको वडामा राष्ट्रिय प्रसारण लाइनको बिजुली सबैको घरमा पुगेको छ। एक घर एक धारा पुगेको स्थानीय जयकौला नेपाली बताउँछिन्।  लामो समयदेखि खानेपानीको चरम संकट भोगिरहेका गाउँका धारामा पानी आउन थालेपछि स्थानीय उत्साहित छन्। वडालाई सूचना र प्रविधिसँग जोड्न सबै बस्तीमा इन्टरनेट चल्छ। विद्यार्थीहरूलाई नौलो विषयमा खोजी गर्न सहज भइरहेको विद्यार्थी कमल नेपालीले बताए। उनले भने,‘टाढा रहेका आफन्तसँग भिडियो कल गरेर सन्चो बिसन्चो सोध्न पाउँदा खुसी छाै‌ँ।’ 

२०७९ को बाढीले भक्तवीरको वडा निकै प्रभावित बन्यो। खेतहरू बगाए, पुलपुलेसा भत्किए। उनको कार्यकालमा अहिले नदी तटबन्धको काम चलिरहेको छ। त्रिवेणी टोप्ला हुँदै जाजरकोट जोड्ने सडक ग्राभेल भइरहेको छ। गाउँहरू हिलोमुक्त भइरहेका छन्। शिक्षामा सुधार ल्याउन उनले हरेक वर्ष हिउँद चिसो समयमा कोचिङ कक्षाको व्यवस्था गरिरहेका छन्।

यसैबीच अधिकांश वडाध्यक्षहरू जिल्ला बाहिर जाने, वडामा नबस्दा सेवाग्राहीहरूले सास्ती खेप्नुपर्ने समस्या छ। तर उनी सेवाग्राही खोज्दै कार्यालयमै बस्ने गरेका स्थानीयहरु बताउँछन्। यता जुम्लाको सिंजा–२ का वडाध्यक्ष तीर्थ वड गाउँपालिकाको प्रवक्ता जिम्मेवारीमा छन्।

गाउँपालिकाले गरेका हरेक कामको जानकारी दिने हैसियतमा पुगेका उनी दलित–गैरदलितका भरोसा मात्र होइन्, उनीहरूका आवाज बिहिनको आवाज समेत बनेका छन्। कांग्रेसका मुनप्रसाद शर्मालाई ४७ मतले पछाडि पार्दै वडाध्यक्ष बनेका उनी अहिले हरेक मतदाताको मनमा बसेका छन्। आर्थिक अवस्था कमजोर भएको र दलित समुदायले जितेपछि काम गर्न सक्दैनन् भन्ने समाजमा विद्यमान परम्परावादी सोचलाई गलत सावित गर्दै उनी अहिले सिंजाका लोकप्रिय वडाध्यक्ष बनेका छन्।

पछिल्लो समयमा गैरदलितहरूले समेत उनलाई रुचाइरहेका छन्। कुल ५ वटा बस्ती रहेको उनको वडामा ४ वटा बस्ती दलित समुदायका छन्। उनीहरूको अवस्था कमजोर छ, जग्गा जमिन छैन्। शैक्षिक रूपमा अघि बढ्न पाइरहेका छैनन्। उनीहरूका लागि विद्यालय उमेरका बालबालिका विद्यालय जाने, पोसाक र कापी कलम दिने कार्यक्रम समेत उनले घरदैलोमा पुर्‍याएका छन्। विपन्न नागरिकलाई घरको छानो फेर्नेदेखि सेवा सुविधा नागरिकमैत्री बनाउने काम उनको छ।

गाउँपालिकाको सामाजिक विकास समितिको संयोजक समेत रहेका वडले शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका क्षेत्रमा प्राथमिकता दिएर काम गरिरहेका छन्। उनले तीनवटा बस्तीमा एक घर एक धारो पुर्‍याएका छन्। चुलेल गाउँमा खानेपानीको पञ्चवर्षीय योजना चलिरहेको छ। ट्यांकी बनिसक्यो। धारा बनिरहेका छन्। अब केही महिनामै गाउँमा एक घर एक धारा हुनेछन्। धारा नहुँदा चाररपाँच घरको एक धारामा लाइन बस्नुपर्ने अवस्थाको पूर्ण रूपमा अन्त्य हुनेछ। 

धनबहादुर, भद्रवीर र तीर्थ प्रतिनिधि पात्र मात्र हुन्। स्थानीय तह निर्वाचनमा १३ वडामा दलितहरूले वडाध्यक्षमा उम्मेदवारी दिएका थिए। बाँकी १० वडाध्यक्ष पराजित भए। जिल्लाभर दलित समुदायको जनसंख्या २१ हजार छ। 

‘दलित प्रतिनिधिहरूप्रति हेर्ने दलीय दृष्टिकोण फेरिएका छैनन्। तर मतदाताहरू बदलिसकेका छन्,’ वडाध्यक्ष वडले भने, ‘हामी इमानदारीपूर्वक जनताको सेवामा तैनाथ छौं।’ 

प्रदेश र संघ सरकारले स्थानीय तहलाई बजेटको व्यवस्थापन पर्याप्त गर्न नसकेकाले काम हुन नसकेको उनीहरूको तर्क छ। जुम्लामा एक नगरपालिकासहित ७ गाउँपालिका छन्। जिल्लाभर ६० वडा छन्। 

प्रकाशित: ६ श्रावण २०८१ १०:०७ आइतबार

#Jumla #Kanakasundari #TIla #Dhan Bahadur #Bhadraveer #Tirtha